छिमेकीसंग यौन सम्बन्ध राखेको आरोपमा एक लाख जरिवाना



गोकुल घोरसाइने, बारा ।
अवैध यौन सम्बन्ध राखेको आरोपमा बाराको कलैया उपमहानगरपालिका २४ श्रीपुरमा स्थानीयले एक जोडीबाट डेढ लाख रुपैया जरिवाना असुलेका छन ।

लसपस आरोपपछि बसेको भद्रभलादमीको पंचायतिले स्थानीय २५ बर्षिय दिनेश गिरीबाट एक लाख र आरोपित महिलाका श्रीमानसंग अघिल्लो शुक्रबार ५० हजार रुपैया नगद असुलेका हुन ।

फैसला अनुसार रकम नबुझाए सामाजिक बहिष्कारमा परिने डरमा ऋण काढेर रकम बुझाउनु परेको गिरी बताउछन । पञ्चायतिमा उपस्थित मध्येबाट ऋण काढेर रकम गिरीले बुझाएका थिए भने महिलाको जरिवाना उनका श्रीमानले ३ दिनपछि चुक्ता गराइएको थियो ।

कसुर बीना नै जवरजस्ति जरिवाना तिराएर आफुमाथि अन्याय गरिएको भन्दै गिरीले दोषिमाथि कारवाहीको लागि ३ दिनअघि प्रहरीमा जाहेरी दिएका छन ।

महिलाका श्रीमान पनि दोहोरो मारमा पारिएको भन्दै गुनासो गर्छन । ‘श्रीमतिबाट भएको भनिएको अप्रमाणित र असत्य घटनालाई आधार बनाएर रकम जरिवाना गर्नु ठिक भएन, महिलाका श्रीमानले गुनासो गरे, केही गाउँलेले रकमसंगै इज्जत पनि बर्बाद परिदिए ।’ उनले पनि दवावमा पारेर जवरजस्ति रकम असुलेको बताएका छन ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिलिप घिमिरे पञ्चायतिको फैसाल नाममा जवरजस्ति रकम असुल्ने कार्य कानुनी रुपमा मान्य नहुने बताउछन । ‘कसैलाई पनि कानुन हातमा लिने छुट छ्रन, उपरीक्षक घिमिरेले भने, दोषि पाइए कारवाही गर्नें निकायले कानुन अनुसार सजाय गर्छ ।’ उनले पञ्चायतिको नाममा जवरजस्ति रकम असुलेको उजुरी प्रहरीमा परेको र घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । घटना बारे प्रहरीले सक्रियता बढाएपछि पञ्चायतिमा संलग्न मध्ये अधिकाशंले केही दिनयता गाउँ छोडेका छन ।

गाउँका एक युवक रसुलाजम अन्सारीले दुबैबीच यौन सम्बन्ध रहेको भन्दै आफुले देखेको दावी गर्न थालेपछि बसेको पञ्चायतिले परम्परा अनुसार जरिवाना गर्ने र सोबापत प्राप्त रकम सामाजिक कार्यमा खर्च गरिने निर्णय गरेको स्थानीय राजु गिरीले जानकारी दिए ।

उनले यसअघि पनि सामाजिक मान्यता विपरित कार्य गर्नेमाथि समाजले यसरी नै कारवाही गर्दै आएको पनि जानकारी दिए । ‘जरिवाना रकमबाट भाँडा, बर्तन लगायतका सामुदायिक प्रयोगमा आउने सामाग्री खरिद गर्ने निर्णय छ, उनले भने, पिडित भनिएकाहरुले पनि यसको उपयोग गर्न पाउने छन ।’

गाउँमा पञ्चायतिको नाममा आरोपीबाट जबरजस्ति नगद जरिवाना असुल्ने र सो रकमबाट भोज भतेर गर्ने परम्परा जस्तै रहेको केही युवाको भनाई छ । ‘गाउँका भद्रभलादमी र पञ्च नै सक्रिय छन, सानादेखि ठुला अपराधसम्म रकम जरिवाना तिराएर गुपचुप पारिन्छ ।

प्रतिक्रिया दिनुहोस्