वज्राचार्य दाजुभाइ सेमिफाइनलमा



 

नेपाल समाचारपत्र
काठमाडौं
प्रथम एएनएलटीए⁄जेटीआई
राष्ट्रिय जुनियर टेनिस
प्रतियोगिताअन्तर्गत वज्राचार्य दाजुभाइ सेमिफाइनलमा
पुगेका छन्।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको यु–१६ ब्वाइज सिंगल्समा संरक्षकभूषण वज्राचार्यले इभेक जोशीलाई ६–० र ६–० ले ह्वाइट वास गर्दा सम्यकभूषण वज्राचार्यले श्रेयाश अग्रवाललाई ६–१, ६–१ ले पन्छाएका हुन्। त्यस्तै सोही स्पर्धाअन्तर्गत साम्राज्ञ कटवालले निनवाम राईलाई ६–३, ६–३, र प्रणव खनालले आदित सुवेदीलाई ६–१, ६–३ ले हराएर अन्तिम चारमा स्थान सुरक्षित गरे।

त्यस्तै यु–१४ गल्र्स सिंगल्समा लुमु लामाले आइशा डोल्कर गुरुङलाई १–६, ७–५, ६–४, इशाश्री शाहले प्रकृति श्रेष्ठलाई ६–२, ६–० तथा सर्भानी श्रेष्ठले श्रुति तामाङलाई ६–०, ६–२ को सेटमा पन्छ्याउँदै अन्तिम चारमा स्थान पक्का गरे। रायना शाह भने सौरभी कटवालको वाकओभरसँगै अन्तिम चारमा पुगिन्। सोही उमेर समूहको ब्वाइज सिंगल्समा निशान श्रेष्ठले आरम्भ स्वारलाई ६–१, ६–० ले पाखा लगाउँदै क्वार्टरफाइनलमा पुगे। आरभसम्राट हाडा पनि अदित्य अग्रवालबाट वाक ओभर पाउँदै अन्तिम आठमा प्रवेश गरे।

यसै गरी यु–१० ब्वाइज सिंगल्समा राजवीर प्रधान, सक्षमविक्रम शाह, आरभसम्राट हाडा र आयुषमान घले अन्तिम आठमा पुगे। गल्र्स सिंगल्समा इभा अधिकारी, र रोशनी लिम्बु अन्तिम चारमा पुगेका छन्। यसअघि यु–८ सिंगल्सअन्तर्गत ब्वाइजमा बोरिस अधिकारी र गल्र्समा समृद्धि महर्जनले उपाधि जिते। बोरिसले निसाद जोशीलाई ७–१०, १६–१४ र १०–६ ले गल्र्समा समृद्धिले सुप्रिया तामाङलाई १०–६ र १०–५ ले हराएका थिए।

प्रतिक्रिया दिनुहोस्