कता जाला ?



 

धरहराले हिजो आफ्नो दूरबिन विभिन्न नेताको घरतिर सोझ्याउँदा रमाइला दृश्यहरू देखिए। त्यहाँ कार्यकर्ताको भीड लागेको देखिन्थ्यो। वर्षाको समय कृषि प्रधान देश नेपालका लागि मानो खाएर मुरी उब्जाउने समय हो। तर, नेताहरूको निवासमा कार्यकर्ताको घण्टौंदेखिको बास देख्दा धरहरा स्वयं आश्चर्यचकित भएको छ।

सबैभन्दा बढी भीड यो धरहराले कांग्रेस महामन्त्री सशांक कोइरालाको महाराजगन्जस्थित निवासमा देख्यो। त्यहाँ कोइराला हुनुहुन्थेन। तर, सयौं कार्यकर्ता गफ चुटेर बसिरहेका थिए। कोइराला अलि टाढा टोखामा बस्नुहुँदोरहेछ। कार्यकर्ता भने उहाँ आउनुहुन्छ भनेर महाराजगन्जमा बिहान १० बजेदेखि नै बसिरहेका थिए। गफ गिरिजाप्रसाद कोइराला, सुशील कोइरालादेखि सुशील कोइरालाको मृत्यु र डा. योगीसम्मका विषयमा केन्द्रित थिए। डा. कोइराला भने पूर्वराष्ट्रपति रामवरण यादवको निवासमा खाना खान टोखाबाट सोझै जानुभएको रहेछ।

कार्यकर्ता गफ चुटेर बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म महाराजगन्जमा कुरेर बसिरहेका

देखिन्थे। नेताहरूले आफ्ना कार्यकर्तालाई किन यति साह्रो बेगारी बनाएका होलान् ? बरु खेत जोत्न पठाएको भए मुलुकका लागि अलिकति भए पनि फाइदा त हुन्थ्यो। कसैलाई खेताला पुगेका छैनन् भने बरु ती कार्यकर्तालाई एकैपटक खटाउने हो भने दिनभरि लाग्ने काम १ घण्टामा नै सकिन्थ्यो होला। खेताला नपाएर हैरान भएका किसानले त्यो पार्टी र पार्टीका नेताको जय गाउँथे होलान्।

आफ्नै कार्यकर्तालाई सही दिशामा लगाउन नसक्ने नेताहरूले मुलुकको के हित गर्लान् ? कार्यकर्तालाई खाली कुन देशमा नेतालाई भिसाका लागि अनुरोध गर्न लगाउने, कुन जागिरमा तोक लगाउने, कसलाई कहाँ सरुवा गर्न लगाउने आदित्यादि काममा मात्रै खटाएको देखिएको छ। हरे शिव !
यो तालले मुलुक कता जाला ?

प्रतिक्रिया दिनुहोस्