हिटलरद्वारा ९० हजार बन्दी मारिएको विश्व चर्चित माउथासेन बन्दीगृह



पुष्करलाल श्रेष्ठ

‘ल अब आजबाट तिमीहरू स्वतन्त्र हुँदै छौ। नुहाइ–धुवाइ गरेर सफा लुगा लगाई तिमीहरू यहाँबाट आ–आफ्ना घर जान सक्छौ।’ माउथासेन बन्दीगृहका जेलरको यो आदेशपछि क्रूर यातना भोगिरहेका झन्डै एक लाख संख्यामा रहेका बन्दीहरूमा खुसीको सीमा रहेन। को पहिला स्नानगृहमा जाने भनेर तँछाड–मछाड गर्न थाले।

शुरूमै स्नानगृह छिरिसकेका बन्दीहरूले आफूलाई ठूलो भाग्यमानी सम्झँदै खुसीले नाच्न थाले। स्नानगृह बन्दीहरूले भरिइसकेपछि फोहोराहरूबाट पानी बर्सन थाल्यो। धेरैपछि चिसो पानीले नुहाउन पाएकोमा बन्दीहरूमा खुसीको सीमा थिएन। बिचरा बन्दीहरू, खुसीले गाउँदै नुहाएको मिनेट बितेको थिएन एकाएक चारैतिरका झ्याल–ढोकाहरू आफैं बन्द हुन थाले। बन्दीहरूको मनमा चिसो पस्न नभ्याउँदै पानी बर्सिरहेको फोहोराबाट विषालु ग्यास बर्सिन थाल्यो। पत्तो नै नपाउने गरी छिनभरमै निसास्सिएर त्यस दिन विषालु ग्यासबाट १० हजार २ सय जना बन्दीको एकै चिहान भयो।

बंगलादेशी मित्र मोनी अब्डुससँग लेखक माउथासेन बन्दीगृह बाहिर।

सन् १९३६ मा जर्मनीका तानाशाही हिटलर एसएस बाहिनी तथा प्रहरी विभाग प्रमुखमा नियुक्ति भएपछि उनले आफ्नो विचारसँग सहमत नहुनेहरूलाई कैद गर्न यस्ता हजारभन्दा बढी यातनागृह निर्माण गरेको कुरा इतिहासमा पढेको थिएँ। तर, उनले निर्माण गरेका बन्दीगृहमध्ये सबैभन्दा बढी बन्दी मारिएको बदनाम माउथासेन बन्दीगृह कुनै दिन आफ्नै आँखाले प्रत्यक्षरूपमा अवलोकन गर्ने अवसर जुट्ने कुरा भने कल्पनाभन्दा बाहिरकै कुरा थियो। यसपटक तीन महिनाको युरोप भ्रमणका बेला यो अवसर बंगलादेशी मित्र मोनी अब्दुसले जुटाइदिए। भियनाबाट झन्डै २ सय किलोमिटर टाढा जर्मनी सीमासँगै रहेको यो त्रासदीपूर्ण बन्दीगृहमा उनले आफ्नै गाडीबाट मलाई लिएर गए। यसभन्दा अघि नै उनले अस्ट्रियाको एउटा सुन्दर शहर मेल्क स्ट्रिट घुमाइसकेकाले उनीसँग गफ गर्न मलाई कुनै संकोच थिएन। झन्डै २७ वर्षदेखि अस्ट्रियामा बस्दै आएका अब्दुसले गाडी चलाउँदै भनिरहेका थिए– ‘पत्रकार भएकाले तिमीलाई मैले यहाँ लिएर आएको हुँ।’

आङ नै सिरिङ्ग हुने नारकीय यातना
यो बन्दीगृह हेर्ने जोकोहीलाई पनि जर्मन बन्दीगृहहरूमा जस्तो बर्बर अत्याचार आदिम हिंसाको इतिहासमा कतै पनि पाइँदैन भन्ने लाग्छ। दिउँसै आङ सिरिङ्ग हुने चारैतिर जंगलले घेरिएको यो बन्दीगृहमा हिटलरद्वारा ८ अगस्ट १९३८ बाट बन्दी राख्न शुरू गरिएको रहेछ। जर्मनीले अस्ट्रिया कब्जा गरेको ५ महिनाभित्रै यो बन्दीगृह निर्माण गरेको इतिहास छ।

बन्दीगृहको मूल ढोकाबाट प्रवेश गर्नेबित्तिकै दुवैतिर बन्दीहरूलाई राख्ने स–साना कोठा भएका लामा एकतले घरहरू देखिन्छन्। एउटा कोठामा करिब सय जना जति अट्ने भए पनि त्यस बेला एउटै कोठामा ५ सयभन्दा बढी बन्दीलाई कोचेर राखिने गरेको रहेछ। चर्पी र नुहाउने कोठासमेत एउटै कोठामा बनाइएको छ। हिटलरको राजनीतिक सिद्धान्तको विरोध गर्ने जतिलाई सीधै यो बन्दीगृहमा ल्याएर राखिने रहेछ। अनि त्यहाँ अराएको काम नगर्ने र विरोध गर्नेहरूलाई चरम यातनासहित सीधै मृत्युदण्ड दिने गरिएको छ। कति ठाउँमा त जिउँदै जलाउने ठाउँहरूसमेत देखियो। जिउँदै जलाएर मारिने भन्दा विष खुवाएर, गोली ठोकेर, खानै नदिई भोकभोकै पारेर, ग्यास चेम्बरमा राखेर र लात्ताले हान्दै जंगलमा लगेर मारिनेहरूलाई उल्टो भाग्यमानी कैदी मानिँदो रहेछ।

विश्वयुद्धको दौरानमा सबैभन्दा बढी ९० हजार कैदीलाई मारिएका यस बन्दीगृहमा मारिने सबै कैदीको नाम सिसाको टेबुल र पुस्तिकामा उतारेर राखिएको छ। त्यसैले अहिले पनि मारिने कैदीका नाति–पनातिहरूले हामी नेपालीले श्राद्ध गरेजस्तै यहाँ आएर श्रद्धाञ्जलीस्वरूप आफ्नो संस्कृतिअनुसारका पैतृक कर्म गर्ने गरेको देखियो। मारिएका बन्दीहरूको सूची र तस्वीरहरू हेर्दा यस बन्दीगृहमा हंगेरी, पोल्यान्ड, अस्ट्रिया, जर्मनी, रसिया, फ्रान्स, युगोस्लाभिया, इटली, स्पेन र नेदरल्यान्डबाट ल्याइएका यहुदीहरूको संख्या सबैभन्दा बढी देखिन्छ। यहाँ लेखिएको रेकर्डअनुसार विभिन्न ठाउँमा बनाइएका यस्ता यातनागृहमध्ये सबैभन्दा बढी १ लाख ९० हजार बन्दीलाई हिटलरले यहीँ कोचेर राखेका रहेछन्। विश्वयुद्धमा जर्मनीको पराजयपछि अमेरिकी सैनिकले यो बन्दीगृह कब्जा गरेपछि यहाँबाट ९० हजार भाग्यमानी कैदीहरू मुक्त भएका रहेछन्।

यस बन्दीगृहभित्र बनाइएको संग्रहालयमा राखिएका चित्र, यातना भोगेका कैदीहरूको रेकर्ड गरिएका चित्कार, लास फाल्ने खाल्टा, जिउँदै जलाइने चिता, कंकाल भण्डारण गर्ने ठाउँहरू हेर्दा अहिले पनि जो–कोहीको आँखा रसाएर आउँछ। यस बन्दीगृहभित्र त्यस बेला भएको बर्बर अत्याचारको अवलोकन गर्ने जो–कोहीलाई पनि हिटलर र जर्मनी नाजीहरूप्रति पैतालादेखिको रिस मात्र होइन कि अत्यन्त घृणासमेत जगाउँछ। सम्भवतः यही भएर पनि होला, बन्दीगृहको यति ठूलो संग्रहालयमा कहीँ कतै पनि हिटलरको एउटा सानो तस्वीर पनि फेला पार्न सकिएन।

इतिहासलाई केलाउँदा दोस्रो विश्वयुद्ध हुनु ठीक अगाडि २२ अगस्ट १९३९ मा जर्मनीको शीर्ष सैनिकहरूको भेलामा हिटलरले उर्दी जाहेर गर्दै भनेका रहेछन्– ‘जिउँदो रहन जर्मनीका लागि अझै धेरै भूमि आवश्यक छ। तीव्र गति र क्रूरतामा सारा शक्ति लुकेको छ, हामीले त्यसको उपयोग गर्नुपर्छ। लाखौं शिशु र महिलालाई सखाप पारेर चङ्गेज खाँ महान् राष्ट्र निर्माता र इतिहास पुरुष भए। पश्चिमको असहाय सभ्यता मेरो बारेमा के सोच्छ, मलाई त्यसको केही पर्वाह छैन। त्यसकारण आउने युद्ध जमिन मात्र कब्जा गर्ने उद्देश्यले होइन, शत्रुहरूको भौतिक अस्तित्व पनि समाप्त गर्ने उद्देश्यले हुनेछ। त्यसैले मेरो आदेश छ– जोसुकै होस्, जसले मेरो नीतिको विरोध गर्छ, गोलीले उसको मुख सदाका लागि बन्द गरिदिनू। अहिले तत्कालै उत्तरका पोल जाति र पोलिस भाषाभाषीका सारा नरनारी, बूढा–बच्चाहरूलाई विनाहिचकिचाहट निर्ममतापूर्वक हत्या गर्न म आदेश दिन्छु। जर्मनीको भलाइ यसरी मात्र हुन सक्छ।’

हिटलरको यो आदेशपछि पोल्यान्डमा थुप्रै बन्दीगृह निर्माण मात्र गरिएन, हिटलरले दोस्रो विश्वयुद्ध समाप्त हुनुअघि ६० लाख यहुदीको हत्यासमेत गरे। युरोपेली यहुदीहरूको हत्या गर्ने मुख्य केन्द्र पोल्यान्डलाई बनाइएको रहेछ। पूरै यहुदीलाई समात्दै पोल्यान्डको बन्दीगृहमा जम्मा गरिन्थ्यो र उनीहरूलाई दुई भागमा बाँडेर राखिन्थ्यो। एकातिर बूढाबूढी र बच्चाहरू राखिन्थ्यो भने अर्कोतिर काम लाग्न सक्ने युवायुवतीहरू। यसरी राखिएका बन्दीहरूमा सबभन्दा पहिला बिरामीलाई ग्यास च्याम्बरमा हालेर हत्या गरिन्थ्यो। बन्दीगृहमा उनीहरूलाई चिन्न विशेष खालको कपडा पहिर्याइन्थ्यो। हरेक बन्दीको घाँटीमा नम्बर झुन्ड्याइएको हुन्थ्यो। यहुदी बन्दीहरूका लागि ताराअंकित नम्बर दिइन्थ्यो। स्वस्थ बन्दीहरूलाई विनाखाना १८–२० घन्टा काममा जोताइन्थ्यो। नाजीहरू यहुदीहरूका लागि खाना खुवाएर जिउँदो राख्नु आफ्नो कर्तव्य होइन भन्थे। त्यस्ता व्यक्तिहरू कुपोषणको सिकार भएपछि उनीहरूलाई सुई दिएर मारिन्थ्यो। बूढाबूढी भोकै मर्नु नै विधिको विधान थियो। कति बच्चाहरूलाई विषालु चकलेट खुवाएर मारिन्थ्यो।

बन्दीगृहलाई दुईवटा श्रेणीमा विभाजन गरिएको हुन्थ्यो। पहिलो बन्दीगृहमा दास–श्रमिकहरूलाई राखिन्थ्यो भने अर्कोलाई मृत्यु बन्दीगृह भनिन्थ्यो। पहिलो श्रेणीका बन्दीहरू दोस्रो श्रेणीको बन्दीगृहमा जानु अनिवार्य थियो। मृत्युगृहमा विषाक्त ग्यास हालेर मारिएका बन्दीहरूलाई विशेष खालको भट्टीमा जलाइन्थ्यो। पूरै विश्वयुद्धभरि स्वस्थ बन्दीहरूको शरीरमा विभिन्न औषधिहरूको प्रयोग गरिन्थ्यो। युद्धमा घाइते सैनिकहरूका लागि आवश्यक रगतको आपूर्ति ती बन्दीहरूबाटै गरिन्थ्यो। यति मात्रै होइन, बन्दीगृहलाई एक किसिमको अप्राकृतिक यौनाचारको अखडा नै बनाइएको रहेछ।

जिउँदै मान्छे छिराएर मार्ने मानव ओभन

माउथासेन बन्दीगृहमा सबै कैदीहरू भाग्लान् भनेर बन्दीगृहहरूको चारैतिर काँडेतारको तीनवटा घेरा लगाइएको हुन्थ्यो। जसमा चौबीसै घन्टा बिजुली प्रवाहित गरिएको हुन्थ्यो। निश्चित अन्तरालमा उभ्याइएको बुर्जामा पाले तैनाथ हुन्थे। ढोकामा टाँसिएका ठूल्ठूला पोस्टरहरूमा लेखिएको हुन्थ्यो– ‘कठिन परिश्रमले मात्र तिमीहरूको छुटकारा सम्भव छ।’ भाग्ने कोसिस गरेमा, काम गर्न इन्कार गरेमा वा आदेशको पालना नगरेमा अलग–अलग तरिकाले अमानुषिक यातना दिएर मृत्युदण्ड दिइन्थ्यो। गोली ठोक्नकै लागि बनाइएको एउटा खम्बामा उभ्याएर गोली ठोकिन्थ्यो। बन्दीहरूलाई यो दृश्य हेर्न बाध्य बनाइन्थ्यो। थोरै संख्या भएमा झुन्ड्याएर मारिन्थ्यो।

नाजीहरूले यहुदीहरूलाई सामूहिक संहार गरेको कुरा सम्झन सायद यति वर्णन नै काफी हुन्छ। चेल्मनो नामको सबैभन्दा सानो बन्दीगृहमा मात्र ३ लाख ६० हजार बन्दीहरूको हत्या गरिएको थियो। त्यसै गरी ट्रेबलिनको अर्को यस्तै बन्दीगृहमा ७ लाख ५० हजार बन्दी मारिएका थिए। कब्जा गरिएका इलाकामा बढी भएका यहुदीहरूलाई घेरेर अलग पारिन्थ्यो, जसलाई घेटो भनिन्थ्यो। कति पटक यस्ता घेटोमा आगो लगाएर जिउँदै यहुदीहरूलाई मारिन्थ्यो। सन् १९४१ को आँकडाअनुसार वार्सा घेटोमा मात्र ५ लाख ९० हजार बन्दीहरू थिए, जसलाई हिटलरको आदेशले सखाप पारियो।

यहुदी समस्याको अन्तिम समाधानको नाममा उनीहरूलाई जसरी सखाप पार्ने योजना हिटलरले बनाएका थिए, त्यसको सानो झल्को मात्र हो यो। विश्वयुद्धको ६ वर्षको अवधिमा करोडौं मान्छे नाजीहरूको हातबाट बलि चढे, जसको सही हिसाबकिताब निकाल्नु अहिले पनि सम्भव भएको छैन। पोल्यान्डको एउटा आँकडाअनुसार सन् १९३९–४५ सम्ममा जर्मनको कब्जामा रहेको पोल्यान्डमा मात्र ६० लाख २८ हजार नागरिकको हत्या गरिएको थियो। जसमा ६ लाख ४४ हजार सैनिक थिए भने बाँकी सबै निर्दोष नागरिकहरू। आँकडाअनुसार पोल्यान्डमा मात्र ३२ लाख यहुदीहरू मारिएका थिए।

बन्दीहरू राख्ने घर

सोभियत इतिहासकारहरूका अनुसार अस्विचमा मात्र ४० लाख मान्छेको हत्या गरिएको थियो। नाजीहरूको आक्रोशपूर्ण घृणाको सिकार भएका जातीय शत्रुता र क्रूरताको तस्वीर इतिहासमा दुर्लभै पाइन्छ। पूरै युरोपमा मात्र ६० लाख यहुदीहरूको हत्या गरिएको थियो। यस्तो नरसंहारको योजना हिटलरले पहिले नै बनाएको भन्ने कुरा उनले ३० जनवरी १९३९ मा जर्मन संसद् राइख स्टेगसमक्ष गरेको भाषणले पुष्टि गर्दछ। उनले संसद्लाई सम्बोधन गर्दै भनेका थिए– ‘युरोपलाई यहुदीमुक्त बनाउन अर्को विश्वयुद्धको आवश्यकता छ।’

चेकोस्लोभाकियाका मुक्ति सेनाद्वारा मारिएका हिटलरका जल्लाद हेड्रिकले निर्देशन दिँदै युरोपका लगभग १ करोड १० लाख यहुदीहरूमध्ये एक जना पनि बच्न हुँदैन भनेका थिए। यही भएकाले होला अर्का कुख्यात नाजी जल्लाद आइख मेनले गर्वका साथ आफ्नो रिपोर्टमा पूर्वी युरोपका २० लाख यहुदीहरूलाई म एक्लैले सखाप गरेको भनी निशंकोच लेखेका छन्। पछि अमेरिकामा शरण लिन पुगेका आइख मेनलाई त्यहाँ समातिएपछि नुरेमबर्ग अदालतको पैmसलाअनुसार इजरायलमा फाँसी दिइएको थियो।

विश्वयुद्धको ६ वर्षको बीचमा बच्चा र महिलाहरूमाथि नाजीहरूले गरेको अत्याचारको लेखाजोखा गर्नु असम्भव छ। त्यस बेलाका सारा कागजातहरू नष्ट गरिसकेको अवस्था छ। कपडाको रासमा लुकाइएका बच्चाहरूको लास बन्दुकको संगीनमा उनेर आमासामु पैशाचिक नाच देखाउनु, मनोरञ्जन गर्नु र स–साना नानीहरूलाई आमाबुबाकै अगाडि बलात्कार गर्नु नाजीहरूको दैनिक हकजस्तो बनिसकेको थियो। घाँटीमा डोरीले खसीबोकालाई झैं बाँधेर झुन्डका झुन्ड यहुदी, पोलिस र रसियन बच्चाहरूलाई गहिरो खाल्टोमा फ्याँकी चुना–माटोले पुर्नु नाजीहरूको दैनिक खेलजस्तो बनिसकेको थियो। मारिएका ६० लाख यहुदीमध्ये १६ वर्षभन्दा मुनिका १२ लाख बच्चाको निर्मम हत्या गरिएको थियो।

को थिए हिटलर ?

दोस्रो विश्वयुद्धको नाम आउनेबित्तिकै सबैभन्दा पहिले सम्झिने नाम हो– एडोल्फ हिटलर। उनको जन्म २० अप्रिल १८८९ मा अस्ट्रियाको एउटा सानो गाउँमा भएको थियो। माता क्लारा र पिता एलायन्सबाट जन्मेका हिटलरकी आमा पनि हिटलरजस्तै निष्ठुरी स्वभावकी थिइन्, जसको प्रभाव हिटलरमा परेको देखियो। उनी बच्चैदेखि छुद्र स्वभावका थिए। पढ्नमा खासै ध्यान नदिने हिटलर विद्यालयमा शिक्षकहरूलाई अभद्र व्यवहार गरेकोमा कैयौंपटक विद्यालयबाट निष्कासनमा परेका थिए।

सन् १९०७ मा अस्ट्रियाको राजधानी भियनामा आएर उनी फाइन आर्ट कलेजमा भर्ना हुन खोजे। तर प्रवेश परीक्षामै अनुत्तीर्ण भएपछि सन् १९१३ मा जर्मनीको म्युनिख पुगेर आपूmले कोरेको चित्र बेची गुजारा चलाउन थाले। भियनाका गल्लीहरू घुम्दादेखि नै हिटलर यहुदीविरुद्ध आक्रोशित बनिसकेका थिए। सन् १९१४ मा प्रथम विश्वयुद्ध शुरू भयो। यही बेला सेनाहरूको आवश्यकता भइरहेको मौका छोपी उनी जर्मनी सेनामा छिर्न सफल भए। प्रथम विश्वयुद्ध उनका लागि वरदान मात्र सावित भएन, यो जागिर पाएपछि उनको जीवन नै बदलियो।

२ डिसेम्बर १९१४ मा राम्रो काम गरेको भन्दै उनी आइरन क्रसबाट विभूषित भएका थिए। कुकुर पाल्नु उनको ठूलो सोख थियो। ब्लान्दी नामको उनको बफादार कुकुर उनीसँगै बंकरमा मरेको थियो। उनी हमेसा भनिरहेका हुन्थे– ‘म मान्छेलाई भन्दा कुकुरलाई बढी प्रेम गर्छु, किनभने कुकुर आफ्नो बफादारीका लागि कुनै सर्त राख्दैन।’

हृदयविदारक रिपोर्ट

युद्धपछि सोभियत संघ, अमेरिका र बेलायतको आग्रहमा पत्रकार तथा बुद्धिजीवीहरू समावेश गरी बनाइएको उच्चस्तरीय प्रतिनिधिमण्डलले सारा घटनाको अनुसन्धान गरेर तयार गरिएको हृदयविदारक रिपोर्टका केही बुँदाहरूः

  • संगीतको धुन सुनाउँदै बन्दीको हत्या गरिएको
  • मान्छेको छालाबाट पर्स, पन्जा र ल्याम्पसेड बनाइएको
  • बन्दीहरूलाई आगोको भट्टटीमा जिउँदै फ्याँकिएको
  • मृत बन्दीहरूको कपाल काटिएको र सुनको दाँत उखेलिएको
  • प्रश्नको उत्तर नदिने बन्दीलाई तातो कोठामा यातना दिएर मारिएको
स्रोतः विकास मुखर्जी र जेपी सिंहद्वारा लिखित पहिलो र दोस्रो विश्वयुद्ध पुस्तकबाट

प्रथम विश्वयुद्धमा जर्मनीले हारेपछि उनी निकै दुःखी भए। प्रथम विश्वयुद्धमा जर्मनी हार्नुको दोष उनी यहुदीहरूलाई दिन्थे। यहुदीहरूकै कारण जर्मनी तहसनहस भएको उनको ठम्याइ थियो। युद्धपछि डामाडोल भएको जर्मनीको सेनामा उनलाई पछि महत्त्वपूर्ण जिम्मेवारी दिएपछि नै हिटलरको उदय भएको हो।

सन् १९१९ मा ३० वर्षको उमेरमा हिटलरले जर्मन वर्कर्स पार्टीको सदस्यता लिएर राजनीतिमा प्रवेश गरे। वाक्पटुताका कारण उनी छोटो समयावधिमै जर्मनीका युवायुवतीमा लोकप्रिय बने। सोही कारणले पार्टी प्रवेश गरेको दुई वर्षभित्रै उनी पार्टी कब्जा गर्न सफल भए। पार्टी आफ्नो कब्जामा आइसकेपछि उनले पार्टीको नाम फेरेर ‘नेसनल सोसलिस्ट वर्कर्स पार्टी’ राखे। जसको संक्षिप्त नाम ‘नाजी पार्टी’ थियो। यही नाजी पार्टी नै पछि गएर फासीवादको प्रतीक बन्दै विश्व आतंक बन्यो।

भोकै राखिएका बन्दीहरू

सन् १९२३ सम्ममा त उनले जर्मनका जनतालाई आफू भगवान् नै हो भन्ने बनाइसकेका थिए। यही कुराको फाइदा उठाउँदै सन् १९३३ मा भएको आमचुनावमा अत्यधिक बहुमतले हिटलरको नाजी पार्टीले चुनाव जित्यो। अनि हिटलर जर्मनीको चान्सलर बनेसँगै विश्वमा कुख्यात तानाशाहको जन्म भयो। हिटलरको चरम तानाशाहबाट पीडित स्वयम् उनको देश जर्मनी, अस्ट्रियासहित कैयौं युरोपका मुलुकहरूमा घृणाका कारण उनको नामसमेत उच्चारण गर्दैनन्। तर, नेपालजस्तो अविकसित मुलुकहरूमा भने अहिले पनि उनैलाई आदर्श मानेर हिँड्ने नेताहरूको कमी छैन।

हिटलरको मृत्यु पनि दर्दनाक नै थियो। पाप धुरीबाट कराउँछ भनेजस्तै हिटलरको अन्त्य पनि सुखद थिएन। चारैतिरबाट आफन्तहरूले छोडेपछि आफ्नो ५६औं जन्म दिनको ठीक १० दिनअघि ३० अप्रिल १९४५ मा उनी आफू लुकेको बर्लिनको बंकरमा आफूनी श्रीमती इभा ब्राउन र आफ्नो बफादार कुकुरलाई साइनाइड विष खुवाएपछि आफूले पनि सोही विष खाएर आत्महत्या गरेका थिए। हिटलरकै अन्तिम इच्छाअनुसार पेट्रोल छर्केर उनको लास चिन्न नसकिने गरी जलाइएका कारण इतिहासमा उनको मृत्यु अहिलेसम्म पनि रहस्यमय बनेको छ।

 

प्रतिक्रिया दिनुहोस्