नवाजकै भाइ शहवाज भावी प्रमका दाबेदार



 

इस्लामावाद, (एजेन्सी)
हालै भ्रष्टाचार अभियोगको कारण राजीनामा दिएका पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफका भाइ शहवाज सरिफ आगामी प्रधानमन्त्रीका दाबेदार बनेका छन्। सत्तारूढ पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन)ले उनलाई भावी प्रधानमन्त्रीका रूपमा शनिबार अघि सारेको छ।

तर यसका लागि उनी पहिले राष्ट्रियसभामा निर्वाचित हुनुपर्नेछ। हाललाई भने पूर्व पेट्रोलियम मन्त्री शाहिद खाकान अब्बासीले अन्तरिम प्रधानमन्त्रीको हैसियतले काम गर्ने भएका छन्। पाकिस्तानको सर्वोच्च अदालतले भ्रष्टाचार अभियोगका कारण सरिफलाई अयोग्य घोषित गरेपछि उनले शुक्रबर पदबाट राजीनामा दिएका थिए।

सन् २०१५ मा भएको पानामा पेपर्स चुहावटपछि सरिफको परिवारको सम्पत्तिमाथि गरिएको छानविनबाट सर्वोच्चले उक्त आदेश दिएको हो। उक्त अनुसन्धान सरिफका सन्तानको विदेशमा रहेका कम्पनीहरूमाथि समेत केन्द्रित रहेको थियो। नवाजका भाइ ६५ वर्षीय शहवाज सरिफले पञ्जाव प्रान्तको गभर्नर पदबाट राजीनामा दिएर यसका लागि संसद्मा मध्यावधि चुनाव जित्नुपर्छ।

यसका लागि प्रधानमन्त्री पद रिक्त भएको ४५ दिन पुग्नुपर्छ। नवाज सरिफविरुद्ध ५ जना न्यायाधीशको इजलासले निर्णय सुनाएको थियो। उक्त अदालतको निर्णयमा सरिफले सन् २०१३ को आम निर्वाचनका लागि उम्मेदवारी मनोनयन दाखिला गर्दा दुबईस्थित आफ्नो एउटा कम्पनीको आम्दानीबारे केही उल्लेख नगरी बेइमानी गरेको जनाइएको छ।

अदालतले सरिफ, उनकी पुत्री मर्यम र मर्यमका पति साफदार तथा अर्थमन्त्री इसाक दारलगायत अन्य थुप्रै व्यक्तिविरुद्ध भ्रष्टाचारको मुद्दा चलाउन अनुमति दिएको थियो। सरिफ पाकिस्तानमा तेस्रो पटक प्रधानमन्त्री बनेका थिए। यसअघि सन् १९९० को नोभेम्बरदेखि १९९३ को जुलाईसम्म र १९९७ को फेब्रुअरीदेखि १९९९ को अक्टोबरसम्म उनी प्रधानमन्त्री रहेका थिए। १९९९ मा उनलाई जनरल परवेज मुसरफले रक्तविहीन सेनिक विद्रोहबाट अपदस्थ गरेका थिए।

प्रतिक्रिया दिनुहोस्