हत्यारामाथि कारबाही माग गर्दै चौकी घेराउ



 

नेपाल समाचारपत्र
बारा
छिमेकीको घरमा मृत फेला परेका एक किशोरको हत्या गरिएको भन्दै दोषीमाथि कारबाहीका लागि स्थानीयले शनिबार इलाका प्रहरी कार्यालय निजगढ घेराउ गरेका छन्।

निजगढ नगरपालिका–५ का मनोज सापकोटाका १६ वर्षीय छोरा निसानको छिमेकी विचारी थापाको घरमा शव फेला परेपछि आक्रोशित स्थानीयले थापा परिवारका सदस्यमाथि कारबाहीको माग गर्दै बिहान १० बजेबाट ४ बजेसम्म चौकी घेराउ गरेका हुन्। आक्रोशित भीडले पूर्व–पश्चिम राजमार्गमा २ घण्टा सवारीसमेत अवरुद्ध पारेका थिए। स्थानीयको अवरोधका कारण शवको पोस्टमार्टसमेत हुन सकेको छैन।

स्थानीय सार्वजनिक मावि कक्षा ८ मा अध्ययनरत निशानको घरको माथिल्लो तलामा शुक्रबार साँझ ५.३० बजे घाटी रेटेको अवस्थामा शव फेला परेको थियो। थापासहित श्रीमती विमला र १३ वर्षीय छोरी विपनाको मिलेमतोमा हत्या भएको स्थानीयको आरोप छ। प्रहरीले थापा परिवारका एक नाबालक छोरासहित चार अन्य दुई जनालाई नियन्त्रणमा लिएर अनुसनधान भइरहेको जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिलीप घिमिरेले घटना रहस्यमय रहेको र वास्तविकता बाहिर आउन केही समय लाग्ने बताए। डीएसपी घिमिरेले प्रारम्भिक अध्ययनबाट घटना हत्या वा आत्माहत्या पनि हुनसक्ने देखिएकाले अहिले नै यकिन गर्न नसकिने बताए।

प्रतिक्रिया दिनुहोस्