बजेट सक्न अवहेलना



 

जलेश्वर, (नेस)
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले बजेट सक्न अदालतको अवहेलना गर्दै निर्माण कार्य जारी राखेको छ। जलेश्वरनाथ महादेव मन्दिरको मूलद्वारमा कुदिएका कलाकृति नाश हुन नदिन उच्च अदालत जनकपुरले साउन ५ गते निर्माण कार्य रोक्न आदेश दिएको थियो। तर, उक्त आदशेको अवहेलना गर्दै बृहत्तरका अध्यक्ष एवं नयाँ शक्ति पार्टी नेपालका नेता रामकुमार शर्माले निर्माण कार्य जारी राखेका छन्।

उच्च अदालत जनकपुरले सम्पूर्ण कागजातसहित अदालतमा उपस्थिति हुन र साउन १६ गतेसम्मका लागि आदेश जारी गरे पनि मन्दिरको गेट निर्माण कार्य रोकिएको छैन।
जलेश्वर १ का जुगनु भनिने राम विलास मेहतरीले धार्मिक, ऐतिहासिक तथा पौराणिक सम्पदा जलेश्वरनाथ मन्दिरको मुख्य सिंहद्वार भत्काएको विरुद्धमा जनकपुर क्षेत्र विकास परिषद् कार्यालय तथा अध्यक्ष, जिल्ला प्रशासन कार्यालय, ठेकेदार, जलेश्वर नगरपालिका र गुठी कार्यालयमाथी उच्च अदालत जनकपुरमा रिट दिएका थिए।

रिटमाथि सुनुवाई गर्दै उच्च अदालतले पहिलोपटकको छलफलमा विपक्षीहरूलाई अदालतमा उपस्थित हुन आदेश जारी गरेपनि बृहत्तरका अध्यक्ष रामकुमार शर्मा अनुपस्थित रहेका थिए। विपक्षबाट पर्याप्त सबुत प्रमाणहरू पेस नगरिँदा उच्च अदालतले निषेधाज्ञा आदेश जारी गरेको थियो।

न्यायाधिश नारायणप्रसाद पोखरेल र ठाकुरप्रसाद शर्मा पौडेलको संयुक्त इजलासले साउन १६ गते मूलद्वार निर्माण सम्बन्धमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को फाइल, सोको ठेक्कासम्बन्धी सक्कल फाइल तथा गुठीको राय तथा सिभिल र आर्किटेक इन्जिनियरले बनाएको नक्सासमेतका साथ छलफलमा बोलाएको छ।

प्रतिक्रिया दिनुहोस्