जुम्लाको सरकारी टोली बाजुरा प्रस्थान



 

नन्दराम जैशी, जुम्ला
जुम्लाको एक सरकारी टोलीलाई शुक्रबार नेपाली सेनाले सलामी दिएर जुम्ला सदरमुकामबाट बिदाइ गरेको छ। बाजुरामा रहेको बडिमालिका भगवती मन्दिरतर्फ प्रस्थान गरेको उक्त सरकारी टोलीलाई नेपाली सेनाले सलामी दिएर बिदाइ गरेको हो।

तीर्थालु र सुरक्षाकर्मीसहित प्रस्थान गरेको १५ जना बढीको सरकारी टोलीलाई नेपाली सेनाले पाँचवटा सलामी, ब्यान्डबाजा र बिगुल फुकेर सम्मानका साथ पठाएको छ। संस्कृतिविद् रमानन्द आचार्यका अनुसार परम्परादेखि नै हरेक वर्षको एकपटक जुम्लाको सरकारी टोली पूजाका लागि बडिमालिका जाने चलन रहेको छ। हरेक वर्ष नाग पञ्चमीको दिन तीर्थालुसहित जुम्लाबाट सरकारी टोली बाजुरामा रहेको बडिमालिका भवतीको मन्दिर दर्शनका लागि प्रस्थान गर्ने गर्दछ। शुक्रबार दिउँसो २ बजेतिर नेपाली सेना, नेपाल प्रहरी र सरकारी तथा गैरसरकारी निकायलगायत सर्वसाधाणले फूलमाला, अबिरसहित पञ्चेबाजाका साथ सरकारी टोलीलाई बिदाइ गरेको निमित्त प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाले जानकारी दिनुभयो।

जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा बिष्णुबहादुर महतको नेतृत्वमा प्रस्थान गरेको सरकारी टोली १७ दिनपछि जुम्ला सदरमुकाम आइपुग्ने बताइएको छ। दरबार मालिका भगवतीको मन्दिरमा गएर भगवतीको झोली र तीर्थालुलाई परिक्रमा गराएपछि उक्त सरकारी टोलीलाई बाजुरातर्फ पठाइएको हो। जिल्ला प्रशासन कार्यालयको तर्फबाट सुनको टीका, बिनायो, चाँदीको काँगियो, छत्र, मुरुली गरी ५ वटा पूजाका सामानहरू पनि पेटारो नामक झोलीमा राखेर बडिमालिका मन्दिरमा पूजाका लागि पठाइएको छ।

त्यस्तै भक्तजनले आफ्नो वर पूर्तिका लागि भेटीसँगै मार्सीधानको अक्षता, फूलपाती, फलफूल, ध्वजा, तोरणजस्ता प्रसादहरू पठाएका छन्। जिल्लाबाट गएको टोलीसँगै गाउँगाउँबाट पनि अन्य धर्मावलम्बीहरू थपिँदै जाने गर्दछन्। समाजसेवी चित्रलाल श्रेष्ठको घरबाट भगवती निकालेर चन्दननाथ, भैरवनाथ मन्दिर परिक्रमापछि सो टोली बढिमालिका प्रस्थान गरेको हो।

प्रतिक्रिया दिनुहोस्