दिउँसोको चोरी अनियन्त्रित



 

नेपाल समाचारपत्र
बाँके
नेपालगन्जकी आशमा अन्सारी एक्लै घरमा बस्न अल्छी लागेपछि घरमा ताला लगाएर छिमेकी घरमा गफ गर्न जानुभयो। दिउँसो १२ बजेतिर घरबाट निस्केर छिमेकीको घरमा गएकी आशमाले २ बजेतिर फर्किदा लाखौं रुपियाँ गुमाउनुभयो।
बाहिर मात्रै नभएर भित्री कोठामा समेत ताला लगाएर निस्किएकी आशमाको दुई घण्टामा फर्किदा चोरले घरमा रहेको गहना र नगद सफाचट गरिसकेको थियो। ग्यालरी र कोठामा लगाएको ताला फोरेर चोरले दिउँसै आशमाको दुई तोलाको सिक्री, डेढ तोलाको औंठी, १२ आनाको कानको झुम्का र २ लाख ५ हजार नगद लग्यो।

आशमाको घरमा डेरा गरी बस्ने शिला गुरुङको कोठाबाट चोरी भयो। कोठाको ताला फोरेर चोरले शिलाको सवा दुई तोलाको सुनको बाला र ५ हजार नगद लग्यो। चोरले आशमाको दराज र बाकससमेत फोरेको थियो। शिलाको भने दराजको साँचो भेटाएको थियो। आशमा कहिल्यै अर्काको घरमा गफ गर्न जानुहुन्नथ्यो। त्यही दिन दशा लागेर गएको स्थानीयहरूले बताए।
त्यही दिन चोरले आशमाको घर नजिकै रहेको दिवश पोखरेलको घरबाट पनि लाखौंको गहना र नगद लगेको छ। घरमा कोही नभएको बेला ताला फोरेर चोरले पोखरेलको घरबाट ५ तोला सुन र ५० हजार लगेका छन्। पोखरेलको घरमा रहेको ८० हजारको मोबाइल भने चोर लगेको थिएन।

पछिल्ला दिनमा नेपालगन्जमा दिउँसै चोरी गर्ने गिरोह सक्रिय भएको छ। ताला लागेको घर खोज्दै हिँड्ने र देख्नेबित्तिकै चोरी गर्ने गरेको पाइएको छ। दिउँसो चोर्ने चोरको गिरोह ठूलो रहेको आँकलन गरिएको छ। घटनाहरू हेर्दा यो समूहले दिउँसो कोही नहुने घरको ‘रेक्की’ गरिरहेको देखिन्छ। आशमाको जसरी एकैछिन आफन्त या छिमेकीको घरमा जानेबित्तिकै घरमा चोरी भएका घटना धेरै आएका छन्।

बसपार्क पछाडिको बरालथरकी महिला नजिकै रहेको माइतीमा एकछिन जाँदा सात तोला सुन गुमाउनुपरेको थियो। आमालाई सन्चो छैन भन्ने सुनेर एकछिन माइतीमा जाँदा ताला फोरेर घरमा चोरी भएको थियो। प्रत्यक्षदर्शीहरू भन्छन्– दिउँसो ताला लगाएर गएको र एक घण्टामा फर्किंदा घरमा चोरी भएको थियो। यो मात्रै होइन, कारकादोकी यशोदा शाहको घरबाट पनि दिउँसै लाखौंका गहना र नगद चोरी भयो।

बाँके प्रहरीका लागि अहिले दिउँसोको चोरी टाउको दुखाइको विषय बनेको छ। दिउँसोको चोर धेरै चलाख रहेका छन्। उनीहरूले सुन र नगद पैसाबाहेक अरू लगेको पाइँदैन। चोरले चोरिएको सुन भारतमा लगेर बेच्ने गरेको प्रहरीको बुझाइरहेको छ। ‘चोरहरू सबैजसो नै लागूपदार्थ प्रयोगकर्ता हुन्। चोरिएको सुनलाई रूपैडिहा या बहराइचमा लगेर बेचेर मस्ती गर्ने गरेको बुझिन्छ’ –प्रहरी अधिकृतहरू भन्छन्।

प्रहरीले चोरलाई नसमातेको पनि होइन। एउटै चोर ६ पटकसम्म समातिएको छ। चोरीको सामान फेला नपर्दा अदालतले धरौटीमा छोड्ने गरेको पाइन्छ। चोरीको समान त उसले तत्कालै बेचिसकेको हुन्छ। पटके चोरका घरपरिवार त उसलाई बुझ्नसमेत प्रहरीकहाँ आउदैनन्। नेपालगञ्जमा चोरी बढेपछि प्रहरीले शंकास्पद चोरहरू धेरैलाई समातेर राख्दा केही नियन्त्रण भएको थियो। उनीहरू सार्वजनिक मुद्दा या अदालतबाट धरौटीमा छुटेपछि फेरि चोरी बढेको छ। घरपरिवारले नहेरे पनि कतिपय चोरहरूको त गजबको सम्बन्ध रहेका छन्। अदालतले तोक्ने धरौटी अर्को चोरले बुझाइदिने गरेको छ।

दिउँसो भएको चोरीका घटना प्रायः १० देखि १२ बजेको बीचमा भएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय, बाँकेका सई यमबहादुर साउदले पुस⁄माघदेखि आफूहरूले सूक्ष्म तरिकाले दिउँसोको चोरी नियालिरहेको र अधिकांश चोरी १० देखि १२ बजेसम्ममा भएको बताउनुभयो। रातीको चोरीमा संलग्न हुनेलाई समातिए पनि प्रहरीले दिउँसोका ठूलो चोरीमा लागेकालाई समात्न सकेको छैन।
पटके चोरले लागूऔषधमा फस्दै गरेका नयाँलाई धन्दामा लगाइरहेको पाइन्छ। पुरानाहरू आफू संलग्न भएर नयाँलाई चोर्न लगाई भाग लिने गरेको सम्बद्धहरू बताउँछन्। नेपालगन्जमा चोरेर भारतको बहराइचमा गएर मस्ती गर्ने चोरको समूह बढेको प्रहरी स्रोतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्