धवनको सानदार ब्याटिङ



 

नयाँदिल्ली, (एजेन्सी)
भारतीय ओपनर ब्याटसम्यान शिखर धवनका लागि श्रीलंकाविरुद्धको पहिलो टेस्ट हरेक कोणबाट सानदार बनेको छ। उनलाई टिममा फर्काइएको थियो। उनले यसको भरपूर फाइदा उठाए पनि। धवनले आफ्नो करिअरकै उत्कृष्ट प्रदर्शन गरेका छन्। उनले अस्ट्रेलियाका लिजेन्ड ब्याटसम्यान सर डन ब्रेडम्यान र पूर्वभारतीय आक्रामक ब्याटसम्यान वीरेन्द्र सेहवागसँग बराबरी गरेका छन्।
गाले टेस्टको पहिलो इनिङमा धवनले १ सय ६८ बलमा १ सय ९० रनको सानदार ब्याटिङ प्रस्तुत गरे। यो इनिङपछि धवनले ब्रेडम्यान र सेहवागसँग बराबरी गरेका हुन्। उनी एकै सेसनमा १ सय वा सोभन्दा बढी रन बनाउनेमा विश्वका तेस्रो खेलाडी बने। उनले पहिलो दिनको दोस्रो सेसनमा ९० बलमा १ सय २६ रन जोडे।

यसअगाडि धवनले सन् २०१२ मा मोहालीमा भएको डेब्यु टेस्टमा अस्ट्रेलियाविरुद्ध दोस्रो सेसनमा १ सय ६ रन बनाएका थिए। यसअघि सेहवाग र ब्रेडम्यानले यो उपलब्धि हासिल गरिसके। सेहवागले सन् २००५मा पाकिस्तानविरुद्ध र फेरि २००७ मा दक्षिण अफ्रिकाविरुद्ध यस्तै उपलब्धि हासिल गरेका थिए। यसैगरी डन ब्रेडम्यानले सन् १९३० मा र १९३४ मा यस्तो ब्याटिङ गरेका थिए।

तर धवनले गालेमा जारी टेस्टअन्तर्गत दोस्रो इनिङमा भने आफ्नो ब्याटिङलाई सोही अनुरूप ढाल्न सकेनन्। उनी १४ रन बनाएर आउट भएका थिए। उनी दिलरुवान परेराको बलिङमा गुणतीलकाद्वारा क्याच भएका थिए। यो टेस्टमा भारतले पहिलो इनिङमा ३ सय ९ रनको अग्रता लिएको छ। भारतले ६ सय रन बनाएको विरुद्धमा उत्रेको घरेलु टोली पहिलो इनिङमा २ सय ९१ रनमा समेटिएको थियो।

तेस्रो दिनको खेल समाप्तिसम्म भारतले तीन विकेटको क्षतिमा १ सय ८९ रन बनाएको छ। जसअनुसार भारतले श्रीलंकामाथि ४ सय ९८ रनको अग्रता लिएको छ। भारतका लागि कप्तान विराट कोहली ७६ रनमा नटआउट रहेका छन्। अभिनव मुकुन्द ८१ रनमा आउट भएलगत्तै खेल समाप्तिको घोषणा भएको थियो। मुकुन्द र विराटबीच चौथो विकेटका लागि १ सय ३३ रनको साझेदारी भएको थियो।

प्रतिक्रिया दिनुहोस्