मोहन दुवाल
नेपाली भाषा–साहित्यका अनन्य सेवकका रुपमा प्रख्यात लेखक गोपाल पाँडे ‘असीम’ ले राष्ट्रभाषा साहित्यको समृद्धि र विकासका लागि जे–जति श्रम र पसिना पोखेर गए त्यसको छुट्टै पहिचान र इतिहास बनिसकेको तथ्यलाई कसैले पनि बिर्सिन गाह्रो छ। वि.सं. २००८ मा नै ‘नेपाली शिक्षा परिषद्’ को स्थापना भएको थियो। नेपाली भाषा–साहित्यलाई अझ व्यापक र प्रभावशाली तुल्याउन यिनले शिक्षा परिषद्मार्फत धेरै खालका रचनात्मक कार्यहरु गरेको देखिन्छ। वि.सं. २००९ मा ‘नेपाली उच्च शिक्षालय’ को स्थापना गरेर आफ्नो सक्रियतालाई अझ सुदृढ ढङ्गले यिनले देखाएकै हुन्।

वि.सं. २०१० मा ‘प्रवेशिका परीक्षा’ को सञ्चालन गराएको देखिन्छ। २०१० सालतिर नै बृहत् साहित्य सम्मेलनको आयोजना, भानु र मोती जयन्तीको आरम्भ गरेर भाषा–साहित्य क्षेत्रमा उल्लेखयोग्य कार्य गरेर देखाएका छन्। स्वर्गीय कवि–लेखकहरुको सामूहिक जयन्ती र कवि शिरोमणि लेखनाथको रथयात्रासहित अभिनन्दनको आयोजना वि.सं. २०११ देखि यिनले शुरु गरे। यसरी शिक्षा र साहित्यमा योगदान पुर्याउँदै जाने उद्देश्यअनुसार नयाँ–नयाँ खालका साहित्यिक गतिविधिहरु गर्दै लान यिनी सफल भए। वि.सं. २०१३ मा ‘समस्या पूर्ति कवि सम्मेलन’ को आयोजना काठमाडौंमा प्रारम्भ गरेर कविता वाचन गर्ने परम्परामा एउटा नयाँ खालको तरङ्ग यिनले ल्याए। नेपाली शिक्षा परिषद्ले अर्को भानु प्रतिमा स्थापना गरेर गरिमामय कार्य गरेर देखाएको छ काठमाडौंमा। यी यावत् महत्वपूर्ण कार्यहरु वि.सं. २०१६ सम्ममा भएको देखिन्छ।

नेपाली शिक्षा परिषद्को बाह्रवर्षे दीक्षान्त समारोहको आयोजना २०२२ मा भयो। २०२३ मा ‘मोती जन्म शताब्दी’ र ‘लेखनाथ जयन्ती’ आयोजना काठमाडौंमा नै भएको र २०२५ सालदेखि काठमाडौंबाहिर स्रष्टाहरुको जयन्ती समारोहहरुको आयोजना आरम्भ गरेर नेपाली शिक्षा परिषद्ले नेपालभर आफू फिँजिंदै जाने सोच बनाएको देखिन्छ। ठाउँ–ठाउँमा प्रतिमा निर्माण गर्ने अभियान २०२९ सालदेखि सञ्चालन गरेको देखिन्छ। रम्घाको साहित्यिक यात्रा २०२९ मा गरेर २०३३ मा रम्घामा नै ‘भानु स्मृति भवन’ निर्माण गरे। २०३३ मा नै धरानमा पनि ‘मोती स्मृतिभवन’ निर्माण गरेर नेपाली शिक्षा परिषद्ले आफूलाई चिनाए। त्यहीँ मोती प्रतिमा स्थापना पनि गर्न लगाए। यी माथि उल्लेख भएका सबैजसो महत्वपूर्ण शैक्षिक, साहित्यिक कार्यहरु गोपाल पाँडे आफैं सक्रिय भएर गरेका हुन्। २०३५ मङ्सिरमा काठमाडौंमा यिनको निधन भयो।

भाषासेवी गोपाल पाँडेको अवसानपछि नेपाली शिक्षा परिषद् केही वर्ष सुस्तजस्तो देखिए पनि पछि वि.सं. २०४० देखि पुनः गतिशील ढङ्गको साहित्यिक कार्य गरेर देखा परे। गोपाल पाँडेले आफ्नै सुपुत्री रमा शर्मालाई आफू हिँडेको बाटो हिँडाउन सफल रहेका कारणले नेपाली शिक्षा परिषद्मा रमाको योगदान पनि आफ्नो गतिमा सक्रिय रह्यो। २०२५ सालदेखि नै रमा शर्मा नेपाली शिक्षा परिषद्मा सदस्य भएर सेवा गरेकै कारणले र आफ्नो बुबाको भाषा–साहित्यप्रतिको आगाध माया–प्रेमले गर्दा उनी नेपाली भाषा–साहित्यको सेवामा दत्तचित्त रहेर सेवा गरेको देखिन्छ। रमा शर्मा यस परिषद्को सदस्य–सचिव भएको पनि करिब ४० वर्ष भयो। नेपाली शिक्षा परिषद्मा हालसम्म अध्यक्ष भई सेवा पुर्याउनेहरुमा कृष्णप्रसाद ढुङ्गाना, बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ, बद्रीविक्रम थापा, खड्गमान मल्ल र माधव घिमिरे छन्। नेपाली शिक्षा परिषद् राष्ट्रभाषा शिक्षा प्रणालीको निरन्तर प्रयोगबाट वञ्चित हुनुपरेको जस्तो देखिए तापनि अन्य साहित्यिक क्रियाकलापहरुमा सक्रिय नै देखिन्छन्।

२०४० सालमा ‘लेखनाथ जन्मशताब्दी’ समारोहका रुपमा वर्षभरि नै कार्यक्रम सञ्चालन गरे। २०४१ मा ‘सम जयन्ती’ को आरम्भ गरे। २०४१ मा नै परिषद्का संस्थापक गोपाल पाँडे ‘असीम’ को जयन्ती समारोहका रुपमा आयोजना गरे। २०४१ मा शिलान्यास भएको ‘लेखनाथ साहित्य सदन’ २०४६ मा निर्माण पूरा गरे। यसै सालमा नै लेखनाथ सदन, सोह्रखुट्टेमा लेखनाथ पौड्यालको प्रतिमा स्थापना भयो। त्यहीँ साहित्यिक सङ्ग्रहालय पनि बनाए र नेपाली पुस्तकालयको स्थापना पनि गरे। २०४९ देखि गोपाल पाँडे ‘असीम’ पुरस्कारको स्थापना भयो र २०५१ सालदेखि ‘आदिकवि भानुभक्त पुरस्कार’ को पनि स्थापना भएको देखिन्छ। रु. ३०,०००।– र रु. १,२५,०००।– नगदराशीसमेत दिई पुरस्कृत गरिने उक्त सम्मानहरु प्रत्येक वर्ष असार २९ गते र श्रावण ३२ गते कार्यक्रमसहित गरेर वितरण गरिँदै आएको देखिन्छ। पछि गोपाल पाँडेको नाममा ‘गोपाल पाँडे ‘असीम’ उत्कृष्ट नेपाली पुरस्कार, २०५२ सालमा स्थापना भएको देखिन्छ। यसै परिषद्को सक्रियतामा बालकृष्ण समको प्रतिमा, लक्ष्मीप्रसाद देवकोटाको प्रतिमा ल्हासा (तिब्बत) मा स्थापना भएको देखिन्छ। २०५९ मा गोपाल पाँडेको पनि प्रतिमा स्थापना भयो।

जीवित साहित्यकारहरुको अभिनन्दन र सम्मान, दिवंगत स्रष्टाहरुको सम्झनामा कार्यक्रम, महत्वपूर्ण साहित्यकारहरुको नाममा पुरस्कार स्थापना, साहित्यकारहरुको प्रतिमा स्थापना, पुस्तक प्रकाशन, लेखनाथ सङ्ग्रहालयमा पुस्तकालयको व्यवस्थापन गर्ने ऐतिहासिक कार्यहरु गरेर नेपाली शिक्षा परिषद् धन्य भएको छ। हालसम्म ‘आदिकवि भानुभक्त पुरस्कार’ बाट सम्मानित हुनेहरुमा माधवप्रसाद घिमिरे, नयराज पन्त, केशरबहादुर के.सी., यदुनाथ खनाल, डा. तुलसीबहादुर क्षत्री अपतन, मदनमणि दीक्षित, भरतराज मन्थलीय, सत्यमोहन जोशी, डा. स्वामी प्रपन्नाचार्य, धर्मराज थापा, भरतराज पन्त, बालकृष्ण पोखरेल, भानुभक्त पोखरेल, अंगुरबाबा जोशी, कृष्णचन्द्रसिंह प्रधान, राजेश्वर देवकोटा, डा. तारानाथ शर्मा, डा. वासुदेव त्रिपाठी, माधवलाल कर्माचार्य, डा. जगमान गुरुङ, आर.डी. प्रभास चटौत, शिवगोपाल रिसाल, डा. राजेन्द्र विमल छन्।

‘गोपाल पाँडे ‘असीम’ पुरस्कारबाट सम्मानित हुनेहरुमा बालकृष्ण पोखरेल, कमलमणि दीक्षित, धवलागिरि साहित्य प्रतिष्ठान, गोपीनारायण प्रधान (भारत), गोमा उपाध्याय, लोकराम पाँडे, प्रेम छोटा, भवानी घिमिरे, कृष्णप्रसाद पराजुली, डा. हर्षबहादुर बुढामगर, पूर्णप्रकाश नेपाल ‘यात्री’, साहित्यिक पत्रकार संघ, डा. चूडामणि बन्धु, डा. हेमाङ्गराज अधिकारी, भद्रकुमारी घले, अन्तर्राष्ट्रिय साहित्य समाज (अमेरिका), दधिराज सुवेदी, डा. माधवप्रसाद पोखरेल, पद्मराज जोशी, मोहन दुवाल, अच्युतरमण अधिकारी, चितवन साहित्य परिषद्, नगेन्द्रराज शर्मा, आर.सी. रिजाल छन्। साहित्यिक पत्रकारहरुमा भवानी घिमिरे, नगेन्द्रराज शर्मा, मोहन दुवाल, अच्युतरमण अधिकारी सम्मानित भइसकेका छन् र २०७४ श्रावण ३२ गते रोचक घिमिरे सम्मानित हुँदै छन्। राष्ट्रभाषाका अनन्य सेवकहरुको निष्पक्ष मूल्याङ्कन भई सम्मान गरेको पाइन्छ, जुन स्तुत्य र उल्लेखयोग्य छ।
राष्ट्रभाषा साहित्यसेवीप्रति आदर गर्न, राष्ट्रभाषाको प्रचार–प्रसारमा व्यापकता ल्याउन, साहित्य महारथीहरुलाई प्रतिमामा सजाएर सम्मान गर्न, दिवंगत स्रष्टाहरुको परिचय गराउन, ‘राष्ट्रभाषा’ पत्रिकामार्फत साहित्य–गान गाउन, साहित्यसेवामा आफूसक्दो गरिरहन नेपाली शिक्षा परिषद् सधैँ सक्रिय रहेर सेवा गरेको देखिन्छ।

गोपाल पाँडे ‘असीम’ को त्याग, तपस्या र भावनाबाट सिर्जित नेपाली शिक्षा परिषद् नेपालकै साहित्यिक इतिहासमा कुँदिराख्नुपर्ने संस्थाका रुपमा स्थापना भएको इतिहासलाई संरक्षित गर्दै गतिमय बनाउन सक्रिय रहँदै आएकी छिन्– रमा शर्मा। गोपाल पाँडेको बिँडो थाम्दै नयाँ–नयाँ आयाममा संस्थालाई मजबुत तुल्याउन साहित्य–घर निर्माण गरेर, पुरस्कारका लागि २२ सौं लाख नगद अक्षयकोषमा राखेर, नेपाली भाषा–साहित्यको सेवा गर्न तत्पर रहेर रमा शर्मा सक्रिय रहेको देखिन्छ। गोपाल पाँडे र नेपाली शिक्षा परिषद् भनेजस्तै नेपाली शिक्षा परिषद् र रमा शर्मा पर्याय नामजस्तै बन्दै नेपाली शिक्षा परिषद् इतिहास बनिसकेको छ। यसमा गौरवपूर्ण भाषा–साहित्यको नाम जोडिसकेको छ। यसलाई साँच्नु सबै नेपालीहरुको कर्तव्य हुन गएको छ।

LEAVE A REPLY