कमल मिश्र

कवि मोहन दुवाल अथक् साहित्यसेवीको नाम हो। उहाँका २३ थान कृतिहरु प्रकाशित भैसकेका छन। तीमध्ये बालकवितासंग्रह ‘घामका छिर्काहरु’ बाइसौं कृति हो। कविले ठूलाका लागि पुस्तकहरु लेख्दालेख्दै र ‘जनमत साहित्यिक मासिक’को सेवामा अहोरात्र खटिरहेकोले बालकवितासंग्रह प्रकाशित गर्न भ्याउनुभएको थिएन। तर उहाँको बालकविता बेला–बेला पत्रिकामा देख्न पाइन्थ्यो।

सर्वप्रथम मैले बालकवितासंग्रह ‘घामका छिर्काहरु’मा उभिएर हेरेँ। त्यसमा १९ वटा छोटा–मीठा सचित्र कविता रहेछन्। सबै कविता मैले दोहोर्याएर पढेँ, स्वयं बालपाठक बनी। जसमा शीर्षकअनुसारको चित्रले बच्चाको ध्यानाकर्षण गर्न सफल हुन्छ भन्ने मेरो ठम्याइ छ। कविताले बच्चा र बालबालिकालाई ज्ञान दिन भूमिका खेल्छ। पात्रहरु पनि बालदिमागले टिप्न सक्ने खालका छन्। जस्तै– पुतली, कमिला, काग, देश आदि। सरल शब्दमा मानवोचित ज्ञान बाँड्न प्रयत्न गर्नुहुने मोहन दुवालका पुस्तकमा कवि दुवालले लेख्नुभएको छ– ‘बालसाहित्य उत्थान, संवद्र्धन, प्रचारप्रसार गर्ने अभियानमा लागेर नेपाल बालसाहित्य समाजको माध्यमबाट देशको कुनाकाप्चामा लाग्न पाउँदा र त्यस अवसरमा रसास्वादन गर्न पाइएको बालसाहित्यको मर्मले आफूलाई पनि केही बालसाहित्य कोर्ने हौसला र जाँगर खुल्यो।’

कविले बालबालिकालाई यस कवितासंग्रहबाट दूधदेखि क्रमशः ठोस आहार खुवाएझैँ गरी साहित्यिक खुराक दिन खोज्नुभएको छ। बालबालिका घामका छिर्काझैँ छन्। तिनलाई साहित्य जगत्मा पूर्ण प्रकाशझैँ फैलाउन खोज्नुभएको छ। आजका बालबालिकामध्येबाट भोलि धुरन्धर साहित्यकार बन्नको लागि यो पुस्तकले एक साहित्यिक भर्याङको खुड्किलाको काम गर्छ। दुवालका ‘घामका छिर्काहरु’ मा प्रकाशित बालकविताहरुका केही अंशहरु यस्ता छन्–
असल मान्छे बन्न
राम्रो काम गर है।
– मान्छे
झगडा गर्ने बानी हेर
कुकुरको हुन्छ।
– असल बन्न
आज हेर चारैतिर
घाम उदायो।
– घाम उदायो
होस्टे हैंसे गरेर
मिलिजुली खेलौं
– बानी
सबै मिले देश बन्छ
मन्त्र घोकौं ल।
– देशको गीत
यो पुस्तक सानो भए पनि ज्ञानवद्र्धक छ। कवि दुवाललाई हार्दिक बधाई दिँदै अरु बालकृतिको जन्म भैरहोस्। शुभकामना ⁄

LEAVE A REPLY