जापानी रक्षामन्त्री इनादाद्वारा राजीनामा



 

टोक्यो, (एजेन्सी)
जापानको पहिलो महिला प्रधानमन्त्री बन्ने अनुमान गरिएकी तोमोमी इनादाले शुक्रबार रक्षामन्त्री पदबाट राजीनामा दिएकी छिन्। प्रधानमन्त्री सिन्जो आवेको निकै निकट मानिने इनादाले विवादास्पद शान्तिसेना तैनाथीसम्बन्धी संवेदनशील कागजातहरू लुकाएको अभियोग लागेपछि राजीनामा दिएकी हुन्।

उनलाई आवेको राष्ट्रवादी दृष्टिकोणलाई पालना गर्ने व्यक्तिको रूपमा चिनिन्छ। आफ्ना आसेपासेहरूलाई रोजगार मिलाइदिएको अभियोगमा प्रधानमन्त्री आवेले जनमानसमा लोकप्रियता गुमाउँदै गइरहेको अवस्थामा इनादाले राजीनामा दिएकी हुन्।

हुनत आफ्नो छवि सुधार्ने उद्देश्यले आवेले आगामी साता गर्न लागेको मन्त्रिमन्डलको पुनर्गठनमा ५८ वर्षीया इनादा नपर्न सक्ने ठूलो सम्भावना रहेको राजनीतिक विश्लेषकहरूको ठम्याइ रहेको थियो। साउथ सुडानको शान्ति सेना तैनाथ अभियान माथिको विवाद गत डिसेम्बरमा शुरु भएको थियो।

त्यहाँको सुरक्षा स्थिति खराब नरहेको बताइए तापनि रक्षा मन्त्रालयले जुलाई पुनः त्यसतर्फ परिचालन गर्ने शान्ति सेनाको तथ्यांक र कागजात सम्बन्धी विवाद उठेको हो। तर त्यसको दुई महिनापछि रक्षा मन्त्रालयले एउटा कम्प्युटरमा आवश्यक तथ्यांक फेला परेको घोषणा गरेको थियो।

युद्ध विरोधी संविधान भएको जापानमा शुरुदेखि नै शान्ति सेनाको मिसन विवादास्पद रहँदै आएको थियो। जापानी शान्ति सेनाहरू विशेष स्थितिहरू जस्तै युद्ध विराम अनिवार्य रहेको अवस्थामा मात्र खटाइने गरिएको छ। इनादा सन् २०१६ मा रक्षा मन्त्रीमा नियुक्त भएकी हुन्।

उनले एउटा भाषणमा सेनाले मतदाताहरूलाई सत्तारूढ पार्टीलाई समर्थन गराउन चाहेको बताएपछि विवादमा परेकी थिइन्। इनादाले पदबाट राजीनामा दिनासाथ प्रधानमन्त्री आवेले हिजो जनतासँग माफी मागेका थिए।

साथै आवेले अब विदेश मन्त्री फुमियो किसिदाले रक्षा मन्त्रालयको पनि कार्यभार सम्हाल्ने बताएका छन्। लामो समयदेखि सत्तामा रहने क्रममा आवेले राष्ट्रको युद्ध विरोधी संविधानलाई परिवर्तन गरी सेनाको अस्तित्वलाई औपचारिकता दिनुपर्नेमा जोड दिँदै आएका थिए।

प्रतिक्रिया दिनुहोस्