पानामा पेपर्स चुहावट प्रकरण, दोषी ठहरिएपछि सरिफद्वारा पदबाट राजीनामा प्रधानमन्त्रीमा को आउन सक्छ ?



 

इस्लामावाद, (एजेन्सी)
पाकिस्तानको सर्वोच्च अदालतले पानामा पेपर्स चुहावट प्रकरणमा दोषी ठहर्याएपछि प्रधानमन्त्री नवाज सरिफले पदबाट राजीनामा दिएका छन्। उक्त फैसलालगत्तै उनी प्रधानमन्त्री पदका लागि अयोग्य बनेका हुन्।

प्रधानमन्त्री नवाज सरिफ परिवारविरुद्ध ज्ञात स्रोतभन्दा अधिक सम्पत्ति राखेकोमा फैसला हुनुअगाडि नै सत्तारूढ दल मुस्लिम लिग (नवाज) भित्र भविष्यको रणनीतिमाथि महत्त्वपूर्ण निर्णय गरिसकेको छ।

मुस्लिम लिगका सूत्रका अनुसार नवाज सरिफलाई अयोग्य ठहर्याएको अवस्थामा मुस्लिम लिग र सरकारको नेतृत्व कसलाई सुम्पने भन्ने विषयमा सरिफ परिवार र पार्टीका प्रमुख नेताहरूले केही नाम तय गरिसकेको र आवश्यक भएमा घोषणा गरिने छ।

सरिफ परिवारको सम्पत्ति छानबिन गरेको ज्वाइन्ट इन्भेस्टिगेसन टिम (जेआइटी)को प्रतिवेदनमा आफ्नो पिताको कारोबारमा प्रस्ट हिसाब किताब नराखेको कारण नवाज सरिफ कानुनी दायरामा परेका हुन्। तर उनका भाइ शाहबाज सरिफले यो मामिलाबाट सफाइ पाएका छन्।

शाहबाज सरिफको पाकिस्तानी राज्य संयन्त्रसँग आफ्ना दाजुको तुलनामा राम्रो सम्बन्ध रहेको मानिन्छ। परवेज मुसरफले समेट शाहबाज सरिफलाई प्रधानमन्त्री बनाउन जोड गरेको मुस्लिम लिगका नेताहरूमै चर्चा बनेको थियो। उनको राहिल सरिफसँग पनि कुराकानी भइरहने र अहिलेको जनरल कमर जावेद वाजवा पनि उनको प्रत्यक्ष सम्पर्कमा रहेको बताइन्छ। प्रधानमन्त्रीको दाबेदारका रूपमा उनको नाम अगाडि रहेपछि विगतमा शाहबाजले दाजुको अनुमतिबिना प्रधानमन्त्री बन्ने प्रस्तावलाई अस्वीकार गर्दै आइरहेका थिए। अबको स्थितिमा उनको सम्भावना बलियो भनिए पनि शाहबाज नेसनल एसेम्ब्लीको सदस्य नरहनुले तत्कालका लागि प्रधानमन्त्री बन्न योग्य नहुने प्राविधिक समस्या रहेको छ।

नवाज सरिफले आफ्नी छोरी मरियमलाई आफ्नो राजनीतिक उत्तराधिकारीका रूपमा तयार गरिरहेको तर अदालतको पैmसलाले उनलाई पनि दोषी ठहर्याइएकोले उनको सम्भावना पनि न्यून बनेको छ।

अर्का दाबेदारका रूपमा परिवारबाट बाहिर नवाज सरकारमा वित्त मन्त्री इसहाक डार उपप्रधानमन्त्रीको हैसियतमा रहेका थिए। डार, नवाज सरिफका सम्धी हुनुले पनि नजिक मानिन्छन्। नवाज सरिफ आफ्ना सबै उपलब्धिहरूमा इसहाक डारको योगदान रहेको मान्छन्।

त्यसैले पनि सत्तारूढ दलका नेताहरू उनलाई नवाज सरिफको अन्तरिम उत्तराधिकारीका रूपमा हेरिरहेका छन्। तर उनी पनि नेसनल एसेम्ब्लीको सदस्य छैनन्, तर उनी पार्टी प्रमुख बन्न सक्ने अुनमान गरिएको छ।

अर्को प्रमुख दाबेदारमा नेसनल एसेम्ब्लीका सभामुख अयाज सादिक देखिएका छन्। उनी नवाज सरिफका सबैभन्दा विश्वास पात्र मध्येमा पर्छन्। उनी राष्ट्रिय सभामा सरिफप्रति आफ्नो बफादारी देखाउन कहिल्यै चुकेका छैनन्। त्यसैले उनी विपक्षको आलोचनाको निसाना पनि बनिरहे।

अर्का प्रमुख दाबेदारमा नवाज सरिफकै पत्नी बेगम कुलसुम नवाज अगाडि छिन्। तर उनको स्वास्थ्य स्थितिलाई लिएर थुप्रै प्रश्न उठिरहेको अवस्था छ। नवाज सरिफको निर्वासनका क्रममा मुस्लिम लिगका नेताहरू र कार्यकर्ताहरू बीच कुलसुम अत्यन्त सक्रिय र लोकप्रिय थिइन्।

६ महिनाभित्र फैसला दिन आदेश
अदालतले यस मामिलामा ६ महिनाभित्र जवाफदेही अदालतबाट फैसला दिन पनि आदेश दिएको छ। सरिफलाई फैसलालगत्तै प्रधानमन्त्री पद छोड्नु बाध्यकारी थियो। उनलाई स्रोत नखुलेको कालोधन जम्मा गरेको आरोपमा दोषी ठहर्याइएको हो।

सर्वोच्च अदालतमा न्यायाधीशहरू एजाज हसन, एजाज अफजल, सइद सेख, आसिफ सइद खोसा र न्गुलजार अहमद गरी पाँच जना सदस्यको बेन्चले नवाजलाई दोषी ठहर्याइएको हो।
न्यायाधीश खोसा र गुलजारले पानामा प्रकरणमा प्रारम्भिक निर्णयका क्रममा यसअघि नै प्रधानमन्त्री सरिफलाई अयोग्य बताइसकेका थिए। तर बाँकी तीन जना न्यायाधीशले यस मामिलामा थप जाँचको आदेश दिएका थिए। अहिले पाँचैजना न्यायाधीशले एक मतले सरिफलाई दोषी ठहर्याएका हुन्।

सर्वोच्च अदालतको बेन्चले सरिफलगायत उनकी छोरी र ज्वाइँलाई पनि दोषी ठहर्याएको छ। पाकिस्तानको संविधानमा देशको प्रधानमन्त्री स्वच्छ र इमान्दार हुनु कानुनीरूपमा अनिवार्य छ र अदालतको फैसलापछि नवाज सरिफ स्वच्छ र इमानदार रहेनन्। सरिफ तीन पटक पाकिस्तानको प्रधानमन्त्री बनिसके।

यो पैmसलापछि नवाज सरिफ अब अर्को पटक प्रधानमन्त्री बन्न नपाउने भएका छन्। यसअघि परवेज मुसर्रफले सन्य विद्रोह गरी सत्ताच्यूत गरेपछि नवाज सरिफलाई देश छोड्नुपरेको थियो।

विपक्षी पार्टी पाकिस्तान तहरिक ए इन्साफका अध्यक्ष इमरान खान पनामा मुद्दामा याचिका दायर गर्ने मध्येका एक हुन। इमरान खानले विगतका दिनमा सर्वोच्च अदालतसँग यस मामिलामा चाँडै फैसला दिन अपिल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्