७० हजार पर्यटकद्वारा म्याग्दीको भ्रमण



 

प्रताप बानियाँ, म्याग्दी
पर्यटकीय सम्भावना बोकेको पहाडी जिल्ला म्याग्दीमा एक वर्षको अवधिमा झण्डै ७० हजार पर्यटकले म्याग्दी जिल्लाको भ्रमण गरेका छन्। गत आर्थिक वर्ष २०७३⁄७४ को साउनदेखि असार महिनासम्म कुल ६९ हजार ८१६ जनाले भ्रमण गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष २६ हजार बढी बाह्य पर्यटकले जिल्लाको भ्रमण गरेका छन्।

प्रहरीको तथ्यांक अनुसार भ्रमण गर्नेमा पुरुष पर्यटकको संख्या ३७ हजार १७ रहेको छ भने महिलाको ३२ हजार ७९९ रहेको छ। भ्रमण गर्नका लागि जिल्ला भित्रिनेमा कुल ४० हजार ७०६ जना रहेका छन् भने २९ हजार ११० जना बाहिरिएका छन्। २० हजार ४२९ जना पुरुष पर्यटक जिल्ला भित्रिएका छन् भने १६ हजार ५८८ जना बाहिरिएका छन्।

यसैगरी २० हजार २७७ महिला पर्यटक म्याग्दी भित्रिएकोमा १२ हजार ५२२ जना बाहिरिएको प्रहरी कार्यालयको कार्य विशेष शाखाले जानकारी दिएको छ। प्रहरीले उपलब्ध गराएको विवरणअनुसार गत वर्ष सबैभन्दा धेरै कात्तिक महिनामा १० हजार ९३७ र सबैभन्दा कम असारमा २ हजार ५०६ जनाले म्याग्दीको भ्रमण गरेका छन्। अघिल्लो आर्थिक वर्ष २०७२⁄७३ मा कुल ४३ हजार ६३२ पर्यटकले म्याग्दी भ्रमण गरेका थिए। म्याग्दीमा भित्रिने कुल पर्यटकमध्ये करिब ६० देखि ७० प्रतिशतको हाराहारीमा अन्नपूर्ण गाउँपालिकामा पुग्ने गरेको तथ्यांकले देखाउँछ। म्याग्दीको भ्रमणमा अमेरिका, बेलायत, जर्मनी, अष्ट्रेलिया, भारत, दक्षिण कोरिया, चीन, मलेसिया, थाइल्यान्डलगायतका देशका नागरिकहरू आउने गरेका छन्।

जिल्लामा रहेका विभिन्न पर्यटकीय, धार्मिक तथा ऐतिहासिक क्षेत्रको विदेशी पर्यटकहरूले भ्रमण गरेका हुन्। पछिल्लो समय स्वदेशी पर्यटकहरू समेत म्याग्दीको भ्रमणमा आउने गरेको पर्यटन व्यवसायीहरू बताउँछन्। उत्तरी म्याग्दीको भुरुङ–तातोपानी, सदरमुकाम बेनीबजार र पश्चिम म्याग्दीको दरबाङ क्षेत्रको नाका भएर पर्यटकहरू म्याग्दी भित्रिने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिवाकर घिमिरेले बताउनुभयो। कास्कीको घान्द्रुक, हिमालपारीको जिल्ला मुस्ताङ र कतिपय पर्यटकहरू ट्रेकिङ एजेन्सीमार्फत् सिधै हेलिकप्टरको सहायताले जिल्ला भित्रिने गरेको उहाँले जानकारी दिनुभयो।

म्याग्दीको भ्रमणमा आउने अधिकांश पर्यटकहरू घोरेपानी, पुनहिलबाट मनोरम दृश्यावलोकन, खोप्रालेक, महरेडाँडा, राउन्ड धौलागिरि र अन्नपूर्ण पदमार्गमा यात्रा तथा धौलागिरि–अन्नपूर्ण हिमाल आरोहण गर्न आउने गरेका छन्। त्यस्तै भूरुङ–तातोपानीको तातोपानी कुण्डमा स्नान गर्न, पर्यटकीय क्षेत्र टोड्के, राखुभगवतीको रुइसे भेडीओढार, भकिम्लीको स्वर्गाश्रम, धार्मिक क्षेत्र गलेश्वर, पुलहाश्रम, जगन्नाथ एवम् मालिका मन्दिरलगायत अन्य क्षेत्रको दर्शन गर्न र ती ठाउँबाट अन्य ठाउँको अवलोकन गर्न समेत पर्यटकहरू आउने गरेको स्थानीयबासी बताउँछन्।

उता हिमालपारीको जिल्ला मुस्ताङ र प्रसिद्ध मुक्तिनाथ मन्दिर दर्शनका लागि मनाङ र म्याग्दीको बेनी हुँदै हजारौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरूको आवतजावत हुने गर्दछ। भूकम्प र नाकाबन्दीपछि भारतीय पर्यटकको संख्यामा कमी आए पनि आन्तरिक पर्यटक बढिरहेको बेनीका होटल व्यवसायी बाबुराम आचार्यले बताउनुभयो। पछिल्लो समय पर्यटकको उपस्थिति राम्रो रहेको हुँदा पर्यटकीय एवम् धार्मिक क्षेत्रको प्रचारप्रसार गर्न सकेमा जिल्लामा पर्यटक आवागमन बढ्ने र होटल व्यवसाय समेत फस्टाउने उहाँको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्