अन्तिममा घटे पनि बीमाका लगानीकर्तालाई सुखद् साता



 

नेपाल समाचारपत्र
काठमाडौं
आर्थिक वर्ष २०७४⁄७५ को दोस्रो हप्ता पनि लगानीकर्ताका लागि शेयर बजार फलदायी बनेको छ। नयाँ आर्थिक वर्षसँगै नयाँ बजेट, मौद्रिक नीति कार्यान्वयनमा आउनु तथा सरकारले स्थानीय तहलाई पहिलो किस्ता निकासा गर्नु जस्ता गतिविधिले शेयर बजारलाई साथ दिएको छ।

ब्रोकरले मार्जिन कर्जा वितरण गर्न सक्ने व्यवस्था, निःशुल्क आस्बा, सहज तथा छिटो बाँडफाँडको व्यवस्थाले अघिल्लो सातामा आएको सकारात्मक भाइवले निरन्तरता पाएको छ। बैंक तथा वित्तीय संस्थाले गत आवको वार्षिक प्रतिवेदन प्रकाशन गर्न शुरु गरेका छन्। तसर्थ, लगानीकर्ता राम्रो लाभांश दिने कम्पनीतर्फ लगानी आकर्षित हुने पक्का छ। तर, अपेक्षाकृत रुपमा यसको प्रभाव बजारमा देखिएन।

साताभर बीमा कम्पनीका कारोबार उच्च रहे पनि साताको अन्तिम दिन भने यो समूहमा करेक्सन देखियो। सो अवधिमा उच्च कारोबार गर्ने १० मध्ये ८ वटा बीमा कम्पनी रहे। बीमा कम्पनीहरूले हकप्रद र बोनसमार्फत् आफ्नो चुक्ता पुँजी वृद्धि गर्ने योजना बीमा समितिमा पेस गरेको खबर सार्वजनिक भएपछि लगानीकर्ता बीमा कम्पनीतर्फ आकर्षित भएका थिए। बीमा समितिले पुँजी वृद्धिको योजना माग गर्दा अधिकांशले हकप्रद र बोनस वितरण गर्ने प्रस्ताव पेश गरेका हुन्।
साताको पहिलो चार दिन सकारात्मक देखिए पनि बीमा समूहमा बिहीबार भने सामान्य करेक्सन देखिएको थियो। यस हिसाबले अबका दिनमा पनि बीमा कमपनीको परिसूचक सोही गतिमा अगाडि बढ्नेमा सरोकारवालाको मनमा प्रश्न उठेको छ।

त्यस्तै नयाँ मौद्रिक नीति र बजेटले उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राखेपछि उत्पादन मूलक समूहले पनि उल्लेखनीय सुधार हासिल गरे। चुनावी माहोलपछि बजारमा लगानीयोग्य तरलताको अभाव नहुँदा सबै समूहमा सुधार आएको जानकारहरूको बुझाइ छ।

साताको पहिलो दूई दिन बजार ओरालो लागे पनि त्यसपछि बजारमा सुधार आयो। तसर्थ, आउने दिनमा पनि बजार यही गतिमा बढ्ला भन्ने अपेक्षा गर्न सकिन्छ।

यस साता पाँचै दिन कारोबार भएको बजारमा नेप्से परिसूचक १० दशमलव ७८ अंकले बढेको थियो। यस साता १ हजार ६ सय ३५ दशमलव ३७ अंकबाट शुरु भएर १ हजार ६ सय ४६ दशमलव ५३ को अंकमा आएर रोकियो। अघिल्लो साता बजार परिसूचक ५३ दशमलव शून्य ८ अंकले बढेको थियो।

यस साता बजारमा १ सय ७० कम्पनीका ९० लाख ५८ हजार ७० कित्ता शेयर ५ अर्ब ५३ करोड १८ लाख ६६ हजार रुपियाँमा कारोबार भए। कारोबार रकम अघिल्लो साताको तुलनामा १६ दशमलव ७५ प्रतिशत बढी हो। अघिल्लो साता बजारमा ४ अर्ब ७३ करोड ८२ लाख ७६ हजार रुपियाँ बराबरको कारोबार भएको थियो। त्यसक्रममा ८७ लाख ५३ हजार ८ सय ८० कित्तँ शेयर किनबेच भएका थिए।

सातभरि कूल ४३ हजार ३ सय ६८ कारोबार भएका थिए। यस साता शेयर बजारमा पहिलो दुई दिन क्रमशः गिरावट आएको थियो। आइतबार बजार परिसूचक शून्य दशमलव १९ अंकले घटेको थियो भने सोमबार पनि ६ दशमलव ४८ अंकको गिरावट आएको थियो। तर, मंगलबार, बुधबार र बिहीबार भने परिसूचक क्रमशः ७ दशमलव ११, ८ दशमलव ८४ र १ दशमलव ५ अंकले बढ्दै बजार थेगेको हो।

कारोबारमा आएका ९ समूहमध्ये ६ समूहका परिसूचकमा सुधार आए। सुधार आउनेमध्ये सबैभन्दा धेरै बीमा समूहको परिसूचकमा ६ सय ४४ दशमलव ४४ अंकको सुधार आयो। त्यस्तै उत्पादनमुलक समूह, विकास बैंक, वित्त र होटल समूहका परिसूचकमा क्रमशः २ सय २६ दशमलव १३, ३८ दशमलव ३, १३ दशमलव ८७ र १३ दशमलव ७७ अंकले बढे। नयाँ वर्षयता पहिलोपटक करोबारमा आएको व्यापार समूह पनि १ दशमलव ३५ अंकले बढ्यो।
यस साता गत आवको वार्षिक प्रतिवेदन सार्वजनिक गर्ने क्रममा रहेका बैंकिङ समूह, जलविद्युत् र अन्य समूहमा भने गिरावट आए। ती समूहका परिसूचक क्रमशः २९ दशमलव ३१, ११ दशमलव २३ र ३ दशमलव १८ अंकले ओरालो लाग्यो।

कारोबार रकमको आधारमा यस साता प्रभु इन्स्योरेन्स अग्रस्थानमा रह्यो। कम्पनीको कुल २७ करोड ७८ लाख ५० हजार रुपियाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २४ करोड ९२ लाख रुपियाँ, राष्ट्रिय बीमा कम्पनी लिमिटेडका संस्थापक शेयरको २१ करोड ३० लाख रुपियाँ, नेपाल इन्स्योरेन्स कम्पनी कम्पनीको १८ करोड ४६ लाख रुपियाँ र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी कम्पनीको १५ करोड ४५ लाख रुपियाँ बराबरको शेयर कारोबार भएका थिए।

कारोबार भएको शेयर संख्याको आधारमा नेसनल हाइड्रोपावर कम्पनीले शीर्ष स्थान ओगटेको छ। यस साता कम्पनीका ८ लाख ६४ हजार कित्ता शेयर कारोवार भए। त्यसैगरी कारोबार संख्याको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रह्यो छ। कम्पनीका कुल ३ हजार २ सय ५ वटा कारोबार भएका थिए।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँचै दिन खुला रह्यो। साथै ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरूको कुनै पनि कारोबार भएन। यस्तै ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक अघिल्लो साताको तुलनामा १ दशमलव २२ अंकले घटेर ३ सय ४६ दशमलव २३ अंकमा आइपुगेको छ।

साताभरि ९ कम्पनीका शेयर नेप्सेमा सूचीकृत भए। नेप्सेमा लक्ष्मी इक्विटी फन्डको १२ करँेड ५० लाख कित्ता, छ्याङ्दी हाइड्रोपावरको २७ लाख कित्ता साधारण शेयर नेप्सेमा सूचीकृतभए। त्यस्तै सूचीकृत हुने हकप्रद शेयरमा नेपाल बंगलादेश बैंकका ३ करोड २२ लाख ७३ हजार ३ दशमलव ८ कित्ता, नेपाल बैंकका १ करोड ५४ लाख ३१ हजार ८ सय ४० कित्ता र लक्ष्मी बैंकका ५६ लाख ८६ हजार ४ सय ३० कित्ता रहेका छन्। नेरुडे लघुवित्त विकास बैंकका ३ लाख ६० हजार कित्ता, सांग्रिला डेभलपमेन्ट बैंकका १७ लाख २५ हजार २ सय कित्ता, महाकाली विकास बैंकका १ लाख ३७ हजार ६ सय ६२ दशमलव २ कित्ता र भार्गव विकास बैंकका २ लख ४० हजार कित्ता बोनस शेयर पनि नेप्सेमा सूचीकृत भएको छ।
यसैबीच नेपाल धितोपत्र बोर्डले बोर्डमा रहेको लगानीयोग्य रकमलाई नेपालका ‘क’ वर्गका मुद्दती खातामा लगानी गर्ने भएको छ। यसका लागि नेपाल धितोपत्र लगानी सम्बन्धी नीति, २०६७ को अधिनमा इच्छुक बैंकलाई नीति बमोजिम योग्यता खुल्ने आवश्यक कागजातसहित शिलबन्दी प्रस्ताव दर्ता गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्