निर्देशनसँगै अभिनय पनि गर्छुः झरना थापा



 

फिल्म दाइजोबाट फिल्ममा डेब्यु गरेकी नायिका झरना थापा धर्म संकट, जीवनसाथी, दुःखसुख, मुग्लान, म तिमीविना मरी हाल्छुगायत दर्जनौं फिल्ममार्फत् दुई दशक अघिदेखि नेपाली फिल्म अभिनयमा बिताएपछि आफ्नै होम प्रोडक्सनमा बनेको फिल्म ए मेरो हजुर २ बाट फिल्म निर्देशनमा समेत डेब्यु गरेकी छिन्। अभिनयबाट दर्शको मन जित्न सफल उनको डेब्यु निर्देशनमा बनेको फिल्म ए मेरो हजुर २ को ट्रेलर युट्युबमा निकै मन पराइएको छ। आगामी भाद्र १६ मा रिलिज हुने उनको यो फिल्मले भने दर्शकको साथ कतिको पाउने हो त्यो भने फिल्म हलमा नलागेसम्म पर्खनुपर्छ। उनै नायिकासँग ५ प्रश्न यहाँ प्रस्तुत छः
रश्मी थापा

कलाकारिताबाट निर्देशनमा किन आउनुभयो ?

दुई दशकदेखि नेपाली फिल्ममा कलाकारीता गर्दै आएको छु। तर सधै समय एउटै हुँदैन र सधैं एउटै काममा मात्र रहेर पनि हुँदैन। यत्रो समय नायिका या कलाकारका रूपमा फिल्ममा बिताएपछि दर्शक र नेपाली सिनेमा क्षेत्रलाई केही नयाँ गरेर देखाऊँ र अर्को विधाबाट पनि यो क्षेत्रमा केही योगदान गरौं भनेर निर्देशनमा आएको हुँ। कलाकार झरनालाई जस्तै गरी दर्शकले निर्देशक झरनालाई पनि साथ दिनुहुनेछ भन्ने विश्वास गरेकी छु।

कलाकारिता गर्न कठिन रहेछ कि निर्देशन गर्न ?

पक्कै पनि कलाकारिता भन्दा निर्देशन कठिन कार्य हो। यसको मतलब कलाकारिता सजिलो छ भनेको चाहिँ होइन। म जुन बेला कलाकार भएर कसैको प्रोजेक्टमा काम गरिरहेको हुन्छु, त्यो बेला मलाई केवल आफ्नो कामको मात्र ध्यान हुन्थ्यो। सुटिङ स्पटमा म आरामले छाता ओढेर बस्थेँ। अरू कुनै पनि कुराको बारेमा मैले सोच्नु पर्दैनथ्यो। त्यो जरुरी नै हुँदैन थियो। सेटमा गयो, आफ्नो काम गर्यो फक्र्यो बस। तर निर्देशन गर्न त्यति सजिलो छैन। निर्देशक भइसकेपछि आफ्नो कामसँगै अन्य कुराको बारेमा पनि सोच्नुपर्छ। निर्देशक भएपछि धेरै कुराको जिम्मेवारी बहन गर्नुपर्छ। फिल्मको सम्पूर्ण व्यवस्था आफैंले हेर्नुपर्छ। कहाँ के भइरहेको छ, सबै जनाले खाना खाए कि खाएनन्लगायत अन्य विभिन्न कुराहरू आफूले ख्याल राख्नुपर्ने भएकाले कलाकारिता गर्नुभन्दा निर्देशक बन्नु कठिन काम हो।

तपाईं महिला निर्देशक भएकै कारण फिल्म निर्देशनका क्रममा केही कठिनाइ भोग्नुभयो ?

कुनै पनि काम गर्दा महिला र पुरुष भएर केही फरक पर्दैन। मैले कहिले पनि काम गर्दा म महिला हुँ भन्ने भावनाले गरिनँ। केवल म निर्देशक हँु भनेर काम गरेँ। कुनै पनि काम गर्दा आफ्नो मेहनत र परिश्रम देखाउने हो। बरु काममा महिला र पुरुष हैन मेहनतले फरक पार्ने हो। मेरो फिल्मको सबै कलाकार तथा श्रीमान् सुनिलकुमार थापाले निकै साथ दिनुभयो। यस कारण मलाई फिल्म निर्देशनका क्रममा महिला भएकै कारण त्यस्तो कुनै कठिनाइ भएन। सबैको सहयोग र साथ पाएँ। यसले मलाई थप उत्साहित पनि बनाएको छ।

आफ्नो होम प्रोडक्सनबाहेक अन्य फिल्म पनि निर्देशन गर्नुहुन्छ ?

गर्छु, अन्य फिल्महरूमा पनि कुरा आइरहेको छ। केही समय पछाडि फिल्म फ्लोरमा जाँदै छ। त्यसको तयारीमा छु। निर्देशन विधामा आइसकेपछि आफ्नै होम प्रोडक्सनको मात्र फिल्म गर्छु भनेर पनि हुँदैन।

अब कलाकारितामा फर्किनुहुन्छ कि हुन्न ?

अवश्य पनि फर्किन्छु। म कलाकारिताबाट संन्यास नै लिएर निर्देशनमा गएको होइन। निर्देशनसँगै कलाकारितालाई पनि अगाडि बढाउँछु। फिल्मका लागि कुरा त आइरहन्छन्। राम्रो खालको कथा र विषयवस्तु भएको फिल्ममा हेरेर मात्र खेल्छु। हुन त मैले धेरै किसिमको क्यारेक्टरमा अभिनय गरिसकेको छु। कस्तो क्यारेक्टरमा खेल्छु, त्यो त मैले सोचेको छैन।

प्रतिक्रिया दिनुहोस्