सरिफद्वारा राजीनामा



 

इस्लामावाद, (एजेन्सी)
पाकिस्तानको सर्वोच्च अदालतद्वारा शुक्रबार अयोग्य घोषित भएपछि पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। उहाँले शुक्रबार साँझ नै प्रधानमन्त्रीको सरकारी निवास छोड्नुभएको छ। अदालतको आदेशप्रति रिजर्भेसन रहे पनि आफूले आदेश मान्ने सरिफले प्रतिक्रिया दिनुभएको उहाँका सहयोगीले बताएका छन्।

सर्वोच्च अदालतले शुक्रबार प्रधानमन्त्री सरिफमाथि लामो समयदेखि चर्चामा आइरहेको भ्रष्टाचार आरोपलाई लिएर प्रधानमन्त्रीका रूपमा रहिरहन अयोग्य घोषणा गरेको थियो।

न्यायाधीश एजाज अफताल खानसहित ५ जनाको संयुक्त इजलासले शुक्रबार अदालतमा जम्मा भीडका बीच भनेको थियो– ‘उहाँ संसद्को सदस्यका रूपमा रहिरहन अयोग्य बन्नुभएको छ। त्यसैले उहाँले प्रधानमन्त्रीको कार्यालयमा रहने हैसियत पनि रहने छैन।’

अदालतले राष्ट्रिय भ्रष्टाचारविरुद्धको विभागलाई आरोपबारे सरिफको मुद्दामा थप अनुसन्धान जारी राख्न पनि आग्रह गरेको छ। प्रधानमन्त्री सरिफलाई गत वर्ष पानामा पेपर्समा सार्वजनिक भएको सूचनाअनुसार लाभप्रद व्यवसायमा समुद्रपारमा परिवारको संलग्नतामा लगानी गरेको प्रमुख आरोप लागेको छ।
पाकिस्तानको ७० वर्षको इतिहासमा सरिफ अदालतद्वारा अयोग्य घोषित हुने दोस्रो बहालवाला प्रधानमन्त्री हुनुभएको छ।

अदालतले सन् २०१२ मा तत्कालीन प्रधानमन्त्री युसुफ राजा गिलानीलाई पनि सत्ताको नेतृत्व सम्हालेकै समयमा तत्कालिन बहालवाला राष्ट्रपति असिफ अली जर्दारीविरुद्ध भ्रष्टाचार आरोप चलाउन नमानी अदालतको मानहानी गरेको आरोपमा अयोग्य घोषणा गरेको थियो। अब पाकिस्तानमा को प्रधानमन्त्री बन्छ भन्ने कुरा तय भइसकेको छैन।

प्रतिक्रिया दिनुहोस्