१ हजार बढीद्वारा नाम दर्ता



 

नेपाल समाचारपत्र
जाजरकोट
जाजरकोटमा फोटोसहितको मतदाता नामावलीमा १ हजार ८ जनाले आफ्नो नाम दर्ता गराएका छन्। जिल्ला निर्वाचन कार्यालय जाजरकोटमा दैनिक मतदाता नामवलीमा नाम दर्ता गराउनेको भीड लाग्ने गरेको छ। यसअघि फोटोसहितको नामावलीमा नाम छुटेर भोट हाल्न नपाएका जाजरकोटका मतदाताहरू केही दिन यता मात्रै प्रत्येक दिनमा नामावलीमा निर्वाचन कार्यालयमा १ सय ५० बढी आउँदा दैनिक भीड लाग्ने गरेको हो।

सदरमुकाम समेत रहेको भेरी नगरपालिकाबाट मात्रै दैनिक १ सय बढी मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न कार्यालयमा आउने गरेको जिल्ला निर्वाचन कार्यालय जाजरकोटका प्रमुख हरिबहादुर बुढाथोकीले बताए। मतादाता नामावलीमा नाम दर्ता गराउनका लागि बिहीबारसम्म १ हजार ८ जनाले नाम दर्ता गराएको बुढाथोकीले जनाकारी दिए। बुढाथोकीका अनुसार ५ सय ८६ महिला र ४ सय २२ पुरुषले नाम दर्ता गराएका छन्। साथै उक्त अवधिमा जिल्लाका विभिन्न गाउँ तथा नगरपालिकाका ४८ जना मतदाताले नामावलीमा भएको त्रुटि सच्याउन र बसाइसराइँ तथा विवाह भएर ठेगाना परिवर्तन भएकाले मतदाताको ठेगाना परिवर्तनका लागि निवेदन दिएको प्रमुख बुढाथोकीले बताए।
छुटेका फोटोसहितको मतदाता नामावली संकलन गर्नका लागि यही साउन १६ देखि ३२ गतेसम्म जिल्लाका ७ वटै स्थानीय तहमा फोटोसहितको मतदाता नामावली संकलनका लागि डेस्क स्थापना गरिने जिल्ला निर्वाचन कार्यालय जाजरकोटले जनाएको छ।

जाजरकोटका ७ वटै स्थानीय तहमा फोटोसहितको मतदाता नामावली सूचीकृत गर्नेहरूको संख्या ७८ हजार ९ सय ५४ जना रहेको छ। जसमा ३६ हजार ५ सय ४३ महिला र ४२ हजार ४ सय १० पुरुषको संख्या रहेको छ भने १ जना तेस्रो लिंगी रहेका छन्।

प्रतिक्रिया दिनुहोस्