दुई घण्टामै ३० बढी मोटरसाइकल कारबाहीमा



 

सीताराम चौधरी, चन्द्रौटा
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले शुक्रबारदेखि थालेको सादा पोसाक अप्रेसनसँगै ट्राफिक नियम उल्लंघन गर्ने सवारी धमाधम कारबाहीमा पर्न थालेका छन्।

ट्राफिक नियमको ज्ञान भएर पनि लापरबाही गर्ने र ट्राफिक प्रहरीलाई नटेर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न एकमहिने अभियानसँगै ट्राफिकले सादा पोसाक अप्रेसन थालेको हो। अप्रेसनका क्रममा शुक्रबार बिहान दुई घण्टामै ३० बढी मोटरसाइकल कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी निरीक्षक अमरबहादुर कार्कीले जानकारी दिनुभयो। ट्राफिक नियमको उल्लंघन गर्ने चालकलाई नियन्त्रणमा लिई कारबाहीको दायरामा ल्याउने र सहज ट्राफिक व्यवस्थापनद्वारा सवारी दुर्घटनामा कमी ल्याउन अप्रेसन शुरू गरिएको ट्राफिक प्रहरी निरीक्षक कार्कीले बताउनुभयो।

जिल्लाका विभिन्न स्थानमा सादा पोसाकमा ट्राफिक प्रहरी परिचालन गरिएको छ। ‘यस अप्रेसनमा सादा पोशाकमा खटिएका ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई रोक्ने गर्छन् र उनीहरूको सम्बन्धित कागजात तथा सवारीसाधन समेत नियन्त्रणमा लिई जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगेमा ल्याइन्छ’, प्रहरी निरीक्षक कार्कीले बताउनुभयो– ‘कारबाहीमा परेका सवारी चालकहरूलाई अडियो तथा भिडियोसमेतको ट्राफिक सचेतना कक्षापश्चात नियमानुसारको जरिवाना गरी छाडिन्छ।’

विशेष गरी हेलमेट नलगाउने र तीन जना चढाउने मोटरसाइकलमा केन्द्रित रही अप्रेसन सञ्चालन गरिएको ट्राफिक प्रहरी निरीक्षक कार्कीको भनाइ छ। शुक्रबार बिहान बुद्धभूमि नगरपालिकाको बुड्ढी चोकमा सञ्चालन गरिएको सादा पोसाक अप्रेसनमा मात्र ३० बढी मोटरसाइकल आवश्यक कारबाहीका लागि नियन्त्रणमा लिइएको ट्राफिक प्रहरी कार्कीले जनाउनुभयो।

‘स्लो डाउन सेभ लाइफ’ भन्ने मूल नाराका साथ गत असार २५ गतेदेखि जिल्ला ट्राफिक प्रहरीले एकमहिने ट्राफिक सचेतना अभियान सञ्चालन गरेको हो। अभियानका क्रममा जिल्लाका विभिन्न स्थानमा ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। ट्राफिकले बुद्धभूमि १०, बिजगौरीमा ट्राफिक सचेतनामूलक भिडियो प्रदर्शन गरेको थियो। जसमा झन्डै २ सय स्थानीयको उपस्थिति रहेको ट्राफिकले जनाएको छ।

चालक र सहचालकलाई लक्षित गरी ट्राफिकले वाणगंगा नगरपालिका चार नम्बर जितपुर चोकमा ट्राफिक जनचेतनामूलक प्रशिक्षण सम्पन्न गरेको जनाएको छ। जसमा बुटवल यातायात समिति, लुम्बिनी ई–रिक्सा समिति, नेपाल किसान ट्याक्टर समितिका एक सय बढी चालक र सहचालकको सहभागिता रहेको ट्राफिक प्रहरी निरीक्षक कार्कीले बताउनुभयो। ट्राफिक सचेतना अभिवृद्धि गरी दुर्घटना न्यूनीकरण गर्न चालक र सहचालकलाई प्रशिक्षण दिइएको उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्