अस्पताल ल्याउँदै गर्दा बाटोमै मर्छन् बिरामी



 

वीरबहादुर बम, गमगढी
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिकामा भरपर्दो यातायात तथा सुरक्षा व्यवस्था नहुँदा जिल्ला अस्पताल पुग्न २ दिन लाग्ने गरेको छ। जटिल समस्या भएका बिरामीको उपचार गर्न जिल्ला अस्पताल ल्याउँदै गर्दा उपचार नै नपाई बाटोमै ज्यान जाने गरेको छ।

हप्ता दिनमै बीच बाटोमै मर्नेको संख्या ३ पुगेको छ। सोरु गाउँपालिका–६ का ३२ वर्षीय हर्क लावडको पेट दुखेपछि उपचार गर्न ६ दिन अगाडि जिल्ला अस्पताल ल्याउँदै गर्दा र सोही गाउँपालिका–२ का हिम्मतनाथ योगीलाई शरीरमा देखा परेको घाउखटिराको उपचार गर्न जिल्ला अस्पताल गमगढी ल्याउँदै गर्दा बुधबार मात्र बाटोमै ज्यान गएको हो भने वडा नं. ९ का सिद्ध जैसीको पनि पेटको बिरामले थला परेपछि उपचारका लागि घरबाट लाँदै गर्दा बीच बाटोमै मृत्यु भएको हो।

ज्यान गुमाएका सबै जनाको घरपरिवारले आफ्नो गाउँमा रहेको स्वास्थ्यचौकीमा रोग निको पार्ने औषधि र स्वास्थ्यकर्मी नभएको गुनासो गरे।
सोरु गाउँपालिकामा रहेको इलाका स्वास्थ्य चौकीसमेत करार अनमीको भरमा हुँदा बिरामीले उचित उपचार पाउन नसकेका करार स्वास्थ्यकर्मी नै बताउँछन्। सरकारी स्वास्थ्य चौकीमा भरपर्दो उपचार नपाएपछि अधिकांशले सोरुकोटमा रहेको जे.एन.आयु मेडिकलमा उपचार गराउने गर्दछन्। स्थानीय मेडिकलले उपचार हुने सम्भावना नदेखेपछि केही दिन अगाडि जिल्ला अस्पताल लिन सल्लाह दिएपछि बीच बाटोमै १२ वर्षीया छोरा हिक्मतको मृत्यु भएको आमा हदेली योगीले बताइन् योगीका अनुसार आर्थिक अभावले बिरामी परेका आफ्ना ४५ वर्षीय दलनाथ योगीलाई सदरमुकाममा रहेको जिल्ला अस्पतालसम्म उपचार गर्न लिन नसक्दा ६ महिना अगाडि अकालमै ज्यान गयो। छोराको गाउँमा रहेका स्वास्थ्य संस्थामा उपचार नभएकाले जिल्ला अस्पातल लिँदालिँदै ज्यान गएको उनले गुनासो पोखेकी छन्।

सोरु गाउँपालिकाको ११ वटै वडामा स्वास्थ्य चौकी छन् सबै स्वास्थ्य चौकीमा १ जना एचएसहित करारमा अन्य दुई स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ तर जिल्ला स्वास्थ्य कार्यालयको तालिम र गोष्ठीले प्रायः स्वास्थ्यकर्मी जिल्ला सदरमुकाममै बस्ने गरेकाले सामान्य बिरामी हुँदा यहाँका सर्वसाधारण निजी मेडिकलको भरमा उपचार गराउँदै आएका छन्। मेडिकलमा हुन सक्ने उपचार गर्ने र उपचार हुन नसकेकालाई जिल्ला अस्पतालमा रिफर गर्ने गरेको मेडिकल सञ्चालक धीरेन्द्र शाहीले बताए।

गाउँमा भएका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नबस्ने कुनै दिन बसेका भए पनि औषधि अभाव हुँदै आएकाले सामान्य बिरामीले बेलैमा उपचार नपाउँदा अकालमै ज्यान गएको सोरु गाउँपालिका–६ का टक्कबहादुर शाहीले बताए। स्थानीय मेडिकलमा उपचार हुन नसकेपछि दुई दिन हिँडेर जिल्ला अस्पताल वा गमगढी बजारमा रहेका मेडिकलमा आउनुपर्ने बाध्यता रहेको छ भने आयस्रोत भएकाहरू उपचारका लागि काठमाडौं, नेपालगन्ज र भारतको लखनउसम्म पुग्छन्।
उता जिल्ला अस्पताल मुगुका डा. जितेन्द्र कट्टेलले जिल्लाभर कार्यरत दरबन्दीअनुसार स्वास्थ्य चौकीमा पठाइएको, अत्यावश्यक तालिम र गोष्ठीमा मात्र बोलाउने गरेको तथा जिल्लामा प्राप्त भएसम्मका औषधि दुर्गमका स्वास्थ्य चौकीमा पठाउने गरेको बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्