नाममा विशेषण



कमल ढकाल

जीवनमा कहिलेकाहीं बाटो देखिएन भने धेरै टाढा हेर्नु बेकार छ। हिँड्दै जाँदा बाटो आफैं बनेर आउँछ। यही वाक्यसँग मिल्दो गरी मार्क टेवेनले भनेका छन्– ‘अगाडि जाने सेक्रेट कुरा भनेको अगाडि जान शुरू गरिहाल्नु हो।’ मान्छेको जीवनमा समस्या आउँछ कहाँ जाने के गर्ने भन्ने। थाहै भएन भने पनि अगाडि देखिएको काम गर्दै जाँदा जीवनको बाटो खुल्दै जान्छ।

भौगोलिक विकटताले घेरिएको हाम्रो मुलुकमा आजभन्दा ४० वर्ष अगाडिको विकट हेलम्बु सेर्माथांगको कुरा लेख्न खोज्दै छु। त्यही चालीस वर्ष अगाडि जन्मेका निमा लाम ह्यल्मोसँगको कुराकानीअनुसार। माथि भनिएजस्तै पढ्नदेखि जीवनमा अगाडि बढ्न पनि गाह्रो ठाउँ थियो हेलम्बुमा। निमाविबाहेक स्कुल थिएन। गाउँकै ज्योति निमाविमा तीन कक्षासम्म पढिसेकपछि गाउँमा अंग्रेजी पढाउने स्कुल आयो। यांग्रिमा बोर्डिङ स्कुल। तीन पढेका निमा फेरि यूकेजीमा भर्ना भए। १२ वर्षका निमाको कक्षामा १५ वर्षमा मान्छे पनि अंग्रेजी सिक्न यूकेजीमा भर्ना भए। यूकेजीदेखि तीन कक्षासम्म यांग्रिमामा पढेपछि उनी पाँच कक्षामा ज्योति निमावि गए। सातसम्म त्यहीं पढे।

त्यति बेला विकट गाउँमा जाँदा शिक्षकहरूलाई भत्ता आउने भएर राजविराजका शिक्षक हेलम्बु आउँथे। मैथली बोल्न शिक्षकले नेपाली पढाउँदा उनले बुझ्दै बुझेनन्। यांग्रिमाको अंग्रेजी, जनकपुरको मैथली र अलिक हिन्दी लवज, हेलम्बुको स्थानीय भाषा ह्योल्मो र नेपाली राष्ट्रिय भाषाको खिचडीले नेपालीमा फेल भए निमा। सातसम्म गाउँमा स्कुल पढेपछि प्रायःको पढाइ बिट मथ्र्याे। निमा पढ्न चाहन्थे। त्यसैले उनी ग्याल्थुमको सरस्वति मावि गए। चनौटेमा डेरा बसेर पढ्न थाले। घर र स्कुलको दूरी छ घन्टाको थियो। दिनहुँ छ घन्टा हिँड्न सक्ने कुरा पनि भएन। २०४९ सालमा एसएलसी पास गरेपछि गाउँमै टेलिफोन अपरेटर बने। दुई वर्षपछि त्यो काम पनि झ्याउ लाग्यो र छाडे।

बाबु चेंगा लामा राजधानीमा काठको काम गर्थे। उनी काठको काम गर्न आए। महाराजगन्जमा त्यही समयमा इँटा डिपोमा काम गरे। काठको काम गर्दा गर्दै उनको आङ किन्जीसँग अफेयर चल्यो बिहेवारी भयो। २०५४ सालमा भएको विवाहको प्रमाणपत्र छोरो छिरिङ २०५५ सालमै आयो। छोरी छिमी र कान्छो छोरो सोनामसहित उनले तीन प्रमाणपत्र लिइसकेका छन् विवाहको।

बिग्रनलाई धेरै कुरा छन् सप्रनलाई एकै संकल्प काफी छ। निमा बिग्रन खोजेनन्। सप्रने संकल्प गरिरहे। इँटा डिपोमा काम गर्दागर्दै डेनमार्कको ब्रेन्डुप फल्क स्कुलमा कोर्स गर्न गए। डेनिसले आफ्नो राष्ट्रिय झन्डालाई गरेको प्रेम देखेर उनको राष्ट्रियता जाग्यो। डेनिसले भन्ने रहेछन् हाम्रो झन्डा आकाशबाट झरेको हो। जहाँ पनि झन्डा राखेर काम गर्ने उनीहरूको राष्ट्रियताले निमालाई आफ्नो राष्ट्रियता सम्झायो। उनी गाउँ फर्केर आफू पढेकै स्कुलमा अंग्रेजी मिडियममा पढाउने अठोट गरे। आएको १५ दिनमै गाउँ गए। बोर्डिङको एकाउन्टेन्ट हुँदै डाइरेक्टर भए।

आफू ताक्छ मुढो बन्चरो ताक्छ घँुडो भइसेकेको थियो नेपालमा। माओवादी द्वन्द्वले आक्रान्त पारेको हेलम्बुमा शुरूमा अंग्रेजी र संस्कृत पढाउन बन्द गराए माओवादीले। राष्ट्रिय गान हटाउन लगाए। पैसा मागेर हैरान गर्दागर्दै उनीहरूले बच्चालाई अर्काे कोठामा थुनेर बम पड्काइदिए। ब्रिटिसको सहयोगमा चलेको र ब्रिटिसहरू आएर भोलेन्टर गर्ने स्कुल बन्द भयो। निमालाई सुरक्षा थ्रेट र पैसाको माग आउन थालेपछि उनी पनि लन्डन गए। १८ महिना पढे। फेरि देश फर्के। सबैले उनलाई यहीं बसभन्दा निमा अरूको देशमा शरणार्थी भन्दा आफ्नै देश बनाउन पर्छ भनेर फर्के।

अप्ठेरो समयमा अप्ठेरो काम गर्ने निमाले फाइभ स्टार होटेललाई थ्री स्टारको दरमा चलाएको त्यो समयमा सोसियल टुर्स नामक टुर्समा काम गर्न थाले। आदिवासी जनजाति महासंघको सचिव भएर काम गर्न थाले। जे काम गरे पनि उनलाई आफ्नो टोलको नाम छेर्मा (काँडा) थांग (चौर) काँडाको चौर काँडाकै चौरमा फर्केला भन्ने चिन्ता भइरहन्थ्यो। देशमा शान्ति फर्केपछि गाउँमै स्कुल परियोजनामा लागे। अहिले आफू पढेकै स्कुल यांग्रिमा माविले आठ ब्याच एसएलसी दिइसकेको छ।

सरकारलाई गाली नगर्ने आफूले खुरुखुरु काम गर्ने कुरा उनले डेनमार्कबाट सिके। देशप्रेम नर्वेबाट सिके। आज किन अँध्यारो छ भोलि उज्यालो हुनलाई त हो भन्ने कुरा हजुरबाबाट सिके। आफ्नो देशमा भ्रष्टाचार भयो नेताले काम गरेनन् भन्दा तिम्रो देशमा कति भयो प्रजातन्त्र आएको भनेर डेनिसले सोधेथे। उनले भर्खरै हो भन्दा हामीका एक शताब्दि भयो अझै त सिस्टम बन्दै छ तिमी बेबी डेमोक्रेसीबाट के आश गर्छाै पख यसलाई छिप्पिन देऊ भनेको कुरा उनलाई चित्त बुझ्यो। त्यसैले उनी गाली हैन काममा जोड दिन थाले। निमाले च्यारिटी एक्सपिडिसन नेपाल नामको संस्थाबाट हरेक वर्ष तीनदेखि पाँच सय पर्यटन ल्याई गाउँमा लैजान्छन्। पर्यटकहरूले उनीहरूको देशको जस्तो विकास यहाँ हेर्न आउने नै हैनन्। यहाँ आएर कुखुरा काटेपछि यहाँ आएर गाई दुहुन सिकेपछि उनीहरूको जीवनमा कहिल्यै नघटेको घटना भन्दै रोमाञ्चित हुन्छन्। फेरि फेरि फर्केर आउँछन्। यही काम निमाले गरिरहेका छन्। नेपालाई सहयोग गर पर्यटक पनि बन भन्ने उनको कन्सेप्ट रुचिपूर्ण छ।

हरेकको नाममा विशेषण जोडिन्छ कामले। मान्छे राम्रो विशेषण जोड्न जीवनभर दौडन्छ। प्रधानमन्त्री, मन्त्री वा अन्य यस्तै पदीय नामहरू पछि आफ्नो नाममा मान्छे गर्व गर्छ। निमाको पनि नामको अघि धेरै विशेषणहरू जोडिए। इँटा निमा। टेलिफोन अपरेटर निमा। एकाउन्ट निमा। स्कुल निमा। आदिवासी निमा। काठ निमा। गाउँमा बाबुले खोलेको मिलमा काम गर्दा मिल निमा। छेर्माथांगको निमा। सबै विशेषणहरू कामकै कारण जोडिए। मीठो बोल्ने, सबैसँग राम्रो व्यवहार गर्ने, खराब आदत नभएका निमा अहिले असल निमाको नाममा परिचित छन्। मान्छेले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री वा जे जस्तो विशेषण पाए पनि असल मान्छे जोड्न खोज्छ। नामको अघि उनलाई हेलम्बुले असल निमाको नाम दिइसकेको छ। त्यही विशेषण राष्ट्रभर र विश्वभर जोड्न निमा लागिपरेका छन्। यात्रा उनको शुरू भइसकेको छ।

निमाको पनि नामको अघि धेरै विशेषणहरू जोडिए। इँटा निमा। टेलिफोन अपरेटर निमा। एकाउन्टेन्ट निमा। स्कुल निमा। आदिवासी निमा। काठ निमा। गाउँमा बाबुले खोलेको मिलमा काम गर्दा मिल निमा। छेर्माथांगको निमा। सबै विशेषणहरू कामकै कारण जोडिए। मीठो बोल्ने, सबैसँग राम्रो व्यवहार गर्ने, खराब आदत नभएका निमा अहिले असल निमाको नाममा परिचित छन्। मान्छेले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री वा जे जस्तो विशेषण जोडे पनि असल मान्छे जोड्न खोज्छ। नामको अघि उनलाई अहिले हेलम्बुले असल निमाको नाम दिइसकेको छ। त्यही विशेषण राष्ट्रभर र विश्वभर जोड्न निमा लागिपरेका छन्।

प्रतिक्रिया दिनुहोस्