ढिला सुस्ती भए सहन्नः मन्त्री साह



कृष्णउदास खनाल, वीरगन्ज । सहरी विकास मन्त्री प्रभु साहले विकास निर्माणका काममा ढिला सुस्ती र लापरबाही सहन नसकिने बताउनुभएको छ ।  विकास निर्माणका कामको जिम्मा लिने तर बर्षौसम्म नबनाउने प्रवृतिको अन्त्य हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

पर्सा जिल्लामा सञ्चालित विभिन्न विकास निर्माणका कामहरुको अवलोकन र मातहतका निकायलाई आवश्यक निर्देशन दिन शुक्रबार वीरगन्ज आईपुग्नु भएका सहरी विकास मन्त्री साहले सबै सरकारी निकायहरुलाई समन्वय गरेर विकासका कामहरुमा ढिलासुस्ती नगर्न निर्देशन दिनुभयो । विकास निर्माणका सवालमा वीरगन्ज धेरै पछाडि परेको भन्दै उहाले आर्थिक एंव औद्योगिक नगरी वीरगन्जलाइ मुलुककै नम्ुना शहर बनाउनका लागि दीर्घकालीन योजनाको आवश्यकता रहेको बताउनुभयो । मन्त्री साहले ऐतिहासिक वीरगञ्ज कस्तो बनाउने भनेर योजनावद्ध ढंगले अघि बढ्न ढिलाई गर्न नुहने बताउनुभयो ।  पर्साको शहर र ग्रामण भेगमा सञ्चालित योजनाहरुको बारेमा जानकारी दिन आज बिहान होटल भिश्वामा आयोजित कार्यक्रममा मन्त्री साहले काम गराउनेहरु नै इमान्दार र जिम्मेवार नभएको आरोप लगाउनुभयो ।

निर्र्माणधिन योजनालाई समयमै सम्पन्न गराउन सबै पक्षको सहयोग आवश्यक रहेको मन्त्री साहको भनाई छ । होटल भिस्वाको कार्यक्रम पछि सहरी विकासमन्त्री साहले वीरगन्जमा सन्चालित विभिन्न विकास निर्माणका कामहरुको स्थलगत अवलोकन गर्नु भयो । मन्त्री साहले एडिबीको आर्थिक सहयोगमा वीरगन्जमा सन्चालित मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार योजना अन्तर्गत पावर हाउस चोक , भेडियाही र बाइपासमा निर्माण भइरहेको ढल र नाला तथा छपकैयामा बन्दै गरेको वाटर ट्रिटमेन्ट प्लान्ट, वीरगन्जको नगवामा निर्माणाधिन फोहोर व्यवस्थापन केन्द्र , अलौमा निर्माणाधिन एकीकृत भन्सार जाँच चौकी आइसीपी र नयाँ बसपार्कको स्थलगत अवलोकन गर्नु भएको हो ।

स्थलगत अवलोकनका क्रममा स्थानीयवासीले एडीबिको काममा ठेकेदारले चाँडो काम नगरेको, एकैचोटी वीरगञ्जका सबै टोलमा सडक खनेर तहस नहस पारेको , डिजाईन नै परिवर्तन गरेको, ह्युमपाईप हटाएर आर सिसि ढलान गरेको लगायतका गुनासो मन्त्री साह समक्ष गरेका थिए । स्थानीयको गुनासो सुनेपछि मन्त्री साहले वीरगन्जमा भइरहेको विकास निर्माणको काममा ढिलासुस्ती नगरि तिब्र गतिमा काम अगाडि बढाउन सम्बन्धित कार्यालयका प्रमुख र ठेकेदारहरुलाइ निर्देशन पनि दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्