सुत्केरी बेथाले थलिएकी केरौँजाकी महिलाको हेलीकोप्टरबाट उद्धार



सन्तोष अधिकारी, गोरखा । सुत्केरी बेथाले थलिएकी धार्चे गाउँपालिकाकी केरौँजाकी २९ वर्षकी सरिता गुरुङ्गको शुक्रबार हेलीकोप्टर मार्फत उद्धार गरिएको छ । केहि दिन अघि देखि सुत्केरी बेथाले च्यापेपनि आज मात्र हेलीकोप्टरमार्फत उद्धार गर्न सफल भएको धावा लामाले जानकारी दिए ।

गाउँमा प्रशुती स्वास्थ्य सेवा नभएकै कारणले उनलाई हेलीकोप्टर चार्टर गरी काठमाडौँ लैजानु परेको हो । उनको अहिले काठमाडौँ स्थित शिक्षण अस्पतालमा उपचार भइरहेको धावाले जानकारी दिए । केरौँजा गाउँ सडक सञ्जाल नजोडिएको क्षेत्र हो । गुरुङको एभरेष्ट कम्पनीको हेलिकोप्टरबाट उद्धार गरेर शिक्षण अस्पताल काठमाडौँ पु¥याइएको हो ।

उत्तरी क्षेत्रका आमाहरुले गाउँमै बच्चा जन्माउन नसकेकै कारणले लाखौँ रकम खर्च गरी काठमाडौँमा उपचार गर्नुपर्ने बाध्यता छ । यस पटक भने सरिताको लागि हेलीकोप्टर चार्टरको खर्च नेपाल सरकारले नै बेहोरेको जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाका बरिष्ठ जनस्वास्थ्य प्रशासक केदारराज पराजुलीले जानकारी दिए । ‘सरिताको लागि हेलीकोप्टर चार्टरमा लाग्ने खर्च नेपाल सरकारले नै ब्यहोर्छ’ पराजुलीले थाहाखबर सँग भने ‘नेपाल सरकार स्वास्थ्य मन्त्रालयको आमा सुरक्षा कार्यक्रम अन्तरगत उनलाई केरौँजा देखि काठमाडौँ सम्म हेलीकोप्टरमा लैजान लागेको खर्च एक लाख ५० हजार रुपैँया नेपाल सरकारले बेहोर्छ ।’ तर अहिले नेपाल सरकारले हेली एभरेष्टलाई खर्च बुझाएको छैन ।

‘जनस्वास्थ्य कार्यालयले खर्च भने अहिले बुझाएको छैन’ हेलीकोप्टर लैजान समन्वय गर्ने धावाले भने ‘अहिले सरकारी कामकाजहरुका लागि पैसा रिलिज नभएको बेला भएकोले हाकिमसाबले मलाई जमानी बस्दिन आग्रह गर्नु भयो । म जमानी बसेर सरितालाई काठमाडौँमा ल्याएर उपभार गराउन सफल भइयो ।’ गुरुङ्गको परिवार खेती किसानी गरेर गुजारा गर्ने परिवार हो । गर्भवती गुरुङ्गलाई काठमाडौँ लैजान फेज नेपालका पेमा लामाले समन्वय गरेको धावाले जानकारी दिए ।

 

उत्तरी क्षेत्रमा सडक सञ्जाल नजोडिएको र पर्याप्त स्वास्थ्य सेवा नभएकै कारणले वर्षेनी केहि शिशु र आमाको ज्यान समेत जाने गरेको छ । गाउँमा प्रशुती सेवा नभएकै कारणले समयमा उपचार नपाएर गत महिनामा घैरुङकी एक महिलाले जुम्ल्यहा सन्तान सहित ज्यान गुमाएकी थिईन् ।

 

प्रतिक्रिया दिनुहोस्