बिभिन्न बन्यजन्तुको अखेटोपहार सहित एक जना पक्राउ



 

चिरञ्जीवी मास्के, दोलखा । जिल्ला प्रहरी कार्यालय दोलखाले भीमेश्वर नगरपालिका वडा नम्बर ९ लाकुरीडाँडा जसमन्तेका बमबहादुर श्रेष्ठलाई बिभिन्न बन्यजन्तुको अखेटोपहार सहित घरबाटै पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रिय अनुसनधान ब्युरोले भक्तपुरबाट चितुवाको छाला सहित पक्राउ परेका एक जना पुरुषसंग गरिएको प्रारम्भीक अनुसन्धान पछि दोलखा जसमन्तेका बमबहादुर श्रेष्ठलाई घरबाटै नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताउनु भयो ।

 

भक्तपुरबाट पक्राउ परेका अभियुक्तको बयानको आधारमा दोलखा खरढिुङ्गा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलिले श्रेष्ठको घरमा खानतलासि गरेको थियो । खानतलासिको क्रममा श्रेष्ठको घरको छाना मुनि तन्ना ठोकी तन्ना भित्र लुकाई राखेको संरक्षित चितुवाको ढाडको हड्डी १ थान, चितुवाको सुकुटी बनाएको मासु १ सय ५० ग्राम, दुम्सकिो दाँत सहितको दाह्रा १ थान, दुम्सीको काँडा १ सय २५ वटा र दुम्सीको भुँडी बरामद गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताउनु भयो ।

 

पक्राउ परेका श्रेष्ठको बारेमा थप अनुसन्धान भै रहेको र उनलाई बरामद गरिएको अखेटोपहार सहित जिल्ला बन कार्यालयमा बुझाईने प्रहरीले जनाएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्