थ्रीस्टारको विषयमा एन्फाभित्रै विवाद



 

नेपाल समाचारपत्र
काठमाडौं
अखिल नेपाल फुटबल संघ (एन्फा) को बैठक स्थगित गरिएको छ। बिहीबार हुने भनिएको बैठक एन्फाभित्रै विवाद बल्झेपछि स्थगित गरिएको हो। एन्फाले ललितपुरे क्लब थ्रीस्टारलाई क्षतिपूर्ति दिने विषयमा पदाधिकारीबीच नै मत बाझिएको थियो।

बैठक आइतबार हुन सक्ने एन्फाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले नेपाल समाचारपत्रलाई जानकारी गराए। सीईओ तुलाधरले बताए– ‘बैठक शुरू हुन नै पाएन। थ्रीस्टारलाई पैसा मात्रै दिने विषय होइन कि गल्ती गर्नेलाई पनि कारबाही गर्नुपर्ने कुरा उठेपछि बैठक भएन।’

बैठकको पहिलो दिन बुधबार दोषीमाथि कारबाही गर्ने विषयमा चर्को रूपमा विवाद भएपछि एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले समेत त्यसको कुनै ठोस समाधान निकाल्न सकिएन। स्रोतका अनुसार सोही बैठकमा महासचिव प्रधान र एन्फाका वरिष्ठ अधिकृत गोकुल थापालाई गल्ती गरेकाले कारबाही गर्नुपर्ने एन्फा बैठकमा आवाज उठाइएको छ। एन्फाका प्रवक्ता तथा सीईओ तुलाधर, एन्फा अध्यक्ष, प्रथम उपाध्यक्ष मणि कुँवर र महासचिव धीरेन्द्र प्रधानको टोलीलाई अघिल्लो बैठकमा थ्रीस्टारसँग वार्ता गर्न जिम्मा दिएको थियो।
सो टोलीले एन्फाले थ्रीस्टारलाई १ करोड ५० लाख रुपियाँ क्षतिपूर्ति दिने सहमति समेत गरेर चिसो सम्बन्धलाई न्यानो बनाइसकेको छ। एन्फाले थ्रीस्टारलाई अन्तर्राष्ट्रिय मैत्री खेल पनि खेलाउने अवसर प्रदान गर्ने पनि सहमतिभित्रै परेको छ। तर बैठकमा विवाद उत्पन्न भएपछि यो सहमतिलाई एन्फा कार्यसमितिबाट पास गराउन पनि गाह्रो भएको छ। थ्रीस्टारका लागि फेरि एन्फाको बैठक कहिले बस्ला भन्ने पर्खाइ नै वाक्कदिक्क भएको पनि क्लबका एक सदस्यले नेपाल समाचारलाई जानकारी गराए।

थ्रीस्टारले गत वर्ष एएफसी कपको दोस्रो चरण खेल्न नपाएपछि सो क्लबले एन्फाको लापरबाही भन्दै ६ करोडको मोटो रकम क्षतिपूर्तिको माग गरेको थियो। क्लबलाई न्याय नपाउन्जेल घरेलु वा अन्तर्राष्ट्रिय कुनै पनि खेलमा भाग नलिने थ्रीस्टारका अध्यक्ष अरूणमान जोशीले बताउँदै आएका छन्। गत वर्षदेखि हालसम्म थ्रीस्टारले कुनै पनि घरेलु वा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिइरहेको छैन। यसले नेपाली फुटबल र खेलाडीहरूमा असर परिरहेको पनि छ।

प्रतिक्रिया दिनुहोस्