सिटीसँग रियल पराजित



 

वासिंटन, (एजेन्सी)
प्रि–सिजनअन्तर्गतको खेलमा म्यानचेस्टर सिटीद्वारा रियल मेड्रिड पराजित भएका छन्। अमेरिका भ्रमणमा रहेका युरोपका शीर्षस्थ क्लबहरूबीचको प्रतिस्पर्धा इन्टरनेसनल च्याम्पियन्स कप (आइसीसी) अन्तर्गतको मैत्रीपूर्ण खेलमा इङ्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस च्याम्पियन रियल मेड्रिडलाई ४–१ गोल अन्तरले पराजित गरेको हो।

उक्त खेलको पहिलो हाफमा गोलको खडेरी लागे पनि दोस्रो हाफमा भने पाँच गोल भएको थियो। खेलको ५२औं मिनेटमा निकोलस ओटामेन्डीले गोल गर्दै सिटीको खाता खोलेका थिए। गोलरक्षक किको कसिल्लाले कर्नरको हेडरबाट आएको बल बचाए पनि रिबाउन्डमा ओटामेन्डीले सहजै गोल गरेका थिए। यस्तै ५९औं मिनेटमा रहिम स्टरलिङले गोल गरेपछि सिटीको अग्रता दोब्बर बन्यो। खेलको ६७औं मिनेटमा जोन स्टोन्सले वान टच प्रहारमा गोल गरेपछि सिटीको गोलसंख्या तीन पुग्यो। सिटीले खेलको ८२औं मिनेटमा डियाजको गोलसँगै खेलमा ४–० को अग्रता बनायो।

लगातार चार गोलको भारी बोकेको रियलका तर्फबाट खेलको ८९औं मिनेटमा ओस्कार रोड्रिग्वेजको सान्त्वना गोल फर्काउन सफल भए। यो सँगै रियलले प्रि–सिजनको सुरुआती दुई खेलमा हार बेहोरेको छ। यसअघि रियललाई म्यानचेस्टर युनाइटेडले पनि पेनाल्टीको सहारामा पराजित गरेको थियो।

बार्सिलोना विजयी
प्रि–सिजन टुरअन्तर्गत अमेरिका भ्रमणमा रहेको बार्सिलोनाले दोस्रो जित आत्मसात् गरेको छ। पहिलो खेलमा झैं यसपटक पनि नेयमारकै गोलमा बार्सिलोनाले जित हासिल गरेको हो। बार्सिलोनाले इंग्लिश क्लब म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गर्यो।

खेलको ३१औं मिनेटमा नेयमारले गरेको गोल नै निर्णायक बनेपछि बार्सिलोनाको जित सम्भव भएको हो। उनले एन्टोनियो भ्यालेन्सियाको गल्तीमा उक्त विजयी गोल गरेका थिए। अमेरिका भ्रमणको क्रममा चार खेलमा अपराजित बनेका युनाइटेडको यो पहिलो हारसमेत हो। यसअघि युनाइटेडले एलए ग्यालेक्सी, रियल साल्ट लेक, डर्बी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटी र रियल मेड्रिडलाई पराजित गरेको थियो। यस्तै गरी अर्को मैत्रीपूर्ण खेलमा इटालियन सिरी ए च्याम्पियन युभेन्ट्सले पनि पीएसजीलाई पराजित गरेको छ।

युभेन्ट्सले फ्रेन्च महारथी पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई ३–२ गोलअन्तरले पराजित गरेको हो। फ्लोरिडामा बिहीबार भएको उक्त खेलको दोस्रो हाफमा क्लाउडियो मार्चिजियोले पेनाल्टीसहित दुई गोलको योगदान गरेपछि युभेन्ट्सले जित आत्मसात् गरेको हो।

त्यसअघि युभेन्ट्सले दुई पटकसम्म लिएको अग्रतालाई पीएसजीले बराबर गर्न सफल भएका थिए। पहिलो हाफको अन्तिममा गोन्जालो हिग्वेनको गोलमा युभेन्ट्सले अग्रता लिएको थियो। तर ५३औं मिनेटमा ग्वेडेसले बराबरी गोल फर्काए।

यसै गरी खेलको ६२औं मिनेटमा मार्चिजियोले झन्डै २० यार्डबाट गोल गर्दै युभेन्ट्सलाई दोस्रोपटक अग्रता दिलाए। तर ८०औं मिनेटमा जाभियर पास्टोरेले गोल गर्दै पीएसजीलाई पुनः खेलमा फर्काए। तर बराबरी गोल बहोरेको ९ मिनेटपछि नै मार्चिजियोले पेनाल्टीमार्फत गोल गरेपछि युभेन्ट्सको जित सुनिश्चित बन्यो।

 

प्रतिक्रिया दिनुहोस्