मादलको चिन्तासँगै स्पर्धा



 

आधुनिक प्रविधि र बाजाका कारण मादल नेपाली बाजा भए पनि ओझेलमा परेकोप्रति सम्बन्धित विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्। ‘लोकसंस्कृति जोगाऔं, हाम्रो चिनारी बचाऔं’ भन्ने नाराका साथ बिहीबार काठमाडौंमा सम्पन्न मादल कार्यशाला गोष्ठीमा यस्तो चिन्ता व्यक्त गरिएको हो।

लोक स्रष्टा तथा साधक कल्याण शेरचनको ७१औं जन्मजयन्तीको अवसरमा सांस्कृतिक संस्थान र कल्याण शेरचन स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा नेपाली संगीतमा मादलको ताल र बोलको प्रयोग विषयक कार्यशाला गोष्ठी गरिएको हो। गोष्ठीमा वक्ताहरुले मादलको महत्त्व, नेपाली संगीतमा यसको प्रयोग र मादलको संरक्षणबारे चर्चा गरेका थिए।

कार्यक्रमको शुभारम्भ संगीतकार तथा पाठ्यक्रम विकास केन्द्र संगीत विशेष समितिका अध्यक्ष, दीपक जंगमले गरेका थिए। कार्यक्रममा बोल्दै जंगमले नेपाली वाद्यको लोकप्रिय बाजा तथा राष्ट्रिय सिम्बोलको रुपमा अन्तर्राष्ट्रियस्तरमा समेत लोकप्रिय भइसकेको मादलको बारेमा अझै पनि धेरै कन्फ्युजन रहेको जनाए। सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले सहभागीलाई स्वागत गर्दै नेपाली लोक संस्कृतिको गायन, प्रवद्र्धनमा दिवंगत लोकगायक कल्याण शेरचनको अतुलनीय योगदान रहेको चर्चा गरे।

कार्यक्रममा संगीतकार एवं गायक प्रदीप बम्जनले नेपाली संगीतमा मादलको ताल र बोलको प्रयोग विषयमा कार्यपत्र प्रस्तुत गरे। उनको कार्यपत्रमाथि टिप्पणी गर्दै अग्रज संस्कृतिविद् एवं फिल्म निर्देशक चेतन कार्कीले मादलको उत्पत्ति र यसको प्रयोगबारे अझ विस्तृत अध्ययन गरिनुपर्नेमा जोड दिए। यसलाई मगरको बाजा भनेर प्रचार गरिए पनि त्यसको पुष्टि नभएको भन्दै मादलको सम्बन्ध अरू छालाको बाजाहरुसँग कस्तो छ भन्ने बारे पनि अध्ययन गर्नुपर्ने आवश्यकता भएको उनले औंल्याए। मादललाई ६ तालमा मात्र हैन, सबै तालमा बजाउन सकिने पनि उनले जिकिर गरे। मादलविज्ञ एवं वाद्यबादक न्हुच्छेबहादुर डंगोलले नेपाली संगीतमा मादलको सम्बन्धबारे प्रकाश पार्दै यसलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याएर गिनिज बुक अफ वल्र्डमा रेकर्डमा राख्न सकिने बताए। कार्यपत्रमा टिप्पणी गर्दै अर्जुन चैनपुरे, खर्कबहादुर बुढा, प्रेमदेव गिरीले पनि मादलको महत्त्वबारे प्रकाश पारे। बिहीबार दिउँसोबाटै राष्ट्रिय खुला मादल बादन प्रतियोगिता शुरू गरिएको छ। प्रतियोगितामा मुलुकभरका २२ टिम सहभागी छन्। उनीहरुले प्रतियोगितामा मादल बादन र गायनसँगै नृत्य पनि प्रस्तुत गर्ने कार्यक्रम रहेको सांस्कृतिक संस्थानले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्