समलिंगी महिलालाई लुगा बेचिएनन्



 

ब्लुम्सवर्ग, (एजेन्सी)
गत ८ जुलाईमा ३० वर्षीया जुली एन सामनास र ३४ वर्षीया स्यान्नोन केन्नेडी पास्साडेनाको ब्लुम्सवर्गस्थित डब्ल्यूडब्ल्यू ब्राइडल बुटिकमा जुलीका लागि विवाहमा लगाउने लुगा किन्न गएका थिए। यी दुई महिलाबीच सन् २०१८ को मार्चमा समलिंगी विवाहका लागि तयारी भइरहेको हो।

तिनीहरू भन्छन्– ‘समय लिइएअनुसार हामी त्यहाँ पुग्यौं। हामीलाई बजेट, ड्रेस आदिबारे लेखिएको प्रश्नावली भर्न एउटा फाराम दिइयो। त्यसपछि दुलहाको नाम लेख्न भनियो। जुलीले ढुक्कसँग दुलहाको नाम छेउमै रहेकी केन्नेडी लेखिन्।’

त्यसपछि त्यहाँकी महिला विक्रेताले भनिन्– ‘के यो समलिंगी विवाहका लागि हो?’ –स्यान्नोनले सहमतिमा टाउको हल्लाइन्। त्यसपछि उनले भनिन्– ‘तपाईंहरूले यहाँको नियम कायदाबारे सुन्नुभएको छ वा छैन थाहा भएन। तर हामी क्रिस्चियन हौं। त्यसैले हामी समलिंगी विवाहमा विश्वास गर्दैनौं। हामी तपाईंहरूलाई विवाहको ड्रेस बेच्न सक्दैनौं।’ यो सुनेर दुवै छक्क परे। तिनीहरूले त्यहाँबाट हिँड्नुबाहेक अन्य उपाय देखेनन्। त्यसपछि ड्रेसको खोजीमा तिनीहरू अर्को पसलतर्फ लागे।

त्यही घटनाको दिन साँझतिर जुली एनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो अनुभव उक्त ब्राइडल स्टोरलाई ट्याग गर्दै यसरी लेखेर पोस्ट गरिन्– ‘यदि कुनै पनि पसलले मात्र समलिंगी भएकै कारणले मलाई डे«सहरू बेच्न चाहन्न भने म खुसीका साथ अन्य कुनै पसलमा आफ्नो पैसा खर्च गर्न सक्छु।’

उक्त पोस्टलाई लिएर हजारौं व्यक्तिले कमेन्ट गरे। अधिकांशले यस घटनालाई अस्वीकार्य र विभेदकारी भने। तर डब्ल्यूडब्ल्यू ब्राइडल बुटिकका सहमालिक भिक्टोरिया मिल्लरले भने उक्त पोस्टको कुनै पनि प्रतिक्रिया जनाइनन्।
तर फिलाडेल्फिया गे न्युजले उक्त स्टोरले डब्ल्यूडब्ल्यू ब्राइडल बुटिकका मालिकहरूसँग आफ्नो आस्थाअनुसार बाँच्न पाउने भनी अमेरिकाको संविधानमा पहिलो संशोधन भएको भनाइअनुसार आफ्नो व्यवसाय चलाउने अधिकार रहेको व्यहोरासहित फेसबुकमा पोस्ट गरेको र केही क्षणपछि त्यसलाई डिलेट गरिएको जनाएको छ। उक्त स्टोरले समलिंगीहरूमाथि गरेको यस्तो दोस्रो विभेदकारी व्यवहार भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्