राजधानीमा कडा खालको स्वाइनफ्लु



 

दुईको मृत्यु, केहीको उपचार हुँदै
भगवती तिमल्सिना, काठमाडौं
केही दिनयता काठमाडौंमा कडा खालको स्वाइनफ्लुको संक्रमण बढेको छ। स्वाइनफ्लुको संक्रमणबाट बिरामी परेका केहीको उपचार भइरहेको र तीमध्ये दुई जनाको ज्यान नै गइसकेको छ। शिक्षण अस्पताल महाराजगन्जका आईसीयू विभाग प्रमुख डा. सुवास आचार्यका अनुसार फ्लुको संक्रमणबाट शिक्षण अस्पतालमा दुई जनाको मृत्यु भइसकेको छ।

शिक्षण अस्पतालमा भाइरल निमोनियाका अन्य दुई जना बिरामी आईसीयूमा उपचाररत रहेको डा. आचार्यले बताउनुभयो। ‘भाइरल निमोनियाका कारण अस्पताल आएका बिरामीको ल्याब परीक्षण गर्दा स्वाइनफ्लु देखिएको थियो।

ग्रान्डी अस्पतालमा मात्रै अहिले स्वाइनफ्लुका चार बिरामीको आईसीयूमा उपचार भइरहेको छ भने अन्य ठूला निजी अस्पतालमा पनि स्वाइनफ्लुका बिरामी रहेको पूर्वस्वास्थ्य मन्त्री गगन थापाले जानकारी गराउनुभएको छ। फ्लुका बिरामीका कारण राजधानीका विभिन्न अस्पतालका आईसीयूमा बिरामीको चाप बढ्दै गरेको वीर अस्पतालको १ सय २८औं वार्षिकोत्सवमा उपस्थित पूर्वमन्त्री थापाले जानकारी गराउनुभएको हो। त्रिवि शिक्षण अस्पतालका अनुसार बिरामीमा कडा खालको फ्लुको संक्रमण देखिएको छ। जसका कारण उपचार गर्दागर्दै दुई जनालाई जोगाउन नसकिएको डा. आचार्यले बताउनुभयो।

सार्वजनिक रुपमा पूर्वमन्त्री थापाले जानकारी गराइसक्नुभएको विषयमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्त भने अनभिज्ञता प्रकट गर्दै भन्नुभयो– ‘विभागमा अहिलेसम्म स्वाइन फ्लुका बिरामीको रिपोर्टिङ भएकै छैन।’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा विभिन्न अस्पतालबाट स्वाइनफ्लु परीक्षणका लागि नमुना आउने क्रम बढेको प्रयोगशालाका कन्सलट्यान्ट माइक्रोबायोलोजिस्ट विष्णुप्रसाद उपाध्यायले बताउनुभयो।

यसको सङ्क्रमण तीव्ररूपमा फैलिरहेकाले सर्वसाधारणलाई सचेत गराउन जरुरी रहेको डा. आचार्यले बताउनुभयो। खोकी लागिरहने, घाँटी खसखसाउने, लामो समयसम्म कडा ज्वरो आउने, बालबालिकामा ज्वरोसँगै बान्ता हुने र पखाला लाग्ने भएमा स्वाइनफ्लु हुन सक्ने भएकाले यस्ता लक्षण देखिनेबित्तिकै जाँच गराउनुपर्ने उहाँको सुझाव छ।

स्वाइनफ्लु सरुवा रोग एक व्यक्तिबाट अर्कोमा छिटो सर्ने भएकाले सार्वजनिक ठाउँमा जाँदा मास्क लगाउने, खोक्दा वा हाछ्युँ गर्दा रुमालले मुख छोप्ने, साबुन–पानीले हातमुख धुने, झोलिलो खानेकुरा खाने र स्वाइनफ्लुको शंका लागेमा बेलैमा परीक्षण गरी सतर्कता अपनाउन डा. आचार्यले आग्रह गर्नुभयो। अहिले आईसीयूमा भर्ना भएर उपचार गराइरहेका बिरामीहरूलाई भेट्न आउने परिवार र आफन्तजनलाई समेत सहज भेट दिँदा रोग फैलने सम्भावना बढी भएकाले उच्च सतर्कता अपनाउनुपर्ने चिकित्सकहरू बताउँछन्।

 

प्रतिक्रिया दिनुहोस्