नारायण मन्दिर जीर्णोद्धार हुँदै



 

नेपाल समाचारपत्र
काठमाडौं
ऐतिहासिक नगरी टोखामा १८औं शताब्दीमा निर्मित टोखा तपलाछी नारायण मन्दिर जीर्णोद्धारका लागि पुरातत्त्व विभागबाट पहिलो किस्तास्वरूप बिहीबार मन्दिरको टुँडाल, दलिन र थाम टोखा नेवाः गुठीलाई हस्तान्तरण गरिएको छ।

आर्थिक वर्ष २०७३⁄७४ को वार्षिक कार्यक्रमअन्तर्गत टोखा तपलाछीस्थित नारायण मन्दिर संरक्षण कार्यक्रमअन्तर्गत पहिलो चरणमा ४१ थान दलिन, २ थान बुट्टादार थाम र १६ थान बुट्टादार टुँडाल पुरातत्त्व विभागका अधिकृत देवेन्द्र भट्टराईले टोखा नगरपालिकाका उपमेयर ज्ञानीमाया डंगोल तथा २ नम्बर वडा महिला सदस्य पञ्चमाया श्रेष्ठलगायतको उपस्थितिमा टोखा नेवाः गुठीका अध्यक्ष देवराज डंगोलले जिम्मा लिएको बताइएको छ। तपलाछी नेवाः छेंमा भण्डारण गरिराखेको उक्त टुँडाल, थाम र दलिन पुरातत्त्व विभागबाट टेन्डर प्रक्रियामार्फत बाराही अजिमा कन्सट्रक्सन कम्पनी भक्तपुरले निर्माण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्