राप्रपा भक्तपुरमा चर्कियो विवाद, अध्यक्षको राजिनामा माग्नेलाई कारबाही



पुष्कर बुढाथोकी, भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरमा दुई पक्ष बिच विवाद भएको छ ।विवाद कै कारण जिल्ला अध्यक्ष दिनेश श्रेष्ठको राजिनामा माग गर्नेलाई पार्टीबाट निष्काषण गरेपछि विवाद चर्किएको छ । स्थानीय तहको निर्वाचनमा जिल्ला अध्यक्ष श्रेष्ठले अन्र्तघात गरेका कारण पार्टीले जिल्लामा हार व्यहोर्नु परेको आरोप खेप्दै आउनु भएका श्रेष्ठको राजिनामा माग गरेपछि उहाँले जिल्ला सदस्यदेखि केन्द्रीय सदस्यसमेतलाई कारबाही गर्नुभएको हो ।

जिल्ला समितिको बैठकले जिल्ला सदस्य माधव खत्री, चाँगुनारायण नगर समिति सदस्य रामशरण लामिछाने र भक्तपुर नगरसमिति अध्यक्ष राजेन्द्र लाखालाई पार्टीबाट निष्काषण गरेको जिल्ला सचिव मुकुन्द कार्कीले जानकारी दिनुभयो । त्यसैगरी केन्द्रीय सदस्यद्धय रबिन्द्रप्रताप शाह र यवती कार्की तथा केशबप्रसाद अधिकारी र लवकुमार कार्कीलाई कारबाही गर्ने जिम्मेवारी भने केही दिन अघि मात्रै केन्द्रीय सदस्यमा मनोनित भएका सानुकाजी हेक्का, सुरेन्द्र केसी र रामेश्वर थापालाई जिम्मेवारी दिएको उहाँले जानकारी दिनुभयो ।

भक्तपुरमा अध्यक्ष श्रेष्ठ पार्टी अध्यक्ष कमल थापा समूहका र कारबाहीमा पर्नेहरु पार्टी नेता पशुपति शमशेर राणा पक्षधर हुन् । दुई पक्षबिच चुनाव अगाडिदेखि नै मतभेद कायम रहदै आएको र पछिल्लो समयमा विवाद चर्किएको राप्रपा जिल्ला समितिका पदाधिकारीले बताएका छन् ।

यता केन्द्रीय सदस्य रबिन्द्रप्रताप शाहले भने अध्यक्ष श्रेष्ठले राप्रपा निकट जनताले अध्यक्षको बिकल्प खोजेको प्रतिक्रिया दिदै विधान विपरित निर्वाचित पदाधिकारीलाई कारबाही गरे भन्नु गलत भएको बताउनुभयो । चुनाव पछि अध्यक्षले समिक्षा बैठक समेत राख्न नसकेको बताउँदै उहाँले अल्पमतको बैठक र विधान विपरित भएको कारबाहीको कुनै अर्थ नराख्ने बताउनुभयो । राप्रपा जिल्ला समितिको मंगलबार बसेको बैठकमा २९ कार्यसमिति सदस्य रहेकोमा १७ कार्यसमिति सदस्यले बैठक बहिस्कार गरेको र बैठकमा सहभागिले समेत नोट अफ डिसेन्ट लेखेरको बैठकमा सहभागिले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्