सुन्दरीदेवीलाई उपाधि



 

हेटौंडा, (नेस)
विद्यालयस्तरीय कोकाकोला कप फुटबल प्रतियोगिताको उपाधि उत्तरी मकवानपुरको थाहानगर–७, आग्रास्थित सुन्दरीदेवी माविले जितेको छ। हेटौंडा औद्योगिक क्षेत्रस्थित खेलमैदानमा बिहीबार भएको फाइनलमा हेटौंडाको श्रमिक माविलाई २–१ गोलअन्तरले पराजित गर्दै सुन्दरीदेवीले उपाधि जितेको हो।

सुन्दरीदेवी पहिलो हाफमा नै २–० को अवस्थामा थियो। खेलको अन्तिम समयमा श्रमिकले १ गोल गरे पनि खेलमा फर्किन सकेन। जिल्लास्तरीय प्रतियोगिता जितेको सुन्दरीदेवी टिम क्षेत्रीय छनोटमा सहभागी हुनेछ।

सुन्दरीदेवीका हर्दिप गुरुङले २२ र बीके राईले २७ मिनेटमा गोल गरेका हुन्। श्रमिकका लागि ७०औं मिनेटमा राम गुरुङले एकमात्र गोल फर्काउन सफल भए। खेलको म्यानअफ द म्याच हर्दिप बने। प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्दै सुन्दरीदेवीका दीपक गोलेले बेस्ट प्लेयर अफ द टुर्नामेन्ट उपाधि प्राप्त गरेका छन्। उपाधिसँगै सुन्दरीदेवीले शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्