प्रकाश र सुरजद्वारा राष्ट्रिय कीर्तिमान



 

नेपाल समाचारपत्र
काठमाडौं
काठमाडौंमा जारी युथ एन्ड जुनियर एसियन भारोत्तोलन च्याम्पियनसिप २०१७ अन्तर्गत तेस्रो दिन पनि नेपाली खेलाडीहरू राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भएका छन्।

६९ केजी तौलको जुनियरमा प्रकाश केसीले स्नाचमा १ सय केजी र क्लिन एन्ड जर्कमा १ सय ३२ केजी गरी कुलमा २ सय ३२ केजी उचाली राष्ट्रिय कीर्तिमान कायम गरेका हुन्। यसअघि नेपालकै अर्का खेलाडी सुरज वैश्यले स्नाचमा ७५ केजी र क्लिन एन्ड जर्कमा ९५ केजी गरी १ सय ७० केजी भार उचाल्दै राष्ट्रिय कीर्तिमान भंग गरे।

वैश्यको युथमा राष्ट्रिय कीर्तिमान रह्यो। यस तौल समूहमा २०७० सालमा भएको लुम्बिनी च्याम्पियनसिपमा अशोककुमार शाहको स्नाचमा ५५ केजी र क्लिन एन्ड जर्कमा ७५ केजी गरी कुलमा १ सय ३० केजीको राष्ट्रिय कीर्तिमान रहेको थियो।

प्रकाश आफ्नो जुनियरमा १२औं स्थानमा र सुरज १५औं स्थानमा रहे। यस्तै सुरज युथतर्फ १३औं स्थानमा रहे।

यस्तै उत्तर कोरियाकी सोङ कु ह्याङले ६३ केजी युथतर्फ स्वर्ण प्राप्त गरेकी छिन्। उनले कुलतर्फ २ सय ८ केजी भार वहन गर्दै स्वर्ण हात पारेकी हुन्। सोङले स्नाचमा ९६ केजीका साथ दोस्रो स्वर्ण र क्लिन एन्ड जर्कमा १ सय १२ केजीका साथ रजत पाइन्।

यस्तै युथमा उज्वेकिस्तानकी फेजुल्लेभा कुमुस्कोनले कुलमा १ सय ९७ केजीका साथ रजत र चीनकी लाइव गुइफाङले १ सय ९७ केजीका साथ नै कांस्य पाइन्।
यसैगरी सोही विधाको स्नाचमा चीनकी लिआवले ९२ केजीका साथ रजत र याङ क्यूछियाले ८८ केजीका साथ कांस्य प्राप्त गरिन्। क्लिन एन्ड जर्कमा उज्वेकिस्तानकी फेजुल्लेभाले १ सय १५ केजीका साथ स्वर्ण प्राप्त गरिन्। उक्त विधामा कोरियाकी आनसाङ सुले कांस्य पाइन्।

६३ केजीकै जुनियरतर्फको विधाको कुल तौलमा मंगोलियाकी गंजोरिग अन्नुजिनले १ सय ९८ केजीका साथ स्वर्ण, उज्वेक्सितानकी फेजुल्लेभाले १ सय ९७ केजीका साथ रजत र चीनकी लिआवले १ सय ९७ केजीकै साथ कांस्य पाइन्।

प्रतिक्रिया दिनुहोस्