रुसविरुद्ध ताजा प्रतिबन्ध लगाउने विधेयक पारित



 

वासिङ्टन, (एजेन्सी)
रुस, इरान र उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउने प्रस्ताव अमेरिकाको हाउस अफ रिप्रिजेन्टेब्स अर्थात् प्रतिनिधिसभाले भारी बहुमतबाट पारित गरेको छ।
उक्त प्रतिबन्धलाई ४ सय १९ सदस्यले समर्थनमा मत दिएका थिए भने विपक्षमा ३ जनाले मात्र मतदान गरेका थिए। यो विधेयक पारित भएमा अमेरिकी राष्ट्रपति चुनावमा कथित रुसी हस्तक्षेप र पूर्वी युक्रेनमा रुसको हस्तक्षेपका लागि रुसी अधिकारीहरूमाथि निसाना बनाउन सकिनेछ।

रुसको संसद् ड्युमाको अन्तर्राष्ट्रिय मामिला कमिटीका लियोनिड स्लत्स्कीले ती नयाँ प्रतिबन्धले अमेरिका र रुसको सम्बन्ध जटिल हुने बताएका छन्। उक्त विधेयकलाई राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष पठाउनुअगाडि सिनेटले अनुमोदन गर्नुपर्नेछ।

यदि यो विधेयक सिनेटबाट पनि पारित भएमा यसले राष्ट्रपति ट्रम्पलाई अप्ठइरो पार्न सक्छ। किनभने रुससँग सम्बन्ध राम्रो बनाउने उनको योजनालाई यसले प्रायः असम्भव बनाउन सक्छ। यदि उनले विधेयकविरुद्ध भिटो लगाए भने पनि रुससँगको कथित सम्बन्धलाई लिएर उनलाई संसद्को कमिटीले च्याप्न सक्ने सम्भावना रहन्छ।

यद्यपि राष्ट्रपति ट्रम्पसँग यस विधेयकमा भिटो लगाउन सक्ने विकल्प रहेको छ। तर उनले त्यस्तो गरेको खण्डमा उनको रुसतर्फको झुकावको संकेत दिन सक्छ।
एकजना रिपब्लिकन नेता स्कट टेलरले राष्ट्रपतिबाट उक्त विधेयकलाई भिटो गरी रोक्ने सम्भावना कम रहेको बताए। अमेरिकाले पहिल्यै पनि रुसी नागरिक र कम्पनीहरूमाथि प्रतिबन्ध लगाइसकेको छ। गत डिसेम्बरमा पूर्वराष्ट्रपति बाराक ओबामाले ३५ रुसी अधिकारीलाई फिर्ता पठाउने निर्देशन दिएका थिए।

इरान र उत्तर कोरियालाई उनीहरूको परमाणु तथा ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रमका लािग अमेरिकाले प्रतिबन्ध लगाउन चाहेको छ। अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनसहित ट्रम्प प्रशासनका दुई सदस्यले यसको विरोध गरेका छन्। किनभने यसले रुसमाथि लगाइएका प्रतिबन्धलाई नरम बनाउने राष्ट्रपति ट्रम्पको शक्तिलाई पनि कमजोर पार्ने प्रावधान रहेको छ।

प्रतिक्रिया दिनुहोस्