रातो सारीको रौनक



 

हिन्दु महिलाको विशेष चाड तीज जति नजिकिँदै छ, यससम्बन्धी गीत–संगीत पनि त्यति नै घन्किरहेका छन्। राजधानीको बुद्धनगरस्थित बुद्धनगर पार्टी प्यालेस पनि हालैको एक दिन तीज गीतमय बनिरहेको थियो।

तीज गीत घन्किरहँदा लोकप्रिय हास्यशृंखला भद्रगोलका सिते बा मधुसूदन पाठक र खुपिका बाउ कमलमणि नेपाल छोरीहरु खोजिरहेका थिए। छोरीहरु भने आफ्ना साथीसंगी र मदर्स ग्रुप अफ नेपालका सदस्यसँग कुमसँग कुम जोडेर नाच्न मग्न थिए।

भुरुरु उड्यो रानी चरी बगाल
बेग हान्न सकेन बस्यो बारीमा
अहिलेको तीजमा साथीसंगी जम्मा भै
नाचिन्छ मज्जाले रातो सारीमा।

खुमराज घिमिरेको लय तथा कुशल बेल्बासेको शब्दमा अलिना शाक्य घिमिरे, सोम्ना घिमिरे र सुमन सागरजंग केसीको स्वर रहेको यो मीठो तीज भाकाको म्युजिक भिडियोका लागि नाच्ने र नचाउने काम गरिरहेका थिए निर्देशक सुमन सागरजंग केसीले। उनको निर्देशनमा अभिनय पनि अलिना शाक्य घिमिरे र सोम्ना घिमिरले नै गरिरहेका थिए। त्यसो त केसी आफैं पनि नाचिरहेका थिए। वर्षौंपछि भेटिएका साथीहरुसँग उमेर भएर पनि विवाह नगरी माइतीमा बाबुआमाको कडा निगरानीमा बसेका छोरीहरुको वेदनालाई तीज गीत भिडियोमार्फत् बाहिर ल्याउन लागेको भिडियोका निर्देशक तथा कोरियोग्राफर केसीले बताए। बुद्ध थापाको छायांकन तथा सुरेश राउतको सम्पादन रहेको उक्त गीतको दृश्य निर्माण वि मानव आर्ट स्टुडियोले गरेको छ।

प्रतिक्रिया दिनुहोस्