प्रमको भारत भ्रमण तयारी तीव्र



 

काठमाडौं, (नेस)
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारीका लागि दुवै मुलुकका अधिकारी तीव्ररूपमा जुटेका छन्। प्रधानमन्त्री देउवाले भदौको पहिलो साता भारत भ्रमण गर्ने भएपछि भ्रमणको तयारी शुरू भएको प्रधानन्त्री कार्यालयले जानकारी दिएको छ।

भ्रमणको औपचारिक मिति तय नभए पनि दुवै मुलुकका दूतावास तयारीमा जुटेका छन्। प्रधानमन्त्री देउवाको भारत भ्रमणकै तयारीका सिलसिलामा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय काठमाडौं आउनुभएको छ। उहाँले बुधबार उप–प्रधान एवं परराष्ट्र मन्त्री कृष्णबहादुर महरा, परराष्ट्र मन्त्रालयका सह–सचिव एवं भारत डेक्स प्रमुख भृगु ढुंगानालगायतका अधिकारीहरूसँग भेटवार्ता गर्नुभएको छ।

‘भ्रमणको औपचारिक मिति तय नभए पनि भ्रमणको गृहकार्य भइरहेको छ, मिति केही दिनभित्रमा टुङ्गो लाग्छ’, परराष्ट्रका एक अधिकारीले नेपाल समाचारपत्रसँग भने– ‘भ्रमणकै तयारीका लागि अन्तरमन्त्रालय छलफल पनि भइरहेको छ।’

भ्रमणको तयारी स्वरूप काठमाडौंस्थित भारतीय दूतावास र परराष्ट्रका अधिकारी बीचमा समेत भेटघाट र छलफल भइरहेको ती अधिकारीले बताए। यही सिलसिलामा राजदूत उपाध्यायले बुधबार प्रधानमन्त्री देउवासँग भेटघाटको पहल गर्नुभए पनि मन्त्रिपरिषद् विस्तारका कारण उहाँहरूबीच भेटवार्ता हुन सकेको थिएन। असार तेस्रो साता उप–प्रधानमन्त्री महराको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री देउवाको भ्रमणको मिति टुङ्गो लाग्ने अपेक्षा गरिए पनि त्यसबेला दुवै मुलुकका सम्बन्धित मन्त्रालयले गृहकार्य गरी मिति तय गर्ने निधो भएको थियो।
गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै देउवालाई टेलिफोनमार्फत बधाई र शुभकामना दिँदै भारतीय समकक्षी नरेन्द्र मोदीले भारत भ्रमणको निम्तो दिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्