गोसाइँकुण्डमा जनैपूर्णिमा मेला शुरू



 

हिमनाथ देवकोटा, रसुवा
रसुवाको गोसाइँकुण्डमा जनैपूर्णिमा मेला शुरू भएको छ। हरेक वर्ष जनैपूर्णिमाका अवसरमा लाग्ने गोसाइँकुण्ड मेला भर्नका लागि तीर्थयात्री आउने क्रम शुरू भएको छ।

श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीदेखि शुरू भई साउन शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमासम्म लाग्ने मेला यो वर्ष नागपञ्चमीमा नै सकिने भएकाले त्यहीअनुसार मेला व्यवस्थापन गरिएको छ।

यस वर्ष साउन १० गतेदेखि १३ गतेसम्म चार दिन मात्र विशेष मेला लाग्ने भएको छ। यसअघि १० दिनसम्म मेला लाग्ने भए पनि यो वर्ष पूर्णिमाको दिन ग्रहण लाग्ने भएकाले १३ गतेसम्म मात्र मेला लाग्ने भएको हो। नागपञ्चमीकै दिन जनैपूर्णिमा अर्थात् रक्षा बन्धन गर्ने गरी मेलाको आवश्यक तयारी गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ।

यो वर्ष करिब १० हजारले मेला भर्ने अनुमान गरिएको छ। गत वर्ष जनैपूर्णिमा मेलामा करिब ७ हजार ५ सयले मेला भरेका थिए। चार दिनसम्म विशेष मेला लाग्ने भए पनि पूर्णिमासम्म तीर्थयात्री आउने अनुमान गरिएको समितिले जनाएको छ।

मेला व्यवस्थापनको सम्पूर्ण काम सकिएको समितिले जनाएको छ। मेला व्यवस्थापनको लागि विभिन्न समिति तथा उपसमिति निर्माण गर्ने, धुन्चेदेखि गोसाइँकुण्डसम्मको पदमार्गको सरसफाइ गर्ने, आवश्यक प्रचारप्रसारका सामग्रीको छपाइ गर्ने, पदमार्ग सुधार, पाटीपौवा मर्मत र सरसफाइ गर्ने, दररेट निर्धारण गर्ने, सूचना केन्द्रको स्थापना गर्नेलगायतको सम्पूर्ण तयारी सकिएको हो।

६० वटा थर्पु निर्माण
मेला भर्न जाने तीर्थयात्रीलाई बास बस्नका लागि आवश्यक थर्पुको व्यवस्थापन गरिएको छ। धुन्चे हुँदै गोसाइँकुण्ड जाने पदमार्गमा १७ वटा स्थायी होटल मात्र सञ्चालनमा रहेकाले मेला अवधिभरका लागि अस्थायी छाप्रो अर्थात् थर्पु निर्माण गर्ने गरिएको छ। यस वर्ष ७५ वटा थर्पुले अनुमति लिएका छन्। ६० वटा थर्पु निर्माण भइसकेको र अन्य थर्पु निर्माण भइरहेको समितिले जनाएको छ। धुन्चेको घट्टेखोलामा थर्पु सञ्चालनका लागि ८ सय र गोसाइँकुण्डका लागि १३ सयसम्म दर निर्धारण गरिएको छ।

स्वास्थ्य शिविर सञ्चालन
जनैपूर्णिमाको अवसरमा लाग्ने मेलालाई मध्यनजर गर्दै जिल्ला स्वास्थ्य कार्यालय रसुवासँगको समन्वयमा पदमार्गको पाँच स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। चार दिनसम्म सञ्चालन हुने स्वास्थ्य शिविरका लागि विभिन्न गैरसरकारी संस्थाले सहयोग गरेका छन्। समितिका अनुसार साउन १३ गतेसम्म स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। मंगलबारदेखि पदमार्गको गोसाइँकुण्ड, बुद्ध मन्दिर, लोरीविना, चोलाङपाटी र घट्टेखोलामा स्वास्थ्य शिविर राखिएको जिल्ला स्वास्थ्य कार्यालय रसुवाका प्रमुख झलक गौतमले जानकारी दिनुभयो।

यसरी पुग्न सकिन्छ गोसाइँकुण्ड
तीर्थयात्रीहरू मुख्य बाटोका रूपमा रसुवाको धुन्चेबाट घट्टेखोला, बुद्ध मन्दिर, लौरीविना हुँदै पैदलमार्फत जाने गरेका छन्। काठमाडौंको सुन्दरीजलबाट पैदल यात्रा शुरू गरी, चिसापानी, कुटुङसाङ, भंगिनगोठ, छहरेपाटी, घोप्टेभीरको फेदी हँुदै सूर्यकुण्ड⁄गोसाइँकुण्ड पुग्ने अर्को पैदल मार्ग रहेको छ। यस मार्गबाट विश्राम गर्दै दुई दिनमा सहज रूपमा गोसाइँकुण्ड पुग्न सकिन्छ। त्यसै गरी गोसाइँकुण्ड पुग्न अर्को पदमार्गको रूपमा सुन्दरीजलबाट पैदल मार्गको विकल्पमा तीर्थयात्रीका लागि नुवाकोटको विदुर नगरपालिका–५ गगटेबाट खरानीटार, समुद्रटार, रामती, घ्याङफेदी तालुकसेरी हँुदै फेदी निस्केर सूर्यकुण्ड⁄गोसाइँकुण्ड पुग्न सकिन्छ।

धार्मिक आस्था
कुण्डमा स्नान गरी गोसाइँबाबा भगवान् शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुका साथै आफूले चित्ताएको सबै मनोकांक्षा पूरा हुने जनविश्वासका साथ बर्सेनि हजारौं भक्तजन कुण्डमा स्नान गर्न आउने गर्दछन्।

पौराणिक कथनअनुसार परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुद्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा आई गोसाइँबाबा भगवान् शिवशंकरले आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात् त्रिशूलधाराको उत्पत्ति भई त्रिशूलधाराको पानीबाट गोसाइँकुण्डको उत्पत्ति भएको भन्ने किंवदन्ती रहेको पाइन्छ।

जिल्लाको पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा र गंगादशहरा गरी वर्षको दुईपटक तीर्थयात्रीले मेला भर्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्