पाँच महिनादेखि छोरा खोज्दै मेघराज



 

चिरञ्जीवी मास्के, दोलखा
दोलखा भीमेश्वर नगरपालिका–७ मकैवारीका मेघराज सुवेदी विगत पाँच महिनादेखि छोराको खोजीमा भौंतारिइरहेका छन्। उनका छोरा १९ वर्षीय प्रदीप सुवेदी नवलपरासी जिल्लाबाट ०७३ माघदेखि बेपत्ता भएका छन्।

२०७१ सालमा दोलखाबाट एसएलसी परीक्षा दिएपछि नवलपरासीस्थित देवचुली नगरपालिका वडा नम्बर १० भगवान् टोलमा रहेको सानीआमा लक्ष्मी थापामगरको घरमा अध्यनका लागि बसेका प्रदीप २०७३ साल माघ १६ गतेबाट बेपत्ता भएका छन्। आफ्नो फेसबुक पेजमा ०७३ माघ १६ गते आफ्नो मृत्यु भएको घोषणा गरेर बेपत्ता भएका प्रदीपलाई विभिन्न ठाउँमा खोजी गरिएको भए पनि भेट्न नसकिएको उनका बुबा मेघराज सुवेदीले बताए।

२०७३ सालको दशैंमा घर आएर केही दिन बसेका प्रदीपले अन्तिमपटक मंसिर २० गते आफूलाई फोन गरेको र त्यसपछि कुनै सम्पर्क नभएको उनका बुबा मेघराजले बताए। ‘०७३ मंसिरमा पढाइ खर्चका लागि मैले ५० हजार रुपियाँ पठाएको थिएँ, उसले मंसिर २० गते पैसा पाएँ भनेर फोन गर्यो’, बुबा मेघराजले भने– ‘त्यसपछि छोरासँग कुनै सम्पकै हुन सकेन।’

फेसबुकमा मृत्युको घोषणा गरेर छोरा हराएको जानकारी पाएपछि आमा नवलपरासीमा खोजीका लागि गएको र मंसिर २५ गते इलाका प्रहरी कार्यालय गैंडाकोटमा खोजीका लागि निवेदनसमेत दिएको तर अहिलेसम्म पनि छोरा जिउँदो छ या मरेको छ भनेर जानकारी पाउन नसकेको बुबा मेघराजको भनाइ छ।
नवलपरासीमा कक्षा १२ मा अध्ययन गर्दै गरेको प्रदीप ०७३ माघ १६ गते सानीआमाको छोरी (बैनी) संँग स्कुलबाट सँगै फर्किएको र बाटोमा बैनीलाई मोबाइल राख्न दिई म ट्युसन जान्छु र आज साथीकोमा नै बस्छु भन्दै हिँडेपछि बेपत्ता भएको बुबा मेघराजले बताए।

जिल्ला हुलाक कार्यालय दोलखामा हलकाराका रूपमा कार्यरत मेघराज सुवेदीले आफ्नो छोराको खोजीमा सहयोग गरिदिन पत्रकार, प्रहरी सबैलाई आग्रह गरेका छन्। उनले कहींकतै बसेको भए बाबुआमाको मायालाई बुझेर घर फर्किन छोरा प्रदीपलाई अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्