कोरिया भाषा परीक्षाको नतिजा प्रकाशित



 

११ हजार १ सय ८ जना योग्य
रोविन पौडेल, काठमाडौं

आठौं कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ। वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले बुधबार सार्वजनिक गर्ने भनिएको भाषा परीक्षाको परीक्षाफल मंगलबार नै प्रकाशित भएको हो।

गत जेठ २७ र २८ गते तथा छुटेका परीक्षार्थीको असार २१ गते देखि २९ गतेसम्म पुनः लिइएको आठौं कोरियन भाषा परीक्षामा सहभागी भएका परीक्षार्थीको नतिजा प्रकाशन गरिएको हो। शाखाले १२ हजार १ सय ८ जना परीक्षार्थी उत्तीर्ण भएको सूचना मानव संशाधन विभाग (एचआरडी) कोरियाबाट प्राप्त भएको जनाएको छ। गत वर्ष ३ हजार ४ सय ६४ जना कोरिया जान छनोट भएकोमा यस वर्ष उत्तीर्ण संख्या बढाएर १० हजार २ सय जना बनाउने भएको थियो। तर, नतिजा प्रकाशन गर्ने क्रममा कोरियाबाटै संख्या बढेर आएको शाखाले जनाएको हो। उत्तीर्ण हुनेमध्ये उत्पादनमुलक क्षेत्रमा ४ हजार ५ सय ६८ तथा कृषि एवम् पशुपालन क्षेत्रमा ७ हजार ५ सय ३० जना रहेका छन्।

उत्तीर्ण हुनेमध्ये ५ हजार १ सय ७७ जना पशुपालनतर्फ रहेका छन्। त्यस्तै २ हजार ३ सय ५३ जना कृषिका लागि उत्तीर्ण भए। उत्पादनमुलक क्षेत्रतर्फ २ हजार ३ सय २२ जनाले एसेम्बल, १ हजार ३ सय १७ जनाले नापतौल र ९ सय ३९ जनाले काठ कनेक्सनमा नाम निकाले। यद्यपि, भाषा परीक्षा उत्तीर्ण हुँदैमा कामदार कोरिया भने जान पाउने छैनन्। भाषा परीक्षाको नतिजाले कोरिया जान इच्छुकमध्ये भाषाका निम्ति योग्यता गर्ने शाखाका निर्देशक बाबुराम खतिवडाले जानकारी दिनुभयो। नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले भन्नुभयो–‘यद्यपि, भाषा परीक्षा उत्तीर्ण हुने बित्तिकै कामदार कोरिया भने जान पाउने छैनन्।’ उहाँका अनुसार यो नजिता भाषाको एकेडेमिक सर्टिफिकेट मात्र हो।
भाषा परीक्षा उत्तीर्ण भएका व्यक्तिको स्वास्थ्य परीक्षण, रोजगार आवेदन फारामलगायतका कार्यको विस्तृत विवरण शाखाको वेवसाइटमा छिटै प्रकाशित गरिने सूचनामा जानकारी दिइएको छ। भाषा परीक्षा उत्तीर्ण व्यक्तिले रोजगार आवेदन फाराम भर्नका लागि प्रहरी प्रतिवेदन तथा स्वास्थ्य परीक्षणमा समेत सफल हुनुपर्ने भएको हो। यसका साथै भाषा परिक्ष्ाँमा उत्तीर्ण हुने कोरिया जान इच्छुक कुनै कामदारले ‘क’ वर्गको बैंकमा आफ्नै नाममा खाता खोलेको प्रमाण (चेकको प्रतिलिपि) एवम् सम्बन्धित व्यक्तिको व्यक्तिगत इमेल ठेगाना अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।

विगतका वर्षमा भाषा परीक्षा पास भएकाले सीप परीक्षण (स्किल टेस्ट) दिनुपर्नेमा एचआरडी कोरियाले यो वर्ष सो नियम हटाएका छ। सो नियमअन्तर्गत कोरिया जाने व्यक्तिको बारेमा तयार पारिएको छोटो भिडियो कोरियाको रोजगार केन्द्रमा जान्थ्यो र रोजगारदाताले उक्त भिडियो हेरेर कामदारको छनोट गथ्र्यो।

भाषा परीक्षा पास हुने परीक्षार्थीलाई २०१७ को अन्त्यबाट कोरिया लैजाने काम शुरू हुने शाखाका निर्देशक खतिवडाले जानकारी दिनुभयो।

यस वर्ष ७५ हजार ५ सय ८० जनाले भाषा परीक्षाको लागि आवेदन दिएकोमा ९ हजार ७ सय ९६ जना महिला र ६५ हजार ७ सय ८४ पुरुष रहेका थिए। यीमध्ये २४ हजार २ सय ३० जनाले उत्पादनमुलक क्षेत्र तथा ५१ हजार १६ जनाले कृषि तथा पशुपालनको लागि फारम भरेका थिए। ६८ हजार ४ सय ६९ जना परीक्षामा सम्मिलित भएकोमा ११ हजार १ सय ८ जनाले कोरियामा गई काम गर्ने अवसर पाउने भएका हुन्। सन् २०१८ को इपीएसअन्तर्गतको परीक्षा दिन इच्छुकले अनलाइनमार्फत् फाराम भर्न पाउने व्यवस्था यही सालदेखि शुरू गरिएको थियो। फारम भर्ने व्यवस्था चैत २६ गतेसम्म मिलाइएको थियो। त्यस्तै परीक्षा जेठ २७ र २८ गते सञ्चालन गरिएको थियो। सो समयमा छुटेका परीक्षा केन्द्र नं. २६ मा ४ सय ३३ जना परीक्षार्थी परीक्षा दिन बञ्चित भएका थिए।

परीक्षा सञ्चालन गर्न कोरियाबाट ५५ जना परीक्षा सञ्चालक टोली नेपाल आएको थियो। विभागका शाखा अधिकृत शोभाकर भण्डारीका अनुसार २०१६⁄१७ सम्म १४ हजार योग्य कामदार कोरिया जान बाँकी रहेकोमा अहिलेसम्म ११ हजारको हाराहारीमा उडिसकेका छन्।

कोरिया जाने भाषा परीक्षामा गतवर्ष ३ हजार १ सय कामदारको माग भएकोमा ३ हजार ४ सय ६४ जनाले पास गरेका थिए। त्यस्तै सन् २०१५ मा ८ हजार ४ सय ९० जनाले भाषा परीक्षा पास गरेका थिए। तीमध्ये ८ हजार ३ सय ७० जना कामदार कोरिया जान योग्य भएका थिए। उहाँको अनुसार सन् २०१७ जनवरी यता २५ सयभन्दा बढी कोरियाका लागि उडिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्