आरोही सञ्जयलाई श्रद्धाञ्जलि



 

काठमाडौं, (नेस)
हिमाल आरोहणका क्रममा ज्यान गुमाएका अल्ट्रा धावक एवम् आरोही सञ्जय पण्डितप्रति उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्मले भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन्। सञ्जयको पार्थिव शरीरलाई श्रद्धाञ्जलि दिन मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा राखिएको थियो। उपराष्ट्रपति नन्दबहादुर पुन, राखेपका संरक्षक एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओन्सरी घर्तीमगर, उपप्रधान एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, गृहमन्त्री जनार्दन शर्मा, पूर्वमन्त्रीहरू वामदेव गौतम, वर्षामान पुन, दलजीत विक श्रीपाली, पुरुषोत्तम पौडेल, गगनकुमार थापा, डा. रामशरण महत, राखेपका उपाध्यक्ष लामा टेन्डी शेर्पा, सदस्य–सचिव केशवकुमार विष्ट, स्व. सञ्जयका पिता, दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका धावक जितबहादुर केसीलगायत सर्वसाधारणले समेत सञ्जयको पार्थिव शरीरमा फूलमाला र पुष्पगुच्छा चढाई भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका थिए।

त्यस अवसरमा सञ्जयको पार्थिव शरीरमा उपराष्ट्रपति पुन, प्रधानमन्त्री देउवा र उपप्रधान एवम् परराष्ट्रमन्त्री महराले राष्ट्रिय झण्डा, राखेपका उपाध्यक्ष शेर्पा र सदस्य–सचिव विष्टले राखेपको झण्डा तथा सञ्जय आफै अध्यक्ष रहेको नेपाल माउन्टेन रनिङ संघका उपाध्यक्ष जितबहादुर केसीले संघको झण्डा ओढाएका थिए। सञ्जयप्रति श्रद्धाञ्जलि दिएपछि प्रधानमन्त्री देउवाले एक साहसिक युवाको असामयिक निधनमा दुःख प्रकट गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्नुभयो।

सञ्जयको असार २ गते अमेरिकाको अलास्कास्थित माउन्ट डेनाली हिमाल आरोहण गर्ने क्रममा ‘हाई अल्टिच्युड सिक्नेस’का कारण निधन भएको थियो। विभिन्न प्रक्रिया पूरा गरी सञ्जयको पार्थिव शरीर सोमबार राति मात्र काठमाडौं आइपुगेको थियो। अन्तिम संस्कारका लागि मंगलबारै पण्डितको पार्थिव शरीर गृह जिल्ला प्युठानमा हेलिकोप्टरबाट लगिएको छ।

प्रतिक्रिया दिनुहोस्