कमला र सञ्जुको राष्ट्रिय कीर्तिमान



कमला श्रेष्ठ भार उचाल्दै। तस्वीरः उजोल डंगोल

 

नेपाल समाचारपत्र
काठमाडौं
कमला श्रेष्ठ र सञ्जु चौधरीले ललितपुरमा जारी एसियन युथ तथा जुनियर भारोत्तोलन च्याम्पियनसिप २०१७ अन्तर्गत मंगलबार राष्ट्रिय कीर्तिमान रचेका छन्।

कमलाले ५८ केजी तौल समूहको जुनियर विधामा स्न्याचमा ६७ केजी, क्लिन एन्ड जर्कमा ८५ केजी गरी कुल १ सय ५२ केजी भार उचालेर आफ्नै कीर्तिमान भंग गरेकी हुन्। उनले सातौं राष्ट्रिय खेलकुदमा स्न्याचमा ६६ केजी र क्लिनमा ७९ केजी गरी कुलमा १ सय ४५ केजी भार वहन गर्दै राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाएकी थिइन्। उनले यसअघि गुवाहाटी र सिलोङमा सम्पन्न १२औं दक्षिण एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेकी थिइन्। उनी समूह ‘बी’मा ८ खेलाडीलाई पछि पार्दै पहिलो हुन सफल भएकी थिइन्। उनले कीर्तिमान राख्न सफल भएकोमा खुसी व्यक्त गर्दै कीर्तिमान राख्नेमा आफू विश्वस्त रहेको बताइन्।

यस्तै सञ्जु चौधरी पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भइन्। उनले ग्रुप ‘बी’को ५३ केजी तौलमा स्न्याचमा ६० केजी र क्लिन एन्ड जर्कमा ८० केजी गरी कुल १ सय ४० केजी भार वहन गर्दै देवी चौधरीको राष्ट्रिय कीर्तिमान तोडेकी हुन्। देवीले सातौं राष्ट्रिय खेलकुदमा राष्ट्रिय कीर्तिमान राखेकी थिइन्। चौधरीले कीर्तिमान कायम गर्न सकेकोमा खुसी व्यक्त गरिन्।

अन्य नेपाली भारोत्तालेन खेलाडीहरूले आफ्नो खेलमा सुधार गर्न सफल भएको प्रशिक्षक जगदीश प्रधानले जानकारी गराए। पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका टीकामाया गुरुङले ५८ केजी तौलमा स्नाचमा ४५ र क्लिनमा ५५ केजी गरी कुलमा सय केजी र कविता चौधरीले स्नाचमा ४१ केजी र क्लिन एन्ड जर्कमा ५० केजी गरी कुल ९१ केजी भार वहन गरे। यस्तै पुरुषको ६२ केजी तौलमा साजारुद्दिन आलमले स्नाचमा ५५ र क्लिनमा ८० केजी गरी कुलमा १ सय ३५ केजी भार वहन गरे।

महिलाको ५३ केजी तौलको युथ र जुनियर दुवैमा चीनकी ज्ञान होङ्यानले स्वर्ण प्राप्त गरिन्। उनले स्नाच, क्लिन र कुलमा गरी ६ स्वर्ण पदक प्राप्त गरिन्। ज्ञानले स्नाचमा ८३ केजी, क्लिनमा १ सय ८ केजी र कुलमा १ सय ९१ केजी भार वहन गरिन्। यस्तै युथतर्फ थाइल्यान्डकी पोर्नचिता नियोमयोङले स्नाचमा ६७ केजीका साथ कांस्य र क्लिनमा ९२ केजीका साथ रजत र कुलमा १ सय ५९ केजीका साथ रजत प्राप्त गरिन् भने ताइपेईकी चोउ युवानले स्नाचमा ६८ केजीका साथ रजत, क्लिनमा ९० केजी र कुलमा १ सय ५८ केजीका साथ कांस्य पाइन्।

जुनियरतर्फ थाइल्यान्डकी सुरोधचना खाम्बाओले स्नाचमा ७५, क्लिनमा ९५ र कुलमा १ सय ७० केजी भार वहनका साथ रजत तथा फिलिपिन्सकी पेरेज इलाइन रोजले स्नाचमा ७३, क्लिनमा ९३ र कुलमा १ सय ६६ केजीका साथ कांस्य पाइन्।

पूर्वखेलाडीहरू सम्मानित
यसैबीच भारोत्तोलनका पूर्वखेलाडी तथा विभिन्न तहबाट नेपालमा भारोत्तोलन खेलको विकास र विस्तारमा सहयोग पुर्याउन सफल व्यक्तिलाई नेपाल भारोत्तोलन संघले सम्मान गरको छ। सम्मानित हुने व्यक्तिहरूमा राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष, ओलम्पियन एवं नेपालका लागि पहिलो पदकहात पार्न सफल पूर्वखेलाडी तथा भारोत्तोलन संघका उपाध्यक्ष सुरेन्द्रबहादुर हमाल, ओलम्पियन तथा अन्तर्राष्ट्रिय निर्णायक राजेन्द्र प्रधान र संघका सचिव एवं राखेप तालिम तथा प्रशिक्षण विभागका पूर्वनिर्देशक, अन्तर्राष्ट्रिय निर्णायक तिलक राउत रहेका छन्। भारोत्तोलनमा दक्षिण एसियाली खेलमा सर्वाधिक पदक विजेता स्व. सुनिललाल जोशीलाई पनि मरणोपरान्त सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्