आर्थिक कूटनीतिलाई चुस्तदुरुस्त राख्न आग्रह



 

नेपाल समाचारपत्र
काठमाडौं
नेपाल उद्योग वाणिज्य महासंघले मुलुकको आर्थिक कूटनीतिलाई चुस्तदुरुस्त पार्दै विभिन्न देशमा रहेका नेपाली कूटनीतिक नियोगलाई निश्चित लक्ष्यसहितको कार्यक्रम दिएर पठाउनुपर्ने र निर्यातमुखी कूटनीतिलाई विशेष ध्यान दिनुपर्ने सरकारलाई सुझाव दिएको छ। महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार उपप्रधान एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई भेट गरी सो सुझाव दिएको हो।

तीव्ररूपमा आर्थिक विकासमा अगाडि बढेका भारत र चीन तथा अन्य विकसित देशबाट समेत नेपालमा पूर्वाधार तथा ऊर्जा विकासमा अधिकभन्दा अधिक लगानी भित्र्याउन तथा नेपालको पर्यटनकाबारे ती देशमा प्रवद्र्धन गरी पर्यटक आकर्षणसमेत गर्न हाम्रो कुटनीति सक्रिय हुनुपर्ने सुझाव सो अवसरमा महासंघका तर्फबाट दिइयो। नेपालमा लगानी बढाउन के कस्ता अवरोध छन्। पहिचानसहित लगानी आकर्षणमा आर्थिक कूटनीतिको परिचालन सशक्त ढंगबाट गर्नुपर्ने बेला आएको अध्यक्ष राणाले सो अवसरमा बताउनुभयो।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, महासचिव सुरेश मान श्रेष्ठ, निर्देशक मीना श्रेष्ठ सम्मिलित महासंघको प्रतिनिधिमण्डलले भेटवार्ताका क्रममा विश्वका विभिन्न देशहरूमा नेपालको प्रतिनिधित्व गर्ने कूटनीतिक मिसनलाई अब निश्चित लक्ष्यका साथ परिचालन गर्नुपर्नेमा जोड दिइएको थियो। अध्यक्ष राणाले राज्यले गर्ने विभिन्नस्तरको उच्चस्तरीय भ्रमणमा निजी क्षेत्रको सशक्त सहभागिता गराइनुपर्नेमा समेत जोड दिनुभयो।

सो अवसरमा परराष्ट्रमन्त्री महराले महासंघले मुलुकको आर्थिक विकासमा खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै महासंघले उठाएका मागलाई सम्बोधन गर्न आफू र आफ्नो मन्त्रालयको सहयोग रहने विश्वास दिलाउनुभयो। कूटनीतिक सम्बन्ध स्थापना भएका मुलुकमा ‘द्विपक्षीय पराशर्म संयन्त्र’ मार्फत् आर्थिक कूटनीतिलाई प्रभावकारी बनाइनेसमेत उहाँले विश्वास दिलाउनुभयो। द्विपक्षीय पराशर्म संयन्त्र भएका मुलुकमा संयन्त्रमार्फत र नभएका मुलुकमा संयन्त्र स्थापना गरेर आर्थिक कूटनीतिलाई प्रभावकारी रूपमा अगाडि बढाइने परराष्ट्रमन्त्रीको भनाइ थियो।

परराष्ट्र नीतिसम्बन्धी सुझाव दिन बनेको उच्चस्तरीय कार्यदलमा पनि महासंघले महत्वपूर्ण सुझाव दिइरहेको विश्वास व्यक्त गर्दै परराष्ट्रमन्त्री महराले अबका दिनमा राज्यले राजनीतिकभन्दा पनि आर्थिक मुद्दालाई विशेष प्राथमिकताका साथ अगाडि बढाउनेसमेत बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्