भक्तपुरकी वर्षा मिसेस नेपाल आइकन



 

ख्यातिप्राप्त अभिनेता सुनील थापा आइतबार साँझ राजधानीमा निर्णायकका रूपमा भेटिए। विवाहित महिलाहरूबीच राजधानीमा सम्पन्न सौन्दर्य प्रतियोगितामा सुनील उत्कृष्ट १६ मा पर्न सफल महिलालाई निर्णायक प्रश्न गर्दै थिए– ‘यदि तपाईं एक हप्ताका लागि यो देशको पहिलो महिला प्रधानमन्त्री बन्नुभयो भने देशलाई कसरी अगाडि बढाउनुहुन्छ?’

उनको प्रश्न सकिनासाथ जमलस्थित राष्ट्रिय नाचघरको मञ्चमा निर्मित र्याम्पमा उत्कृष्ट १६ मा पर्न सफल सबै प्रतियोगी ३ मिनेटको समय लिएर भटाभट जवाफ लेख्न थाले। सर्वाेत्कृष्ट, भिन्न र गहकिलो जवाफ भने टीयूअन्तर्गतको वातावरण विज्ञानमा अध्ययनरत तथा ५ वर्षदेखि संयुक्त अपांग अवास केन्द्रमा स्वयंसेवीको रूपमा कार्यरत भक्तपुरको कौशलटारकी वर्षा कार्कीबाट आयो।

‘भनिन्छ यदि तपार्इं राजनैतिक भाषणमा केही चाहनुहुन्छ भने कुनै पुरुषलाई जिम्मेवारी दिनूस्। तर, यदि तपार्इं कुनै पनि कार्य पूर्ण भएको हेर्न चाहनुहुन्छ भने कुनै महिलालाई जिम्मेवारी दिनूस्। त्यसैले यदि म एक हप्ताका लागि प्रधानमन्त्री भएँ भने सर्वप्रथम शिक्षालाई निःशुल्क गर्थें’, वर्षाले आत्मविश्वासका साथ सबैको ध्यानाकृष्ट गर्दै जवाफ पढेर सुनाइन्– ‘किनकि शिक्षा मानिसको आधारभूत अधिकार हो। त्यसपछि म घरेलु तथा साना व्यवसायकर्तालाई करमा राहत दिई प्रोत्साहन दिन्थें र लैंगिक विभेदका विरुद्ध अभियान चलाउँथें। सँगै, देशको हरेक कुना काप्चामा यथासम्भव हरेक उपायले सामाजिक तथा आर्थिकरूपमा हरेक नागरिकको विकासका लागि जोड दिने थिएँ।’ वर्षाको यो जवाफले उनलाई चौथो संस्करणको मिसेस नेपाल आइकन २०१७ को विजेता बनायो। वर्षा मिसेस नेपाल आइकन २०१७ का साथ बेस्ट स्पिच र बेस्ट पर्फमेन्स उपउपाधिको विजेता पनि भइन्। एएनपी मिडिया हाउसद्वारा आयोजित प्रतियोगितामा जयन्ती श्रेष्ठ उप्रेती फस्ट रनर्सअपका साथ बेस्ट सिंगर, रचना श्रेष्ठ सेकेन्ड रनर्सअपका साथ बेस्ट हेयर, सुमीरा श्रेष्ठ थर्ड रनर्सअपका साथ मस्ट कन्फिडेन्ट तथा पार्वती केसी शाही फोर्थ रनर्सअपका साथ बेस्ट पर्सनालिटी भइन्।

विभिन्न ३० पेसाकर्मी र गृहिणीका बीच भएको अन्तिम स्पर्धामा संगीता भट्टराई दाहाल मस्ट पपुलर र मस्ट फोटोजेनिक, सरिता लामा तामाङ भिवर्स च्वाइस र मिसेस क्याटवक, अप्सरा खड्का अधिकारी ब्युटी अफ पर्पस, सुभद्रा मैनाली डंगोल सोसल्ली रेसपोन्सिबल, अञ्जना लिम्बु राई मिसेस ट्यालेन्ट, सन्ध्या शाही फेसबुक च्वाइस र बेस्ट आर्टवर्क, आरोही बीके दुलाल बेस्ट स्माइल, सोनु मल्ल खाँण बेस्ट स्किन र मस्ट ब्युटिफुल, ममता महर्जन श्रेष्ठ बेस्ट डिसिप्लेन, रूपा बास्तोला मस्ट पंचुअल, शिल्पा बस्नेत बेस्ट फिजिक र मस्ट चार्मिङ, सोनी श्रेष्ठ मस्ट फ्रेन्डली, अन्जता केसी कडायत मस्ट कन्जिनियालिटी, सिर्जना शाक्य फेसन आइकन, अस्मिता बयलकोटी बेस्ट फिटनेस, तारा वली मस्ट एक्टिभ, सुजना श्रेष्ठ मस्ट इन्टिलेक्चुअल, लक्ष्मी महर्जन नगरकोटी मेनेजमेन्ट च्वाइस, स्मिति सुब्बा अंगदाम्बे मस्ट पर्फेक्ट, रमा महर्जन मस्ट डिर्जभिङ, सविता पाख्रिन सोसल ओलफेयर एम्बेसडर, दिव्या पौडेल मस्ट एक्टिभ, सनिसा राई गुरुङ मस्ट पोजेटिभ एटिट्युड, सुमिन केसी ब्युटी युथ रेस्पोन्सिविलिटी र सरला केसी बेस्ट डान्सर भएका थिए।

अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा भएको प्रतियोगितामा अभिनेता सुनील थापा, अभिनेतृ सञ्चिता लुइँटेल, हिसानका अध्यक्ष रमेश सिलवाल, बैंकर अनीता प्रधान, शिक्षासेवी पूर्ण लामा र सरोज प्याकुरेल निर्णायक रहेका थिए। चमकदमकका साथ सम्पन्न कार्यक्रममा रमेशराज भट्टराईले बबाल भो र बेहुला बनाउँछु भन्थ्यौ बहुला बनायौ गीत गाएर दर्शकलाई रोमाञ्चित बनाएका थिए भने बल्ली डान्स ग्रुपले नृत्य प्रस्तुत गरेको थियो।

प्रतिक्रिया दिनुहोस्