‘डेटिङ’ जाने उमेरका तीन तन्नेरी थ्री ब्रदर्स क्याफेभित्र



 

नेपाल समाचारपत्र
काठमाडौं
हेर्दा खाइलाग्दो उमेर, २०⁄२२ वर्षका तन्नेरी। उमेरले मोजमस्ती र रमाइलो गर्ने भन्छ। आम बुझाइको रमाइलो फिल्म हेर्ने, घुम्न जाने, कहिलेकाहीं गर्लफ्रेन्डसँग डेटिङ जाने। तर, यी गज्जबका तीन जना तन्नेरीको रमाइलो विजनेस गरेर पैसा कमाउने अनि आफ्नै व्यवसायमा रम्ने रहेको छ।

यी तन्नेरी पनि कम्ती रमाइलो गर्दैनन्, आफ्नो क्याफेमा आउने उनीहरूका ग्राहक सबै उनका पाहुना हुन्। उनीहरू सँगै रमाइलो गरेर दिन बिताउँछन् यिनी
हरू। ‘हाम्रो क्याफे नै डेटिङ स्पोर्ट जस्तै भएको छ। यहाँ आउने प्रेमी जोडीलाई देख्दा र उनीहरूसँग कुरा गर्दा साह्रै रमाइलो लाग्छ’, सागर सत्यालले नेपाल समाचारपत्रलाई भने– ‘हामीलाई पनि डेटिङ जाउँ–जाउँ पो हुन्छ त यहाँ जोडी देख्दा।’ सागरसँगै उनका साथीहरू सञ्जीव र रविन श्रेष्ठ पनि सँगै थ्री ब्रदर्स क्याफेमा थरी–थरीका खाजाका परिकार बनाउन पोख्त छन्।

व्यवसाय गर्न ठूलै लगानी गर्नुपर्छ, ऋण काडेर बल्ल बिजनेस गर्न सकिन्छ भन्नेलाई ठाडै चुनौती दिएका फरक–फरक बाबुआमाका यी तीन सन्तानले थोरै लगानी गरेरै धेरै पैसा कमाउने अभियानमा सानै उमेरदेखि लागेका छन्। तिनै जनाले बीबीएस पढ्दै छन्। पढाइ सँग–सँगै व्यापारलाई पनि उनीहरू सँग–सँगै लिएर गएका छन्।

मकवानपुरको मन्थलीबाट काठमाडौं आएका सागर सत्याल, भक्तपुर बोटेका सञ्जीव श्रेष्ठ र काभ्रेको धुलिखेल डराउने पोखरीका रविन श्रेष्ठको कलेजमा भेट भयो। त्यहींबाट शुरु भयो तीन जनाको गज्जबको दोस्ती जसले तीन भाइलाई नै एकैचोटी ‘बिजनेस म्यान’ बनायो। मध्यम आयस्तर भएका यी तीन भाइ अहिले गज्जबले पैसा गनेर बस्न सफल भएका छन्। घर खर्च, पढाइ खर्च सबै धानेर महिनाको १५ हजार भाडा तिर्ने सागर, ५ हजार तिर्ने रविन र आफ्नो भक्तपुर घर भएका सञ्जीवले अहिले वचत गर्न शुरु गरेका छन्।
‘हामीले शुरु गरेको धेरै त भएको छैन तर कमाइ ठीकै हुँदोरहेछ’, सञ्जीव श्रेष्ठले समाचारपत्रलाई भने– ‘हामी सन्तुष्ट छौं।’ सबै घरखर्च पढाइ खर्च बचाएर उनीहरू दैनिक ८ सय रुपियाँ सहकारीमा वचतसमेत गर्न शुरु गरेका छन्।

थ्री ब्रदर्स एन्ड क्याफे सञ्चालन गरेको ६ महिना नपुग्दै उनीहरूको वचत हुन शुरु गरेको छ। ‘हामीले अन्य व्यवसाय गरेर लगानी लगाई व्यवसायमा हात हाल्न सकेनौं’, रविन श्रेष्ठ भन्छन्– ‘थोरै लगानीमा क्याफे खोल्यौं यसैले हामीलाई सबै दिएको छ।’ गाउँमा जन्मेर काठमाडौं पढ्न आएको यी युवाहरू साँच्चै नमुना बनेका छन्।

आफ्नो मेहनत र परिसा बगाएमा यही देशमा केही गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन्, यी तीन भाइ। यसरी आत्म निर्भर भएर बाँच्न चाहने युवालाई सरकारले होस्टेमा हैंसे गरेर प्रोत्साहन दिनुपर्ने पत्रकार माधवप्रसाद तिवारी बताउनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्