६ सय ६५ मृतकको सम्झनामा शान्ति स्मारक बनाइँदै



 

नेपाल समाचारपत्र
रुकुम
विगत सशस्त्र द्वन्द्वको समयमा रुकुम जिल्लामा राज्य र विद्रोही पक्षबाट मारिएका ६ सय ६५ जनाको सम्झनामा शान्ति स्मारक बनाइने भएको छ। मुसिकोट नगरपालिका–१ सल्लेस्थित निर्माण गर्न लागिएको शान्ति स्मारकको नगरप्रमुख देवीलाल गौतमले शिलान्यास गर्नुभएको छ। स्थानीय शान्ति समितिको अभिलेखअनुसार विगतको द्वन्द्वमा मारिएका ६ सय ६५ जनाको सामूहिक नाम स्मारकमा रहने गरी शान्ति स्मारक बनाउन लागिएको हो। कुल ९ लाख २ हजार लागतमा निर्माण हुने शान्ति स्मारकको शिलान्यास शुरू गरिए सँगै अबको ३ महिनाभित्र निर्माणकार्य पूरा गर्ने योजना लिइएको छ।

मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र (हरप्लेस) नेपालको ४ लाख ४ हजार, जिल्ला समन्वय समितिको २ लाख तथा बाँकी रकम मुसिकोट नगरपालिकाको रहने गरी उक्त शान्ति स्मारक निर्माण हुने भएको हो। तत्कालीन सशस्त्र द्वन्द्वको समयमा रुकुमका थुप्रै नागरिकले राज्य र विद्रोही पक्षबाट ज्यान गुमाएका थिए। कतिपय व्यक्ति बेपत्ता र घरबारविहीनसमेत भएका थिए।

प्रतिक्रिया दिनुहोस्