काठमाडौंबाट लागु औषध लिन नेपालगञ्ज



नेपाल समाचारपत्र, बाँके । सीमावर्ती भारतीय बजार रुपैडिहाबाट दुई युवा नेपालगञ्जतिर अगाडि बढ्दै थिए । दशगजा पार भएपछि जमुनाहामा रहेको नेपाल प्रहरीले उनीहरुको खानतलासी थियो । दुवैको साथमा लागु औषध फेला प¥यो ।
ठूलो मात्रामा लागु औषध नाइट्राजेपाम र स्पामो सहित पक्राउ गर्ने युवाहरु सिन्धुपाल्चोकका भोजराज भट्टराई र बर्दियाका दिपेश बस्नेत थिए । युवाहरु लागु औषध लिन काठमाडौंबाट नै नेपालगञ्ज आएको प्रहरीले बताएको छ ।

भारतीय बजार रुपैडिहामा प्रतिट्याब्लेट १५ रुपैयामा नाइट्रोजेपाम किनिएको थियो । काठमाडौं पु¥याएर ५० रुपैयामा बिक्री गर्ने उद्देश्य रहेको बुझिएको छ । इलाका प्रहरी कार्यालय, जमुनाहाका अनुसार, नाइट्रोजेपाम ४ सय ३५ र स्पामो ४० ट्याब्लेट बरामद गरिएको छ ।

ठूलो मात्रामा ट्याब्लेट किनेर काठमाडौं जाने तयारीका साथ नेपालगञ्ज छिर्दै गरेका उनीहरु प्रहरी फन्दामा परेका हुन् । बाँके प्रहरीले दुवै जनालाई मंगलबार नै लागु औषधमा मुद्दा चलाएको छ । रुपैडिहामा सहजै लागु औषध किन्न पाइने भएपछि देशभरकै ‘एडिक’ र कारोबारीहरु यहाँ आउने गरेको पाइएको छ । दैनिकजसो नै छिमेकी तथा पूर्वीय क्षेत्रका युवाहरु यो नाकामा लागु औषधसहित पक्राउ पर्ने गर्दछन् । नाकामा प्रहरीको कडा निगरानीले गर्दा लागु औषध कारोबारीले प्रहरी कार्यालय र कारागार भरिदै गएको छ । कडा चेकिङ हुँदाहुँदै लागु औषधको कारोबार ‘बहुमूल्य’ हुने भएकाले युवाहरुले जोखिम मोलेको पाइन्छ ।

जमुनाहा प्रहरी कार्यालयका इन्चार्ज सुधीर खड्काले लागु औषधविरुद्ध कडारुपमा उत्रिएको बताउनुभयो । ‘हामीलाई यस्तो भइसक्यो कि अनुहार हेर्दा नै लागु औषध कारोबारी हो कि होइन भन्ने चिन्छौं । कारोबारीले पनि नयाँ नयाँ विधि अपनाएर ल्याउने प्रयास गर्छन्, इन्चार्ज खड्काले भन्नुभयो, पछिल्लो दिनमा बाहिरी जिल्लाका युवाहरु बढी सक्रिय भएको पाइन्छ ।’

पहाडी जिल्लाहरु सुर्खेत, दैलेख, दाङका युवाहरु लागु औषधसहित पक्राउ परिहेका छन् । एकै दिनमा आएर रुपैडिहाबाट लागु औषध बोकेर जान सक्ने भएकाले उनीहरु आउने गरेका छन् । अधिकांश भने प्रहरीको फन्दामा परेका छन् । राजधानी काठमाडौंमा अझ चर्को मूल्यमा लागु औषधको कारोबार हुने कारोबारीहरु बताउँछन् । ‘रुपैडिहा किन्ने लागु औषधलाई सुरक्षित तरिकाले राजधानी पु¥याउन सकेमा मालामाल नै हुने’ सम्बद्धहरु बताउँछन् । राजधानीलगायत ठूला शहरबाट आउनेहरुका लागि भारतीय कारोबारीले नेपालगञ्जसम्म नै ‘माल’ ल्याइदिने गरेको स्रोतहरु बताउँछन् । ‘प्रहरीले सिधा बाटोबाट आएकालाई छामेर या अलिअलि सुराकीका आधारमा पत्ता लगाउने हो,  स्रोतले भन्यो, छोटी नाकाहरुबाट भारतीय आफैले नेपालगञ्जसम्म सहजै माल ल्याइदिन्छन् ।’

सीमावर्ती अधिकारीहरुको बैठकमा रुपैडिहामा सहजै हुने लागु औषध कारोबारलाई रोक्ने प्रतिबद्धताहरु भएपनि कार्यान्वयन भएको पाइदैन । ब्राउनसुगर नेपालतिर आउने भएकाले भारतीय प्रहरीले कडाई नगर्ने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्