कांग्रेस बैठक सम्पन्न-निर्वाचनको वातावरण बनाउन राजनीतिक दललाई अपिल



नेपाल समाचारपत्र,काठमाडौं
नेपाली कांग्रेसले व्यवस्थापिका संसद्मा विचाराधीन रहेको संविधान संशोधन विधेयक पारित गराउन प्रतिबद्ध रहेको जनाएको छ। कांग्रेसले उक्त विधेयक पारित गरी संविधानको स्वीकार्यता विस्तार गर्न र आगामी सबै तहका निर्वाचनको वातावरण सहज बनाउन प्रमुख प्रतिपक्ष नेकपा एमालेलगायत सबै राजनीतिक दलहरूलाई अपिल पनि गरेको छ।

सोमबार सम्पन्न कांग्रेस केन्द्रीय समितिको बैठकले नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक मधेसी मोर्चा, संघीय गठबन्धन, राष्ट्रिय जनता पार्टीलगायत सबै राजनीतिक दलहरूसँग विगतमा भएका सबै सहमति कार्यान्वयन गर्न प्रतिबद्ध रहेको जनाउँदै पूर्वसहमतिअनुरूप कार्य गर्न सरकारलाई आग्रह पनि गरेको छ।

स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनको समीक्षा, प्रदेश नम्बर २ को चुनावको तयारी एवं समसामयिक विषयमा केन्द्रित रहेर तीन दिनसम्म बसेको बैठकले कांग्रेसको नेतृत्वमा जारी भएको नेपालको संविधान कार्यान्वयनको ऐतिहासिक अभिभारा पनि नेपाली कांग्रेसको काँधमा रहेको निष्कर्ष निकालेको छ।

बैठकले संविधानको सर्वस्वीकार्यता स्थापित गर्ने, संविधानको कार्यान्वयन गर्दै संविधानमा उल्लेख भएको समयसीमाभित्र स्थानीय तह, प्रदेश सभा र संघीय संसद्को निर्वाचन गर्ने राष्ट्रिय एजेन्डालाई सम्पादन गर्न २०७४ माघ ७ गतेभित्र सबै निर्वाचन सम्पन्न गर्ने ऐतिहासिक जिम्मेवारी सफलताका साथ पूरा गर्ने र यो अभियानको नेतृत्व लिने पनि संकल्प गरेको छ। कांग्रेस केन्द्रीय समिति बैठकले आगामी निर्वाचन सम्पन्न गर्न कानुनी व्यवस्था र शान्ति सुरक्षालगायतका सबै आवश्यक प्रबन्ध गर्न र राजनीतिक वातावरण बनाउन सरकारलाई अनुरोध पनि गरेको छ।

स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनको समीक्षा गर्दै कांग्रेस केन्द्रीय समिति बैठकले स्थानीय तहको दुई चरणको निर्वाचनमा आफ्नो पार्टीले आशा गरेअनुसारको परिणाम प्राप्त गर्न नसक्नुको कारणबारे कमिकमजोरी औंल्याएको छ। निर्वाचनमा उम्मेदवारी चयनमा ढिलाइ हुनु, आन्तरिक द्वन्द्व, असन्तुष्टि व्यवस्थापन गर्न समयको अभाव र कतिपय स्थानमा पार्टीका साथीहरूबाट असहयोग र अन्तर्घात भएका कारण निर्वाचनमा अनपेक्षित परिणाम आएको केन्द्रीय बैठकले निष्कर्ष निकालेको छ।

कांग्रेस बैठकले पहिलो र दोस्रो चरणको निर्वाचनका सन्दर्भमा पार्टीबाट भएका कमिकमजोरी सच्याउने र निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गर्ने वा अन्तर्घात गर्ने पार्टी सदस्यहरूलाई पार्टीको विधान र नियमावलीबमोजिम आवश्यक कारबाहीका लागि आन्तरिक प्रक्रिया प्रारम्भ गर्ने निर्णय गरेको छ। साथै तेस्रो चरणको निर्वाचनमा नेपाली कांग्रेसलाई अग्रता दिलाउन प्रदेश नम्बर २ का पार्टीका सबै निकाय, भ्रातृ संस्था, शुभेच्छुक संस्थासहित पार्टीका सबै सदस्यहरूलाई परिचालन गर्ने कांग्रेस बैठकले निर्णय गरेको छ।

स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न भएको भन्दै बैठकले संविधानको कार्यान्वयनको सन्दर्भमा यो अत्यन्त महत्वपूर्ण कार्य भएको निष्कर्ष निकालेको छ। बैठकले हालै सप्तरी, कास्की, सिन्धुपाल्चोकलगायत देशका विभिन्न भू–भागमा गएका बाढी पहिरोका कारण भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै पीडितलाई उचित राहत, क्षतिपूर्ति तथा उचित बसोबासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

सोमबार सम्पन्न बैठकले न्यून वर्षाका कारण सुख्खा भई देशका विभिन्न भू–भागका खेतीयोग्य जमिनमा धानखेतीलगायत अन्य कृषिबाली लगाउन नपाएका किसानहरूलाई उचित राहत वितरण गर्न सरकारसँग माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्