ट्रम्पका ज्वाइँले सिनेटको आयोगलाई बयान दिने



वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुस्नरले अमेरिकी सिनेटको एउटा आयोगलाई आफू र ट्रम्पको चुनाव अभियान टोलीका कुनै पनि सदस्यले अमेरिकी राष्ट्रपतीय चुनावका लागि रुसी अधिकारीहरूसँग मिलोमतो गरी कुनै षडयन्त्र नगरेको बयान दिने भएका छन्।

साथै उनले सिनेट आयोगसमक्ष रुसीहरूसँग आफ्नो कुनै अनुचित सम्पर्क नरहेको तथा साथै आफ्नो व्यापारिक गतिविधिका लागि रुसी आर्थिक सहयोगमा भर नपरेको पनि बताउने भएको बुझिएको छ। उक्त आयोगको बैठक बस्नुअघि नै कुस्नरले आफ्नो प्रारम्भिक विज्ञप्ति जारी गरेका हुन्।

सिनेट र हाउसलगायत एउटा विशेष काउन्सलले सो चुनावमा रुसी हस्तक्षेपबारे अझै अनुसन्धान गरिरहेका छन्। ३६ वर्षीय कुस्नर राष्ट्रपति ट्रम्पका वरिष्ठ सल्लाहकार हुन्। ट्रम्पकी छोरी इभान्कासँग विवाह गरेका उनी ट्रम्पको डिजिटल नीतिका प्रमुख रहेका थिए।

सञ्चारमाध्यममा त्यति धेरै चर्चामा नआएका कुस्नर सोमबार बेलुका सिनेट इन्टेलिजेन्स कमिटीसामु पेस हुने कार्यक्रम रहेको छ। साथै उनी आज हाउस भर्जनसामु प्रस्तुत हुने भएका छन्। चुनवामा रुसी हस्तक्षेपको आशंकाको कारण ट्रम्प र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीचको कुनै पनि भेटघाटलाई सबै पक्षले गम्भीर ढंगले हेर्दै आएको छ।

पुटिनले भने बारम्बार आफूमाथि यस सम्बन्धमा लगाइएको आरोप अस्वीकार गर्दै आएका छन्। विगतमा महाशक्ति राष्ट्र अमेरिकाको तत्कालीन सोभियत संघसँग सन् १९९० सम्म शीतयुद्ध जारी रहेको थियो। सोही वर्ष सोभियत संघका विभिन्न गणराज्यहरू टुक्रिन पुगेका थिए। तैपनि अमेरिकामाथि रसियाको दबाब भने कायमै रहेको थियो।

प्रतिक्रिया दिनुहोस्