टर्यो खतराको सूची



ईश्वरराज ढकाल, काठमाडौं
यो वर्षको युनेस्कोको बैठकले काठमाडौं उपत्यकाको सम्पदालाई खतराको सूचीमा राखेन। २०७२ सालको शक्तिशाली भूकम्पले ध्वस्त हनुमानढोका दरबार क्षेत्रका सम्पदा पुनर्निर्माणमा ढिलाइ भएको भन्दै युनेस्कोले खतराको सूचीमा राख्ने तयारी गरेको थियो। तर नेपालले तत्काल खतराको सूचीमा नराख्न १ सय ६० राष्ट्रलाई ‘कन्भिन्स’ गरेपछि खतराको सूची टरेको हो।

३० जुनदेखि १२ जुलाईसम्म पोल्यान्डको क्राकोमा सम्पन्न वल्र्ड हेरिटेज कमिटीको ४१औं बैठकले काठमाडौं उपत्यकालाई खतराको सूचीमा नराख्ने निर्णय गरेको हो। बैठकमा नेपालका तर्फबाट संस्कृति मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारी, फ्रान्सका लागि नेपाली राजदूत एवं युनेस्कोका लागि आवासीय प्रतिनिधि अम्बिका मानन्धर लुइँटेल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल र विभागका विश्वसम्पदा महाशाखाका प्रमुख सुरेशसुरज श्रेष्ठको टोली सहभागिता रहेको थियो।

बैठकमा नेपालका तर्फबाट बोल्दै विभागका महानिर्देशक दाहालले भूकम्पपछि नेपालको सम्पदा पुनर्निर्माण कार्य द्रुत गतिमा अघि बढेको तर नेपालको ठेक्कापट्टा प्रणाली र केही प्राविधिक कारणले ढिलाइ हुन गएको बताउनुभएको थियो।

उहाँले युनेस्कोको प्रावधानअनुसार पुनर्निर्माणलाई द्रुत गतिमा अघि बढाउने उल्लेख गरेपछि समितिले उपत्यकालाई खतराको सूचीमा नराखेको हो। बैठकमा नेपालका तर्फबाट बोल्ने वक्ताले नेपालको सम्पदा पुनर्निर्माण गर्न सल्लाह दिन युनेस्कोले सल्लाहकार समिति गठन गर्नुपर्ने र आवश्यकताअनुसार आर्थिक र प्राविधिक सहयोग गर्नुपर्ने बताएका थिए।

तर युनेस्कोले सल्लाहकार समिति बनाउने वा नबनाउने विषयमा कुनै निर्णय गरेको छैन। विभागले ५ वर्षे योजनाअनुसार पुनर्निर्माण गर्दै आएको बताइरहँदा बैठकमा अधिकांशले नेपालको प्रशंसा गरेका थिए। ध्वस्त भएका उपत्यकाका सम्पदामध्ये हनुमानढोका क्षेत्र निर्माण कार्यमा ढिलाइ भएको छ।

‘बैठकमा हामीले नेपालको भूकम्पपछि र हालको प्रगतिको अवस्थाबारे जानकारी गराएपछि युनेस्को सचिवालयदेखि सबै सदस्य राष्ट्रले हाललाई खतराको सूचीमा नराख्ने जनाएका थिए।’ –विभागका विश्व सम्पदा महाशाखाका प्रमुख श्रेष्ठले भन्नुभयो। ‘अब हामी उपत्यकाको सम्पदालाई खतराको सूचीमा राख्न दिँदैनांै। त्यसका लागि आवश्यक सम्पूर्ण काम गर्नेछांै।’ –उहाँको भनाइ थियो।

गत मार्चमा नेपाल आएको रिएक्टिभ मनिटरिङ मिसन टोलीले उपत्यकाका सम्पदालाई खतराको सूचीमा राख्न सकिने जनाएको थियो। सो मिसनले युनेस्कोको सचिवालयमा नेपालको सुस्त प्रगतिका बारेमा जानकारी दिएपछि नेपालले पुनर्निर्माण कार्यलाई द्रुत गतिमा अघि बढाउने भन्दै सबै सदस्य राष्ट्रलाई ‘कन्भिन्स’ गराएपछि नेपाल खतराको सूचीमा नपर्ने भएको हो।
(क्रमशः पृष्ठ ९ मा)
टर्यो…
युनेस्कोले सन् १९७९ मा उपत्यकाका ७ वटा पुरातात्विक सम्पदा क्षेत्रलाई विश्वसम्पदा सूचीमा राखेको हो। बौद्धनाथ स्तुप, पशुपतिनाथ, स्वयम्भुनाथ स्तुप र चाँगुनारायण गरी चार धार्मिक र हनुमानढोका, भक्तपुर र पाटन दरबार क्षेत्रलाई सांस्कृतिक सम्पदामा राखेको थियो।

हाल भूकम्पले ध्वस्त भएका हनुमानढोकाका सम्पदामध्ये वसन्तपुर दरबार चीन सरकारले, अमेरिकी सरकारले गद्दी बैठक पुनर्निर्माण गर्न ७ लाख अमेरिकी डलरबाट सो काम शुरू भइरहेको छ।

सो क्षेत्रमा रहेको आगं छेँ र दरबारको मुख्य लङग जापान सरकारको सहयोगमा सञ्चालित नेसनल रिसर्च इन्टिच्युट फर कल्चरल पपर्टिज, हनुमानढोका दरबार बाहिरको जगन्नाथ र कृष्ण मन्दिर जापानिज फन्ट इन ट्रस्ट, तलेजुको मूलद्वार नजिक रहेको कागेश्वर र सिंहढोका अमेरिकन संस्था काठमाडौं उपत्यका संरक्षण कोष (केभीपीटी) गद्दी बैठक अमेरिकी सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको छ।

काष्ठमण्डप र माजु तलेजु मन्दिर काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गर्न थालेको छ। काष्ठमण्डप पुनर्निर्माण गर्ने विषयमा स्थानीय र महानगरपालिका बीच विवाद देखिएको छ।
महानगरपालिकाले कहिले निर्माण गर्ने भन्ने विषयमा हालसम्म कुनै निश्चित हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्